तुलसी भण्डारी
वीरगन्ज
‘न लाने मान्छेको नाम, न जाने ठाउँ ठेगाना’ केही थाहा छैन’ तर प्रेमि भेट्न र साथमै सीमा कट्न थालेका नेपाली नव युवतीहरुको कारुणिक तथ्य सीमा भेटिने गरेको छ । सामाजिक सञ्जालबाट लभ (माया‐प्रेम) मा परी भारत तर्फ जानेहरु यस्ता पनि हुन्छन् र भनिएला ? तर धरातलीय यथार्थ यस्तै खुलेको छ ।
सामाजिक कार्यमा सकृय माइती नेपालले जोखिमपूर्ण अवस्थामा फस्न लागेका १ सय ६३ जना नवयुवती तथा महिलाको उद्धार गर्दा सामाजिक सञ्जालबाट लभको चक्करमा परी ठाउँ ठेगाना र नाम समेत नभएको व्यक्तिको चक्कर नवयुवती पर्न थालेको खुलेको हो ।
नेपाली नव युवतीहरु यसरी ‘बेसुरेतालले हिड्ने एक दुई जना मात्र रहेन छन् । सामाजिक सञ्जालबाट भारतीय युवकसँग ‘लभ’ गरेको लहै‐लहैमा एक वर्षमा लाने व्यक्ति र जाने ठाउँको जानकारी विना भारत जाने भनी २४ जना नव युवतीहरु वीरगन्ज नाकासम्म आइपुगको माइती नेपालले जनाएको हो ।
भारतका विभिन्न कोठीमा पुगी यौन लगायतको शोषणमा पर्दै नारकीय जिवन विताउने घटनामा कोही नपरुन् भनी ३३ वर्षदेखि सामाजिक कार्य गर्दै सीमानाकामा पनि खटेको संस्था माइती नेपालको एकवर्षे आँकडा आइतबार सार्वजनिक गरिएको पनि छ । वीरगन्ज नाकाबाट सन् २०२५ मा उद्धार गरिएका कुल १ सय ६३ जना मध्ये अधिकाँश सामाजिक सञ्जाल प्रयोग गर्दा प्रेमजालमा परी अभिभावक तथा घर परिवार त्यागेर हिडेका युवतीहरु रहेको माइती नेपाल वीरगन्ज शाखा प्रमुख एवं सुपरिवेक्षक गोमा पौडेलले बताइन् ।
दलालका लागि सामाजिक सञ्जाल राम्रो जाल
सामाजिक सञ्जालबाट भारतीय प्रेमीको माया जालमा परी लहै‐लहैमा हिडेका २४ नव युवतीहरुले लाने व्यक्तिको ठाउँ ठेगाना भन्नै सकेनन् । ती वाहेक सामाजिक सञ्जालबाटै मायाजालमा परी भागेर वा अभिभावकको समेत स्वीकृतिमा अन्जानमा जानेको संख्या पनि ३६ रहेको माइती नेपालको आईतबार बार्षिक तथ्याँक सार्वजनिक गर्दै पौडेलले कारुणिक धरातलीय यथार्थ बताइन् ।
यथार्थ बुझेर मात्र सहि कार्यमा जाउन्, अज्ञानता वश नेपाली युवतीहरु भारतमा पुगी विभिन्न हिंसा, यौन शोषण र अन्यायको चपेटामा नपरुन् भनी माइती नेपालले वीरगन्ज नाकामा निगरानी गर्ने गरेको छ । परिस्थिति नबुझी नेटवर्किङ्ग कम्पनीमा काम गर्न भन्दै जानेको संख्या पनि उद्धार गरिएको संख्यामा ठूलो रहेको माइती नेपाल आवधिक गृहको मनिशा गौतमले बताइन् । गएको एक वर्षमा नेटवर्किङ्ग कम्पनीमा काम गर्न भनी अन्जानमा हिडेका पनि ३२ युवतीहरुलाई माइती नेपालले उद्धार गरेको पाइएको छ ।

सञ्जालले नवयुवती अन्जानमा बढि फस्दै
मुलुकको प्रमुख सीमानाका वीरगन्जबाट उद्दार गरिएका मध्ये सबैभन्दा बढि सामाजिक सञ्जाल प्रयोग गरी प्रेमजालमा फसेर घर परिवारलाई थाहै नदिई भागेका माइती नेपालको उद्धारमा परेमा छन् । विभिन्न प्रलोभनमा पारी नेपाली युवतीहरुलाई लान खोज्ने दलाल कतिले त अभिभावकलाई समेत प्रभावमा पारी सीमा नाका कटाउन लगाउनेसम्मको खेल खेल्ने गरेको पनि माइती नेपाल वीरगन्जको सुपरिवेक्षक पौडेलको भनाइ छ । ‘त्यसो गर्दा अभिभावकलाई आउने जाने खर्च समेत उनीहरुले दिने गरेको समेत भेटियो’ उनले भनिन् ।
भारतीय आर्केष्टा लगायतबाट उद्धार गरिएकाहरुको भनाइले नेपाली युवतीहरु उता गई राम्रो काम गर्न नपाउने गरेको तथ्य पनि खुलासा भएको छ । माइती नेपाल वीरगन्जले पनि यसको पुष्टि गरेको छ ।
माइती नेपालको एक वर्षे तथ्याँक
वीरगन्ज नाकाबाट उद्धार गरिएका १ सय ६३ जना मध्ये सबैभन्दा बढि सानै उमेरमा भाग्ने अर्थात ३६ जना रहेका छन् । सानै उमेरमा प्रेमजालमा परी भाग्नेको संख्या पछि भारतको पटना स्थित ‘वी विनर’ नेटवर्किङ्गमा काम गर्ने भनेर अन्जानमा हिडेका ३२ जना रहेको छ । त्यसैगरी आफू जाने ठाउँको नाम, ठाउँ केही थाहा नपाई हिडेका २४, सामान किन्न भनी बहाना बनाएर जाने १७, काम गर्न जाने बहानाका ६, आर्केष्टामा जाने ६ र आफन्त भेट्न जाने बहानाका ४, औषधी किन्न जाने भन्ने २ तेस्रो मुलुक जाने १ र भारतकै पनि २ जना गरी कुल १ सय ३० जनालाई माइती नेपालले उद्धार गरी आवधिक गृहसम्म पनि ल्याएको पाइएको हो । ३३ जनालाई भने आवधिक गृहमा नल्याई नाकाबाटै आफन्त वा अभिभावकको जिम्मा लगाइएको माइती नेपालले जनाएको हो ।
माइती नेपालले उद्धार गरेका मध्ये ४० जना १८ वर्षसम्मका रहेको माइती नेपाल वीरगन्ज शाखा प्रमुख खड्काले बताइन् । बाँकी १ सय २३ जना मात्र १९ वर्ष माथिका रहेको उनको भनाइ छ ।
पाँच वर्षमा ७ सय ९९ को उद्धार
माइती नेपालले सन् २०२१ देखि ०२५ सम्म यो नाकाबाट मात्र ७ सय ९९ जना नेपाली महिला तथा युवतीहरुलाई गलत कार्यमा फस्नबाट बचाएको माइती नेपालको तथ्याँकले पुष्टि गरेको छ । सन् २०२१ मा १ सय ४३ जना, ०२२ मा १ सय ६६ जना, ०२३ मा १ सय ९२ जना, ०२४ मा १ सय ३५ जना र ०२५ मा १ सय ६३ जना रहेको माइती नेपालकी अनिशा गौतमले पनि बताइन् ।
नेपाली बालबालिका तथा महिलाहरु अनाहकमा भारत तथा तेस्रो मुलुकमा नफसुन भनी माइती नेपालले सीमा क्षेत्र कडाईका साथै प्रत्यक्ष अप्रत्यक्ष २२ हजार ५ सयलाई सचेतनाका लागि जानकारी समेत दिएको एकवर्षे तथ्याँकले देखाएको छ । त्यसै गरी दिवसीय तथा अन्य कार्यक्रमबाट २ हजार ७ सय ७४ जना लावान्वित भएको, २ हजार ३ सय ५३ जनालाई सचेतना पत्र वितरण गरेको, सीमा क्षेत्रमा २० हजार २ सय ३१ वटा त सवारी रोकी चेकजाँच गरेको र ३१ जनालाई स्वास्थ्य उपचार समेत गरेको माइती नेपालको तथ्याँकमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

