काबिल सम्वाददाता
वीरगन्ज
नागरिकता लिखत सम्बन्धी कसुरको अभियोग लागेका वीरगन्ज महानगरपालिकाका महानगर प्रमुख (मेयर) राजेशमान सिंह पक्राउ परेका छन् । उनी पर्साको ठोरी गाउँपालिकास्थित ठोरी रिसोर्ट नजिकबाट पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले पुष्टि गरे । ठोरी–२ स्थित ठोरी रिसोर्ट नजिकबाट मेयर सिंह पक्राउ परेको एसपी पाठकले जनाएका हुन् ।
अदालतमा परेका मुद्दामा थप अनुसन्धान गर्न पर्सा जिल्ला अदालतबाट मेयर सिंह लगायत तीन जनालाई पक्राउ गर्न गएको जेठ १२ गते ७ दिनको पक्राउ पूर्जी जारी भए बमोजिम उनी मंगलबार बिहान प्रहरीको नियन्त्रणमा परेको पर्सा प्रहरीले विस्तृतमा जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका मेयर सिंहलाई मंगलबार नै पर्सा जिल्ला अदालतमा पेश गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजु कार्कीले काबिल खबरलाई बताए ।
अर्कोको छोरीलाई आफ्नो बनाउँदा लिखत कसुर गरेको आरोप
अरुको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता बनाइदिएको लिखतसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतले जेठ १२ गते जारी गरेको पक्राउ पूर्जीपछि जेठ १३ गते बिहान मेयर सिंह आँफै पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए । तथापि सो दिन मुद्दाको चाप बढी भएकोले मेयर सिंह विरुद्ध मुद्दाको सुनुवाइ हुन नसकेपछि मेयर सिंह प्रहरीको निगरानीभन्दा अलि सुरक्षित ठाउँमा बस्दै आएको धेरैको अनुमान थियो । प्रहरीले सोमबार मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई पर्सा जिल्ला अदालतबाट नियन्त्रणमा लिई दिनभर सँगै राखेको थियो । मेयरका नजिकका मानिस दिनभरी प्रहरीसँगै रहँदा प्रहरीलाई मेयर बसेको सुरक्षित ठाउँ पत्ता लगाउन बल पुगेको हो कि भन्ने आशंका धेरी महानगरवासीको छ । तर प्रहरी भने आफै बिशेष सूचना पाई मेयर नियन्त्रणमा परेको दावी गरिरहेको छ ।
नागरिकता लिखत सम्बन्धी मुद्दामा मेयर सिंह, उनले कान्छी श्रीमती भनेकी सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगन्ज महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी राय विरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना लाई आफ्नो छोरी बनाई फर्जी जन्मदर्ताको आधारमा रुबिना श्रेष्ठको नाममा नागरिकता बनाउँदा लिखत सम्बन्धि कसूर गरेको मुद्दा पर्सा जिल्ला अदालतमा परेको थियो । वीरगन्ज–३ का लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएको सरकारी वकिल कार्यालय पर्साले पुष्टि गरेको छ ।

मेयर सिंह अदालतमा पेश
अदातलमा परेका मुद्दाका आधारमा मेयर सिंहविरूद्ध चार वटा निवेदन छन् । जसमा पर्सा जिल्ला अदालतले लिखत सम्बन्धी कसुरमा पक्राउ पूर्जी जारी गरेको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले बताए । अहिले पर्सा जिल्ला अदालतमा मेयर सिंहले कसुर गरेको भनिएको मुद्दाका बारे सुनुवाई गर्ने तयारी भइरहेको पनि श्रेष्तेदार मल्लिकले काबिल खबरलाई बताए ।
प्रतिक्रिया लेख्नुहोस्

