काबिल सम्वाददाता
वीरगन्ज
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाद प्रसाईंलाई ३ दिन थुनामा राखी अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले म्याद दिएको छ । प्रसाईले विद्युतीय कारोवार ऐन विपरित र राज्य विरुद्धको कसुर गरेको अभियोगमा पर्सा प्रहरीले सोमबार साँझ ८ बजे वीरगन्जको आदर्शनगरस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ गरेको थियो । अदालतमा सशरीर उपस्थित नगराई पर्सा प्रहरीले म्याद माग गरे बमोजिम पर्सा जिल्ला अदालतले ३ दिनको म्याद दिएको हो ।
मेडिकल व्यवसायी समेत रहेका संयोजक प्रसाईंका बारे थप अनुसन्धान गर्न भनी पर्सा प्रहरीले म्याद माग भए बमोजिम अदालतले ३ दिनको म्याद दिएको पर्सा जिल्ला अदालतका श्रेष्तेदार (उप सचिव ) प्रभाकर कुमार मल्लिकले काबिल खबरलाई बताए । बिरामी या अन्य कुनै कारण अदालतमा स–शरीर उपस्थित हुन नसक्ने या नमिल्नेको अवस्थाको हकमा स–शरीर उपस्थित नगराई म्याद लिन मिल्ने कानूनी प्रावधान अनुसार पर्सा प्रहरीले प्रसाईलाई बिरामीको कारण देखाई भिडियो मार्फत म्याद माग भएको पनि उनले जनाए ।
ठोस एजेण्डा सहित महाअभियानमा हिडेका प्रसाई वीरगन्जमा पनिः पक्राउ
वित्तीय सुशासन कायम र देश बचाउन राजाको शासन चाहिने भन्दै ठोस एजेण्डा सहित विभिन्न जिल्लामा अभियान संचालन गर्दै आएका प्रसाईं पर्सामा पनि आइपुगेको केही घण्टापछि पक्राउ परेका हुन् ।
प्रसाई पक्राउको आधिकारिक जानकारी भने पर्सा प्रहरीले अदालतबाट म्याद लिएपछि मात्र प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको हो । पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक हरी बहादुर बस्नेतद्वारा सार्वजनिक गरिएको विज्ञप्तीमा प्रसाईले विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजाल मार्फत विभिन्न किसिमको अभिव्यक्ति दिएको र सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध कसै प्रति घुणा वा द्वेष फैलाउने जातजाती, सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल् पार्ने र नेपाल सरकारको काम कार्वाहीको सम्बन्धमा निराधार अप्रमाणित कुरा गर्दै सरकारको घृणा, द्वेष वा अवहेलना गर्ने गरी विभिन्न अमर्यादित तथा अस्वस्थ्य आलोचना गरेकोले उनलाई सोमबार साँझ सिद्धार्थ दियालो होटलबाट साँझ ८ बजे पक्राउ गरिएको पर्सा प्रहरीले जनाइएको छ ।
झापा जिल्ला बिर्तामोढ नगरपालिका वडा नम्बर ५ स्यायी घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ मा सिन बस्दै आएका ५६ वर्षीय दुर्गा प्रसाद प्रसाईं विद्युतीय कारोवार ऐन उलंघन गरेको र राज्य विरुद्धको कसुर गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदीपराज पाठकले बताए । यस बिषयमा उनी कति दोषी छन् या छैनन् ? भनी अनुसन्धान भइरहेको उनको तर्क छ ।
प्रहरीले अनाहकमा पक्रेको समर्थकको दावी
प्रसाईं सोमबार वीरगन्ज पुगी होटलमा आराम गरिरहेका समयमा प्रहरीले अनाहकमा पक्राउ गरेको भन्दै उनका समर्थकले नाराजुलुश समेत गरेका थिए । मंगलबार बिहान १०.३० बजे वीरगन्जको माईस्थान मन्दिरमा पूजापाठ गर्ने र मेन रोड फराकिलो पार्दा घर क्षति भएका स्थानीयसँग सामान्य भेटघाट मात्र रहेको वाहेक वीरगन्जमा उनको अरु कार्यक्रम थिएन । तर पर्सा प्रहरीले अनाहकमा नियन्त्रणमा लिएको प्रसाईंका समर्थकको आरोप छ ।
उनका समर्थकले वीरगन्जमा प्रदर्शन गर्ने क्रममा मंगलबार दुई जना गिरफ्तार पनि भएको पर्सा प्रहरीले पुष्टि गरेको छ । उनीहरुको नाम भने खुलाइएको छैन । प्रसार्इंं पक्राउको बिरोधमा उत्रेका समर्थकहरुले मंगलबार दिनभरी जिल्ला प्रहरी कार्यालयको अगाडी प्रतिक्षा भने गरिरहे ।
प्रतिक्रिया लेख्नुहोस्

