नेपाल आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डसँगको पहिलो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो ।
वर्षाले प्रभावित खेलमा जितका लागि दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ३९ ओभरमा सात विकेटको क्षतिमा दुई सय १८ रनमा समेटियो । पहिलो इनिङ्स सकिएसँगै पानी परेपछि ओभर घटाएर नेपाललाई ३९ ओभरमा दुई सय २१ रनको लक्ष्य पाएको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले अर्धशतकीय इनिङ्स खेले । गुल्शनले अविजित सर्वाधिक ६१ रन बनाए। उनले ३५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे ।
दीपेन्द्रले ५५ रन बनाए । अर्धशतक बनाउने क्रममा उनले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले ३२, ओपनर आशिफ शेखले २१, करण केसीले १८, भेट्रान विनोद भण्डारीले १० र नन्दन यादवले अविजित आठ रन बनाए ।बलिङमा स्कटल्यान्डका ब्राड करीले तीन विकेट लिए ।
यस्तै मार्क वाटले दुई दुई तथा ज्याक जार्भिस र ओलिभर डेभिडसनले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४३ रन बनाएको थियो । स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतक बनाए । ६२ रनको सामना गर्दा उनले १२ चौका र दुई छक्काको मद्दतमा ७५ रन बनाए।
त्यसैगरी अर्का ओपनर फिनले म्याकक्रियाथले ६२ बल खेल्दै ३५ रन बनाए । पाँचौँ क्रममा ब्याटिङ गरेका मिचेल इङ्ग्लिसले नटआउट ३४ रन बनाए । २० ओभरसम्म विकेटबिहीन बनेको नेपालका लागि लेग स्पिन सन्दीप लामिछानेले चार विकेट दिलाए । सन्दीपले १० ओभर बलिङ गर्दा एक मेडनसहित ४१ रन खर्चिएर चार विकेट हात पारेका थिए।

