spot_img

ताजा अपडेट

संस्थानको खानेपानी वितरणमा सेवाग्राहीको आकर्षण

काबिल सम्वाददाता
    वीरगन्ज 
मध्य तराईमा देखिएको खानेपानी समस्या न्यूनिकरणमा नेपाल खानेपानी संस्थानले वितरण गरेको धाराप्रति सर्वसाधारणको आकर्षण बढेको छ । खानेपानीको समस्या न्यूनिकरणमा खानेपानीको दीर्घकालिन लक्ष्यमा विगत केही वर्ष पहिले सर्वसाधारणको आकर्षण घटेको थियो । तर सर्वसाधारणका खानेपानीका धारा (चापाकल) सुक्ने वातावरणीय प्रभावपछि दीर्घकालिन खानेपानीको विकल्पमा सेवा प्रभाह गरिरहेको नेपाल खानेपानी संस्थानले वितरण गर्ने खानेपानीका धारा प्रति सर्वसाधारणको आकर्षण बढेको हो ।
नेपाल खानेपानी संस्थान वीरगन्ज शाखामा केही वर्ष अगाडीसम्म जोडेका पानीका धारा पनि काटिदिनुस् भन्दै आउने सेवाग्राही अहिले भने उल्टै पानीको धारा जडान गरिदिनुस् भन्दै आउने गरेको नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाका प्रमुख मोहनदत्त भट्टले बताए । नयाँ धारा जडानका लागि अहिले ८–१० जना सेवाग्राही दैनिक कार्यालयमा आउने गरेको पनि शाखाका कार्यालय प्रमुख ईन्जिनियर भट्टले काबिल खबरसँग भने ।
एकैवर्षमा २ हजार बढि धारा जडान
केहीवर्ष अगाडीसम्म पानीको निकै हाहाकार हुने समयमा यो वर्ष चाही खानेपानी संस्थानका धाराबाट वितरित पानीको कारण पनि वीरगन्ज महानगरपालिकामा केही समस्या समाधान भएको संस्थानका कर्मचारीको तर्क छ । अघिल्लो वर्षभन्दा २ हजार बढि धारा कार्यालयले वितरण गरिसकेको खानेपानी संस्थान वीरगन्ज शाखा कार्यालयको लगतमा पनि उल्लेख छ ।
जमिनमुनिको पानी पुनःर्भरण (चार्ज) प्रणालीमा बल पुग्दा विगतका वर्ष जस्तो खानेपानीको जटिल समस्या यो वर्ष अलि नदेखिएको शाखा प्रमुख भट्टको तर्क छ । खानेपानी संस्थानले अहिले कुल ९५ हजारदेखि १ लाखसम्म उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आएको कार्यालयको लगत रहेको खानेपानी संस्थान वीरगन्ज शाखाले जनाएको छ । नेपाल खानेपानी संस्थानबाट अहिले कुल १३ हजार ८ सय १ वटा धाराबाट सेवाग्राहीले खानेपानीको जोहो गरिरहेको नेपाल खानेपानी संस्थानको लगत छ । अघिल्ला वर्ष धारा वितरण संख्या ११ हजार ८ सय ६४ मात्र रहेको थियो ।
वितरण प्रणाली विधि
खानेपानी संस्थान अन्तर्गत पर्सामा कुल ७ वटा ओभर हेड ट्यांकी, १३ वटा बोरिङ छन् । जसमध्ये पर्साको वीरगन्ज ३२ मा रहेको सोलकपुर, वडा नम्बर ३० र ३१ को लालपर्सा र वडा नम्बर १९ को विन्दवासीनीको टेंकीबाट भने पानी वितरण कार्य नभएको खानेपानी संस्थान वीरगन्जले जनाएको छ । कारण सो ठाउँका सर्वसाधारणले खानेपानीको धारा जडान गर्न नचाहेर पनि ती ठाउँमा पानी सप्लाई हुन नसकेको कार्यालयको दावी छ ।
वीरगन्ज खानेपानी संस्थान अन्तरगतका १४ वटा बोरिङहरु मध्ये १० वटाबाट पानी सप्लाई भइरहेको छ । ती सबै बोरिङबाट उत्पादन पानी जुन एरियामा पनि सम्लाई गर्न मिल्ने गरी आन्तरिक सिष्टम बनाइएको पनि खानेपानी संस्थानले जनाएको छ ।
संस्थानकै पानीको भरोषा 
वर्षौं संचालनमा आएको चापाकल गतवर्ष एकैपटक पुरै पानी नदिने भएपछि एकवर्ष यता पुरै खानेपानी संस्थानकै पानीको भर पर्नु परेको वीरगन्ज ११ श्रीपुरका सेठ्ठी कुशवाहाले बताए । आफ्नो घरमा गएको वर्षबाट खानेपानी संस्थानकै धारा जडान गरी त्यसैबाट पूर्णरुपमा काम चलाइरहेको उनको भनाइ छ । अहिले भने धारामा पानी आउने क्रम अलि कम भएको सेठ्ठीले बताए ।
आफै भू–गर्भको पानी निकालेर खुल्ला रुपमा काम चलाईरहेका मध्य तराईको पर्सा बाराका सर्वसाधारणका चापाकलमा पानी सुकेपछि खानेपानीको समस्या सतहमा आएको थियो । त्यसमा वीरगन्ज महानगरपालिकाका अधिकाँश वडा सहित जिल्लाका अन्य क्षेत्रहरुको पनि सर्वसाधारणका चापाकल सुक्ने समस्या देखिएको थियो । भू–सतहमा रहेको पानीको लेयर कम हुनुले त्यस्तो समस्या देखिएको खानेपानी संस्थानका ईन्जिनियरहरुको भनाइ छ ।
मापदण्ड विपरित गाडिएका बोरिङ भविष्यका समस्या 
स्थानीय सरकार र संघ सरकारले पनि खानेपानी समस्या कम गर्न पहुँचवाला र पैसावालाहरुको घरै पिच्छे जस्तो बोरिङ गाडेको थियो । ती बोरिङ गाड्दा केही अवैध लाभ पनि हुने भएपछि उनीहरु निकै हौसिएको पनि स्थानीयको दावी थियो । तथापि धेरै उपभोक्ताको पानीको समस्या भने हल भएको स्थानीय सरकारका जनप्रतिनिधिको दावी छ । तर मनलाग्दी गाडिएका बोरिङको मापदण्डले अहिले केही सेवाग्राही पानीको समस्याबाट मुक्त भए जस्तो देखिए पनि भविष्यमा मापदण्ड विपरित गाडिएकै बोरिङका कारण थप समस्या आउन सक्ने भू–गर्भविद तथा विज्ञहरुको तर्क छ । एउटा बोरिङ गाडिएको ठाउँबाट ४ सय मिटर वरिपरि अर्को बोरिङ गाड्न नहुने उनीहरुको सुझाव छ ।
यो मापदण्ड विपरित पैसा र पहुँचका भरमा राज्यकै जिम्मेवार व्यक्ति र निकायले पनि घरैपिच्छे जस्तो गाडिदिएका बोरिङबाट भविष्यमा समस्या भित्रिने विज्ञहरुले दावी गरे । भूगर्भको पानीको बारे जानकार तथा विज्ञ कविराज पौडेलले पनि मधेशमा पानी सुक्नुमा पानी प्रयोगको तरिका नमिलेको, चुरेको विनाश, पानी चार्ज प्रणालीमा असर, जस्ता कारणले पानीको समस्या देखिएको उनले बताए । समयमा नै भूगर्भको पानी चार्ज हुने प्रणालीलाई व्यवस्थित गर्न सक्नु पर्ने उनले सुझाव दिए । अव्यवस्थित बढ्दो शहरीकरण, सो क्रममा बनाइएका भौतिक संरचना, पानी पुनर्भरण (चार्ज) हुने प्रणालीमा असर, चुरेको विनास, वातावरणीय असन्तुलन, मनलाग्दी बोरिङ गाड्दा आउने समस्या लगायत विभिन्न कारण विगत पाँच सात वर्ष यता मधेशमा खानेपानीको समस्या देखिएको विज्ञहरुको भनाइ छ । समस्याको ठोस कारण पहिचानसँगै खानेपानीको समस्या दीर्घकालिन रुपमा न्यूनिकरण हुने गरी अहिलेदेखि नै जिम्मेवार व्यक्ति, निकाय र उपभोक्ताहरुले पनि सतर्कता अपनाउनु पर्ने भूगर्भविद् तथा विज्ञहरुले सुझाव दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ