spot_img

ताजा अपडेट

पर्सामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन

काबिल सम्वाददाता 
    वीरगन्ज
गलत कार्य गरेर नागरिकले तीन ठाउँमा जान नपर्ने अवस्था सृजना गर्नुपर्ने नेपाल प्रहरी महानिरीक्षक (प्रम) दान बहादुर कार्कीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै बिहिबार वीरगन्जमा प्रहरी महानिरीक्षक कार्कीले यस्तो बताएका हुन् ।
गलत कार्य गरी पहिलो नम्बरमा ‘प्रहरी कार्यालय’ जानै नपर्ने अवस्थाको सृजना गर्नु पर्ने उनको सुझव छ । दोस्रोमा मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) गरी झै–झगडा गर्दै अंगभंग हुँदै ‘हस्पिटल’ जान नपर्ने अवस्था सृजना हुनुपर्छ । त्यसैगरी तेस्रोमा गलत कार्य गरी ‘कोर्ट कचहरी’मा जान नपर्ने सभ्य समाजको निर्माण गर्नुपर्ने उनले जोड दिए ।
मानिसले गलत कार्य गर्न नछोडेकोले नै प्रहरी कार्यलयहरु प्नि थपिदै जाने र व्यवस्थित सेवा प्रदान गर्न स्थायी र अस्थायी संरचनाहरु पनि बनाउन परेको उनको भनाइ छ । २१ औं शताब्दीमा पनि प्रहरीले कार्य सम्पादन गर्ने कार्यालय भवन निर्माण गर्दा खुसी हुनु पर्ने अवस्था रहेको भन्दै समाज सचेत भए प्रहरी कहाँ जानै नपर्ने अवस्था सृजना हुने पम कार्कीले बताए ।
प्रहरी युनिटका आधा संरचना अस्थायी
अहिले नेपाल प्रहरीका स्वीकृत २ हजार ६ सय ६० युनिट मध्ये आधा जस्तो अर्थात १ हजार ३ सय ५६ युनिट अस्थायी रहेको पनि उनले बताए । प्रहरी पनि अर्को ग्रहबाट आएको एलियन नभएकोले उसका पनि मानवीय आवश्यकता हुने हुँदा पूर्वाधारहरु व्यवस्थित गर्दै नागरिकका सेवा प्रवाहमा प्रहरी सक्षम हुन पर्ने अवस्था रहेको उनको भनाइ छ ।
कुल २ करोड ४८ लाखको लागतमा निर्मित भवनको उद्घाटन गर्दै नेपाल प्रहरीका नेतृत्व कर्ता महानिरीक्षक कार्कीले समुदाय र प्रहरीबीचको सहकार्य, विश्वास र निरन्तर संवादबाट दिगो शान्ति, असल सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सकिनेमा जोड दिए । समाज र प्रहरी दुवै ईमान्दार भए सभ्य समाज निर्माण गर्न नसकिने भन्ने नभएको उनको तर्क छ । प्रहरी महानिरीक्षक कार्कीले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूलाई सहज, सुरक्षित र संवेदनशील वातावरणमा सेवा प्रदान गर्न प्रहरीले कुनै कसर बाँकी नराख्न मातहतका प्रहरीलाई कडा निर्देशन दिए ।
प्रविधिमैत्री सेवा प्रदान गरिने  
प्रविधिमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन व्यवस्थित संरचना महत्वपूर्ण हुने भन्दै प्रविधिबाट हुने अपराधलाई प्रविधिकै माध्यमबाट नियन्त्रण गर्न सक्ने गरी सक्षम र प्रभावकारी कार्य गर्न प्रहरी पनि अग्रसर रहेको उनको भनाइ छ । ‘चोरले हेलिकेप्टरमा भाग्ने र त्यसलाई पक्रने प्रहरी साइकलमा हिड्ने’ जस्तो अवस्थाले अपराध, चोरी पैठारी, लापसे, मापसे र तस्करी, चेलीबेटी बेचबिखन जस्ता गलत कार्यलाई न्यूनिकरण गर्न कठिन हुने भन्दै उनले उदाहरण नै दिए । सामाज भित्र हुने हिंसा, मानवीय बेचबिखनका अपराधजन्य घटना शुन्यमा झार्नु छ । त्यसैले पनि सभ्य र भव्य समाजका लागि पर्सा र वीरगन्जबाटै सकारात्मक सुरुवात गर्दा के विग्रन्छ र ? भनी उनले सकारात्मक समाज निर्माणमा प्रहरी र समाजको हातेमालो हुनुपर्ने औल्याए ।
समग्र क्षमता विकासमा टेवा 
‘महिला र बालबालिकाका लागि न्याय र संरक्षण सेवाहरूमा पहुँच सुदृढ गर्दै’ भन्ने लक्ष्य साथ संयुक्त राष्ट्र संघ परियोजना सेवा कार्यालय (ग्ल्इएक्) अन्तर्गत नेपाल प्रहरीमा सञ्चालित सुरक्षा तथा न्याय कार्यक्रम (क्व्ए) मार्फत जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रहरीको लागि निर्माण भएका यस्ता भवन मध्ये १५ औं रहेको निर्माणकर्ताको भनाइ छ ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश गायत्री प्रसाद रेग्मी, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक ग्यानेन्द्र बस्नेत, राष्ट्रिय अनुसन्धान विभाग पर्साका उपअनुसन्धान निर्देशक सन्तोष ढुंगाना, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया तथा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला, पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकलगायत सुरक्षा निकाय, न्यायिक क्षेत्र, स्थानीय तह तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरूको कार्यक्रममा उपस्थिति रहेको थियो । राष्ट्रिय गानबाट सुरुवात भएको कार्यक्रमको सहजीकरण प्रहरी निरीक्षक सोनी न्हेम्हाफुकीले गरेकी थिइन् ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ