काबिल सम्वाददाता
काठमाण्डौ
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले प्रतिनिधि सभाका नव निर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
जेनजी आन्दोलनको क्रममा गएको भदौ २३ र २४ गते संसद भवनमा आगजनी र तोडफोड भएपछि अस्थायी रुपमा सिंहदरबार भित्र बनाइएको कामचलाउ भवनमा आयोजित सभामा नव निर्वाचित सांसदहरुले सपथ लिए । गएको फागुन २१ गते भएको नेपालको प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १ सय २५ प्रत्यक्ष र ५७ सिट समानुपातिक सहित १ सय ८२ सिट सहित मुलुकको पहिलो पार्टी बनेको छ । त्यसैगरी काँग्रेस प्रत्यक्ष तर्फ १८ र समानुपातिक तर्फ २० सिटगरी ३८ सिट ल्याएर दोस्रो ठूलो दल बनेको छ । एमाले प्रत्यक्ष तर्फ ९ र समानुपातिक तर्फ १६ गरी कुल २५ सिट ल्याई तेस्रो दलका रुपमा समेटिएको छ ।

नेकपा प्रत्यक्ष तर्फ ८ र समानुपातिक तर्फ ९ गरी १७ सिट ल्याई चौथो दल बनेको छ । त्यसैगरी निर्वाचन हुनुभन्दा चार महिना अगाडी मात्र दल दर्ता गरेको नयाँ दल श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ र समानुपातिका ४ गरी कुल ७ सीट ल्याई एकै पटक संसदको पाँचौं ठूलो दल बनेको छ । राप्रपा प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी कुल ५ सिट र १ स्वतन्त्र गरी कुल २ सय ७५ सिटमा निर्वाचित सांसदहरुले चैत्र १२ गते ज्येष्ठ सदस्य केसीसँग शपथ लिएका हुन् ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएको जनाइएको छ । सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार छिरेका छन् ।

