spot_img

ताजा अपडेट

सकसपूर्ण गर्मीले वीरगन्जका २७२ शैक्षिक संस्था बन्द

काबिल सम्वाददाता
   वीरगन्ज 
केही दिनदेखि मध्य तराईमा बढेको सकसपूर्ण गर्मीले वीरगन्ज महानगरपालिका भित्रका २ सय ७२ वटा शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द हुँदा वीरगन्ज महानगरपालिका भित्र मात्र अध्ययनरत कुल १ लाख १० हजार विद्यार्थीको पढाई पनि ठप्प भएको छ ।
मध्य तराईमा अध्यधिक गर्मी बढेसँगै विद्यालय जाने उमेर समूहका बालबालिकालाई बचाउन वीरगन्ज महानगरपालिकाले असार ११ र १२ गते सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । संघ सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय लादेपछि हप्तामा पाँच दिनमात्र पढ्दै आएका विद्यार्थीको पठनपाठनमा मधेशको गर्मीले समेत प्रभावित पारेको हो ।
वीरगन्ज महानगरले बिहिबार र शुक्रबार दुई दिन सार्वजनिक विदा दिंदा यहाँका नीजि तथा सामुदायिक शैक्षिक संस्थाको पठन पाठन आगामी सोमबार मात्र संचालनमा आउने देखिएको छ । महानगरले दिएको दुई दिनको विदा बर्षे विदामा कट्टा हुने गरी दिएको वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले काबिल सम्वादातालाई बताए । असार ११ र १२ गते गर्मी विदा दिंदा यहाँका ९० वटा सामुदायिक र १ सय ८२ वटा संस्थागत गरी २ सय ७२ वटा विद्यालयहरु बन्द भएको उनको भनाइ छ । ती शैक्षिक संस्थामा कुल १ लाख १० हजार विद्यार्थी पठनपाठनरत रहेकोमा उनीहरुको पढाइमा पनि गर्मीको कारण प्रभाव परेको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएृको छ ।
मौसमी प्रतिकुलताले महानगर भित्रका सबै सामुदायिक र संस्थागत तथा मन्टेश्वरी समेत बन्द गर्नु परेको छ । मौसमी प्रतिकुलताले यहाँ अध्ययनरत सबै विद्यार्थीहरुको पठनपाठन अबरुद्ध भएको छ ।
अध्याधिक गर्मीको चपेटाबाट विद्यार्थीको जीवन रक्षा गर्नु स्थानीय सरकारको पनि कर्तव्य भएकोले यो कदम चाल्न पालिका बाध्य भएको शैक्षिक प्रशासन महाशाखा प्रमुख लामिछानेले तर्क गरे । वीरगन्ज महानगरपालिकाको कार्यवाहक नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र पर्साका नीजि विद्यालयहरुको छाता संगठन प्याव्सन, एन प्याव्सन, नगर तथा जिल्ला कार्य समिति पर्सालाई महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख लामिछानेले जारी गरेको पत्रको बोधार्थ दिएको छ । बोधार्थमा सरोकारवाला सबै पक्षले महानगरको निर्णय कार्यान्वयन गराउन पनि सबैको समन्वय खोजिएको छ ।
आगामी आईतबारपछि विद्यालयहरु खोल्ने या अझ बन्द गर्ने भन्ने कुरा मौसमको प्रतिकुलता हेरी नयाँ निर्णय गर्न सकिने पनि वीरगन्ज महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ