spot_img

ताजा अपडेट

भू–सतहको पानी ‘रिचार्ज’का लागि पर्सागढीको ‘नमूना ड्याम’

तुलसी भण्डारी 
     वीरगन्ज
वन–जंगलको तीब्र दोहन, चुरेको विनास र पानी पूनःर्भरणको कमीले मध्य तराईको पर्सा जिल्ला विगत ५ वर्षयता खानेपानीको समस्यामा पिरोलिन थालेको छ । खाने पानीकै समस्याले पिरोलिन थालेको ठाउँमा सिंचाइ र कृषि प्रयोजनका लागि पानीको पर्याप्तता भन्ने अलि परको कुरा होे ।
तर ‘पर’को कुरालाई ‘वर’ बनाउने प्रयास पर्साको पर्सागढी नगरपालिकाले सुरुवात गरेको पाइएको छ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको कोइलाभार जंगल प्रवेश गर्ने मुखैमा पूर्वपट्टि जंगल क्षेत्रबाट रसाएर बग्ने सानो पानीको मुहानमा नै पर्सागढी नगरपालिकाले पक्का ड्याम बनाई जलचर, थलचरका लागि मात्र नभई कृषिका लागि समेत पानी संचयको प्रभावकारी कदम बढाइएको भेटिएको छ । ‘गरे के हुने रहेनछ र’ भन्ने कुराको यो एउटा गतिलो उदाहरण हो । जम्मा ३३ लाखको लागतमा नै पर्सागढी नगरपालिकाले वडा नम्बर १ को कोइलाभार वन क्षेत्र प्रवेश गर्ने सडक पूर्वतर्फ पक्का बाँध बाँधी दुईवटा पालिकाका ४ वटा वडामा सिंचाइको समेत प्रवन्ध हुने गरी पानी समस्याको विकल्प खोज्न थालेको दावी गरेको छ ।
पानी पूनःर्भरणमा सही कदम ः विज्ञ 
गएका केही वर्षदेखि मध्य तराईको पर्सामा पनि खानेपानीको समस्या देखिन थालेकोले अब पालिकाले आफ्नो क्षेत्रमा रहेका पानीका श्रोत र शोर्सहरुलाई पहिचान गर्ने र उचित उपयोग गर्ने रणनीति अगाडी बढाएको पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले बताए । ‘पानीको श्रोत र शोर्सको पहिचान गरी पानी जम्मा गर्ने ड्याम बनाई विविध काममा पानी प्रयोग गर्ने दीर्घकालिन रणनीति अपनाउन थालेका हौं’ उनले काबिल खबरसँग भने ।
भू–सतहमा पानी जम्ने ड्याम बनाउँदा जमिनमुनी पानी पूनःर्भरण भई आफ्नो पालिकाका केही वडामा देखिएको खानेपानीको समस्या समेत न्यूनिकरण गर्न बल पुग्ने हाम्रो ठम्याइ हो उनले थपे । यतिले मात्र त पानीको समस्या हल हुँदैन । तर दीर्घकालिनरुपमा जति फाइदा लिन सकिन्छ त्यतिमै पनि सतर्कता अपनाउन सकृयता बढाएको उनको दावी छ ।
पानी सञ्चितिले जलचर र थलचर जीवजन्तुलाई समेत खानेपानीको समस्या नहुने, प्रत्यक्ष सिचाइका लागि प्रयोग गर्न मिल्ने र बोटबिरुवाको लागि पनि केही त्राण थपिने तथा जलबायु परिवर्तनलाई थोरै भए पनि सापेक्ष गर्न सहयोग पुग्ने निष्कर्ष सहित पालिकाले यो कदम बढाएको पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले पनि बताए ।
बिशेष अनुदान रकमबाट निर्माण
प्रदेश सरकारको ३० लाख बिशेष अनुदान रकम र उपभोक्ता समितिको ३ लाख गरी कुल ३३ लाखको लागतमा गएको असार महिनामा योे संरचना निर्माण सम्पन्न गर्न पालिका सफल भएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए । ‘दुई महिनाको अन्तरालमा यो कार्य सम्पन्न भयो’ यसमा नगरप्रमुख पाठकको बिशेष सकृयतामा रह्यो । प्रदेश सरकारसँग धेरैपटक उहाँले पहल गर्दा यो बजेट प्राप्त भई काम गर्न पाएको प्रमुख प्रशासकीय अधिकृत साहले तर्क गरे ।
हरेक वर्ष चैत बैशाख महिनाको सुख्खा मौसममा खाने पानीकै समस्या समाजमा देखिन थालेपछि जंगल छेउको पालिका पर्सागढीले चाही पानीको श्रोतको पहिचान गरी उदाहरणीय कार्यको सुरुवात गरेको एमालेका पर्सागढी नगरपालिका अध्यक्ष दुर्गा लामिछानेले पनि बताए । जंगल किनारामा यस्ता संरचना निर्माण गर्दा दक्षिणका भूभागहरुमा हुने पानीको समस्या केही हदसम्म न्यूनिकरणमा राहत पुग्ने भू–गर्भको पानीको बारेमा जानकार विज्ञहरुको पनि तर्क छ ।
गएको वर्ष सीमासँग जोडिएको पर्साको वीरगन्ज महानगरपालिकामा खाने पानीको चरम समस्या गहिरिएपछि जलश्रोतका क्षेत्रमा कार्य गरिरहेका विज्ञहरुले समेत पर्सागढी नगरपालिका उत्तरतर्फ कोइलाभार जंगलक्षेत्रसम्म पानीको श्रोत पहिचान गर्न विज्ञको टोली नै लिएर गएको थियो । विज्ञहरुले पनि चुरे क्षेत्रको कोइलाभार लगायत आसपासको चिस्यान क्षेत्रमा ड्याम बनाई पानी पूनःर्भरण कार्य गर्न सकिने निष्कर्ष निकालेका थिए । यस्तो पानी रोक्ने ड्याम ठाउँ–ठाउँमा बनाउन सके तलका जमिन र बस्तीहरु समेतमा खानेपानीका चापाकल सुक्ने क्रम कम हुने उनीहरुको सुझाव थियो । पर्सागढी नगरपालिकाले भने अध्ययन मात्र नगरी काम नै सुरु गरेर उदाहरणीय कार्य गरेको पर्सागढी नगरपालिकाका अगुवाहरुको दावी छ ।
सिंचाईका लागि दुईपालिकाका ४ वडा लावान्वित 
पर्साको पर्सागढी नगरपालिकाका वडा नम्बर १ मा बाँधिएको यो बाँधले यहाँका १, ७ र ९ नम्बर वडा तथा सखुवाप्रसौनी गाउँपालिकाको पनि १ नम्बर वडाको करीब ७ सय विगाहा जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन थालेको पर्सागढीका प्रमुख प्रशासकीय अधिकृत साहले विस्तृतमा बताए । जंगलक्षेत्रमा नै ड्याम बनाइएकोले बस्तीमा सिंचाई मात्र नभई जंगली जनावर र चरनका गाईबस्तुलाई समेत पानीको पर्याप्तता भएको उनको दावी छ । अब पालिकाका एक दुई अन्य ठाउँमा पनि यस्ता पानीको श्रोत पहिचान भइसकेको छ । त्यहाँ पनि विकल्प अपनाई पुरै पालिका र नजिकका अन्य पालिकाहरुमा पनि पानी पूनःर्भरणको समस्यालाई न्यूनिकरण गर्न पर्सागढी सकृय हुने उनको तर्क छ ।
ड्याम नजिक पर्यटन प्रवद्र्धन गर्ने थप योजना 
कलकल बग्ने सफा पानीको प्रचुरताले अब बाँध छेउको खुल्ला चौरमा पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यले पिकनिकस्थलको पनि निर्माण कार्य अगाडी बढाउने योजना पालिकाले अगाडी बढाउने तयारी गरिरहेको नगरपालिकाले जनाएको छ । पिकनिक स्थलको प्रवद्र्धन गर्न सके ड्यामको साइडमा पौडी पोखरी पनि बनाई गर्मी मौसममा थप आकर्षण थप्न र केही आम्दानीको श्रोत पनि जुटाउन टेवा पुग्ने अपेक्षा पनि गरिएको छ । काम फत्ते गर्न त बजेटमा नै भरपर्नु पर्ने हुन्छ प्रमुख प्रशासकीय अधिकृत साहले भने ।
पर्सागढी र सखुवाप्रसौनीतर्फ जता पानी लान मिल्ने गरी फलामका ढोका समेत निर्माण गरिएकोले यसकै एक साइडमा धारा जडान गरी पिकनिकमा आउने आन्तरिक पर्यटकहरुका लागि पानी प्रयोग गर्न मिल्ने गरी प्रवन्ध गरिने पालिकाको अर्को तयारी रहेको खुलेको छ । आगामी वर्ष थप योजना तयार गर्दा सो कार्यको योजना पनि बढाइने पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहले पनि तर्क गरे ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ