काबिल सम्वाददाता
वीरगन्ज
वीरगन्जको आदर्शनगरस्थित होटल त्रिशलामा गत आईतबार मृत भेटिएकी पर्सागढी नगरपालिका–३ की २१ वर्षीया सुनिता लामाको शंकास्पद मृत्युको निष्पक्ष तथा न्यायिक छानविनको माग गर्दै वीरगन्जमा व्यापक प्रदर्शन गरिएको छ । पर्सागढी नगरपालिका वडा नम्बर ३ का सयौं सर्वसाधारणको सहभागितामा पर्साको सदरमुकाम वीरगन्जमा प्रदर्शन गरिएको हो ।
सुनिता पर्सागढी नगरपालिका वडा नम्बर ३, झबराको स्थायी बासिन्दा हुन् । आफ्नै पालिकाकी चेली सुनिताको होटलमै रहस्यमय अवस्थामा मृत्यु भएपछि दोषी पहिचान गरी कडा कारबाही हुनुपर्ने भन्दै स्थानीय सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले छानविन प्रक्रियामा कुनै पनि लापरबाही, दबाब वा प्रभाव स्वीकार्य नहुने बताउँदै प्रहरी प्रशासनलाई कडा खबरदारी गरेका छन् । “दोषी कुनै पनि हालतमा उम्किन नपाओस्” उनीहरूको साझा माग छ ।
दोषी उम्किनु हुँदैनः मेयर पाठक
पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले सुनिताको मृत्यु शंकास्पद रहेको ठहर गर्दै निष्पक्ष छानविन अनिवार्य भएको बताए । “हाम्रो मुख्य माग मृतक परिवारले उचित न्याय र क्षतिपूर्ति पाउनुपर्छ भन्ने हो,” उनले भने, “सुनिताको मृत्यु सामान्य घटना होइन । यसमा सत्यतथ्य बाहिर ल्याएर दोषीमाथि कडा कारबाही हुनुपर्छ” उनले थपे ।
स्थानीय सोनु कुमार लामाले २१ वर्षीया सुनिताको अनाहकमा ज्यान जानुमा अवश्य कोही न कोही दोषी रहेको दाबी गर्दै घटनालाई गम्भीर आपराधिक घटनाका रूपमा लिन माग गरिएको बताए ।
प्रहरी प्रशासन कार्यालय अगाडीसम्म प्रदर्शन
प्रदर्शनकारीहरु जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सा अगाडीसम्म पुगी सचेत गराएका छन् । “हामी पर्ख र हेरको अवस्थामा छौँ, ज्यान जानेजस्तो संवेदनशील घटनामा हाम्रो धैर्यतालाई कमजोरी नठानियोस्,” प्रदर्शनकारीहरूले आक्रोस् व्यक्त गरे ।
सूक्ष्म अनुसन्धान भइरहेको छः प्रहरी
प्रदर्शनपछि सहभागीहरूको तर्फबाट प्रतिनिधिमण्डलले पर्साका प्रहरी उपरीक्षकसँग भेट गरी आफ्ना माग राखेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकले घटनाको सूक्ष्म र निष्पक्ष अनुसन्धान भइरहेको जानकारी दिए । “पोष्टमार्टम रिपोर्ट प्राप्त भएपछि अनुसन्धानले थप गति लिन्छ,” उनले भने, “मानिसको मृत्युजस्तो संवेदनशील घटनामा प्रहरी कुनै हालतमा चुक्दैन ।”

