काबिल सम्वाददाता
वीरगन्ज
आफ्नै श्रीमान्ले खुट्टा काटिदिएर अस्पतालमा उपचार गराइरहेकी पीडित हरिकला सहनीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले १० हजार आर्थिक सहयोग गरेको छ । इन्सेकका पर्सा प्रतिनिधि तुलसी भण्डारीको सकृयतामा इन्सेकले पीडितलाई नगद १० हजार उपलब्ध गरेको हो ।
गएको चैत १ गते घटना भइकै दिनदेखि पर्साको सदरमुकाम वीरगन्जसँगै जोडिएको बाराको परवानीपुर ५ मा अवस्थित एल एस न्यूरो हस्पिटलमा उपचार गराइरहेकी पीडित हरिकलालाई हस्पिटलमै पुगी इन्सेक पर्साका प्रतिनिधि भण्डारीले सो रकम उपलब्ध गराएको अस्पताल प्रशासनले जनाएको छ । सो क्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खड्का, सञ्चारकर्मी सूर्य नारायण विक, एल एस न्यूरो हस्पिटल प्रशासन डिपार्ट प्रमुख विनोद पटेललगायतको पनि सो क्रममा उपस्थिति रहेको थियो ।
पीडितका २ वर्ष र ६ वर्षका दुई छोरा छन् । पीडिक श्रीमान् भने गएको चैत १४ गते प्रहरीको नियन्त्रणमा परी घटनाको कार्वाही प्रक्रियामा परिसकेका छन् । पीडित हरिकलाको अस्पतालमा रेखदेख गर्ने पनि घर तर्फका कोही नभएकोले उनका बुबाआमाले रेखदेख गरिरहेको पाइएको छ । आर्थिक अवस्था निकै कमजोर रहेको र उपचार तथा न्याय प्राप्तिका लागि लड्न समेत समस्या रहेको बुझी इन्सेकले सानो सहयोग उपलब्ध गराएको इन्सेकका पर्सा प्रतिनिधि भण्डारीले बताए । श्रीमान्ले काटिदिएको पीडित हरिकलाको खुट्टा साविकमा झैं जोडिन नसकेपछि अस्पताले काम नलाग्ने भागलाई अलग गरी हटाइदिएको चिकित्सकले पुष्टि गरेका छन् ।
खुट्टा काटिएकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
प्रतिक्रिया लेख्नुहोस्

