सर्लाही जिल्लाको बलरा नगरपालिका–११, छतौनामा पूर्वप्रहरी राम कृपाल ठाकुरको घरमा समूहमा आएका व्यक्तिहरूले तोडफोड गर्नुका साथै गालीगलौज र ज्यान मार्ने प्रयास गरेको परिवारजनले आरोप लगाएका छन्।
परिवारजनका अनुसार मंगलबार साँझ करिब ७ बजे ७ देखि ८ जनाको समूहमा आएका व्यक्तिहरूले ठाकुरको घरमा प्रवेश गरी तोडफोड तथा गालीगलौज गरेका थिए। उक्त घटनामा राज मंगल ठाकुर, परञ्जन ठाकुर, रञ्जन ठाकुर, विश्वरञ्जन ठाकुर, नवरञ्जन ठाकुरलगायतका व्यक्तिहरू संलग्न रहेको परिवारको आरोप छ।
घटनाका क्रममा आक्रमणमा संलग्न व्यक्तिहरूले मादक पदार्थ सेवन गरेको अवस्थामा घरमा तोडफोड गरेको परिवारजनले दाबी गरेका छन्। उनीहरूले घरमा भर्खरै निर्माण गरिएको गेटको छानो भत्काउनुका साथै जालीसमेत च्यातेर क्षति पुर्याएको बताएका छन्।
घटनापछि प्रहरीलाई खबर गर्दा पनि प्रभावकारी कदम नचालिएको परिवारको गुनासो छ। घटनाबारे सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई समेत जानकारी गराइएको परिवारजनले बताएका छन्।
परिवारका अनुसार प्रहरी घटनास्थलमा पुगे पनि स्थानीय जनमत पार्टीका नेता श्रीचन राय यादवको दबाबका कारण आरोपित व्यक्तिहरूमाथि आवश्यक कारबाही नगरेको उनीहरूको आरोप छ। घटनामा संलग्न सबै व्यक्तिको स्वास्थ्य परीक्षण तथा मादक पदार्थ सेवनसम्बन्धी जाँच गराउन आग्रह गर्दा पनि प्रहरीले विषयलाई बेवास्ता गरेको परिवारको भनाइ छ।
परिवारजनले केही दिनअघि अर्थात् करिब एक महिनाअघि पनि केही व्यक्तिहरू खुकुरी लिएर घरमा आएको दाबी गरेका छन्। पटक–पटक यस्ता घटना हुँदा परिवार असुरक्षित महसुस गरिरहेको उनीहरूको भनाइ छ।
घटनामा भएको क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कडा कारबाही गर्न परिवारले सम्बन्धित निकायसँग माग गरेको छ।
परिवारले राजनीतिक दबाब वा अन्य कुनै प्रभावमा नपरी घटनाको निष्पक्ष अनुसन्धान गर्न, आवश्यक प्रमाण संकलन गर्न तथा पीडितलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी प्रशासनसँग आग्रह गरेको छ।
Comments
Post a Comment