spot_img

ताजा अपडेट

महाअभियानका संयोजक प्रसाईं साधारण तारिखमा रिहा

काबिल सम्वाददाता
    वीरगन्ज
मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाद प्रसाई साधारण तारिखमा रिहा भएका छन् । ‘पहिले थुन अनि सुन’ भन्ने अमिल्दो तरिकाले पक्राउ परेका अधिकाँश अभियुक्त झैं उनी पनि साधारण तारिखमा रिहा भएका हुन् ।
नेपाल प्रहरीले गएको जेठ ४ गते वीरगन्जको आदर्शनगर स्थित सिद्धार्थ दियालो होटेलबाट साँझ ८ बजे गिरफ्तार गरेका महाअभियानका संयोजक प्रसाईं मंगलबार पर्सा जिल्ला अदालतको आदेशले  साधारण तारेखमा छुटेका छन् । पक्राउ परेको भोलीपल्ट ३ दिन र पछि ४ दिनको म्याद लिई पर्सा प्रहरीले ७ दिन अनुसन्धान गरी सोमबार (हिजो) पर्सा जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो ।
प्रसाईले विद्युतीय कारोवार ऐन विपरित र राज्य विरुद्धको कसुर गरेको पर्सा प्रहरीको दावी थियो । पर्सा जिल्ला अदालतको मुद्दाको नम्बर ०८२–सी १– ११११ मा थुनछेक मुद्दाको सुनुवाई पर्सा जिल्ला अदालतका मुख्य भई काम गर्ने जिल्ला न्यायधीश गायत्री प्रसाद रेग्मीको इजलासमा भएको पर्सा जिल्ला अदालतका श्रेष्तेदार प्रभाकर कुमार मल्लिकले बताए । जिल्ला न्यायधीश रेग्मीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम साधारण तारेखमा छाड्न आदेश दिएको पर्सा जिल्ला अदालतका श्रेष्तेदार मल्लिकले बताए । मुद्दाको सुनुवाई पछि प्रसाईं साधारण तारिखमा छुटेको उनको भनाइ छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ ले थुनामा पठाउने, ६८ ले धरौटी माग गर्ने र दफा ६९ ले साधारण तारिखमा छुट्ने परिभाषा गरे बमोजिम प्रसाईं ६९ अनुसार परेको पर्सा जिल्ला अदालतका मुख्य न्यायधीश रेग्मीले बताए । अभियुक्तलाई साधारण तारिखमा राखी मुद्दाको पूर्पक्ष गर्ने गरी आदेश भएको उनको भनाइ छ । अदालतबाट म्याद लिंदा पनि अभियुक्तलाई स–शरीर उपस्थित नगराई प्रविधिको प्रयोग गरी म्याद लिएर प्रहरीले सुक्ष्म अनुसन्धान गरेको थियो । देश बचाउन राजाको शासन चाहिने र वित्तीय सुशासन कायम गर्नुपर्ने ठोस एजेण्डा सहित विभिन्न जिल्लामा अभियान संचालन गर्दै हिडेका प्रसाईं पर्सामा भने आफ्ना केही समर्थकसँग भेटघाट गरी जेठ ५ गते माईस्थान मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम मात्र सार्वजनिक भएको थियो । सो क्रममा आइपुगे लगत्तै उनी प्रहरीको नियन्त्रणमा परेका थिए ।
विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजाल मार्फत विभिन्न किसिमको अभिव्यक्ति दिएको र सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध कसै प्रति घृणा वा द्वेष फैलाउने जातजाती, सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल् पार्ने र नेपाल सरकारको काम कार्वाहीको सम्बन्धमा निराधार अप्रमाणित कुरा गर्दै सरकारको घृणा, द्वेष वा अवहेलना गर्ने गरी विभिन्न अमर्यादित तथा अस्वस्थ्य आलोचना गरेकोले गिरफ्तार गरिएको जेठ ५ गते प्रहरीले उनको पक्राउ बारे कारण सर्वाजनिक गरेको थियो ।
झापा जिल्ला बिर्तामोढ नगरपालिका वडा नम्बर ५ स्यायी घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ मा बस्दै आएका ५६ वर्षीय प्रसाईंलाई प्रहरीले विद्युतीय कारोवार ऐन उलंघन गरेको र राज्य विरुद्धको कसुर गरेको अभियोग लगाएको छ । यो अभियोगसम्बन्धी मुद्दामा आगामी असार १७ गते साक्षी सहित उपस्थित हुन पनि पर्सा जिल्ला अदालतले आदेश दिएको खुलेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ