काबिल सम्वाददाता
वीरगन्ज
१) गाउँपालिका, नगरपालिकाले २०८१ असार १० गतेभित्र आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा/नगरसभा पेश गरे/नगरेको ।
२) गाउँ कार्यपालिका/नगर कार्यपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभाबाट २०८१ असार मसान्तभित्र पारित गर/नगरेको ।
३) स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ मा घर जग्गा रजिष्ट्रशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम बार्षिक रुपमा न्यायिक प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको ।
४) स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी तत्सम्बन्धी विवरण २०८१ कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको लगायत १७ वटा राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगका सूचकाँकमा छन् । जुन मुलुकका हरेक पालिकाले त्यसलाई कार्यान्वयन गरेको हुनु पर्ने छ ।
पर्साको ठोरीले राज्यले तोकेका यस्ता सबै मापदण्ड पूरा गर्दै मधेश प्रदेशका पालिकाहरु मध्ये पहिलो भएको भेटिएको छ । उक्त सूचकाँकहरु सबै पूरा गरेकै कारण मधेश प्रदेशकै अब्बल पालिका सावित हुनु ठोरीवासीको लागि पनि गर्वको कुरा हो । त्यसै गरी लिजा तर्फ पनि ठोरीले सबै मापदण्ड कार्यान्वयनमा अग्रसरता देखाएर प्रदेशको दोस्रो र जिल्लाको पहिलो पालिका भएको पनि तथ्याँकले पुष्टि गरेको छ ।
के छन् लिजाका सूचकाँक
शासकीय प्रवन्ध
संगठन तथा व्यवस्थापन
वार्षिक बजेट तथा योजना व्यवस्थापन
वित्तीय एवं आर्थिक व्यवस्थापन
सेवा प्रवाह, न्यायिक कार्य सम्पादन
भौतिक पूर्वाधार
सामाजिक समावेशीकरण

स्थानीय तह संस्थागत क्षमता (लिजा) को उक्त मापदण्ड र राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगका सबै सूचकाँक पूरा गर्दै अगाडी बढेको ठोरी गाउँपालिका मधेशमा मात्र नभई देशमा नै नमूना पालिका बन्न अग्रसर हुनु आफैमा सकारात्मक कदम मानिन्छ । बुधबार ठोरी गाउँपालिकाले पालिकाका नागरिकसँग सार्वजनिक सुनुवाई गरी मुलुककै नमूना पालिका बन्ने लक्ष्य राख्नु राम्रो संकेत हो । राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगले तोकेका १७ सूचकाँक कार्यान्वयनमा मधेश प्रदेशका धेरै पालिका असफल पनि छन् ।
स्थानीय तह संस्थागत क्षमता (लिजा) तर्फ पनि प्रदेशमा दोस्रो पर्साको ठोरी गाउँपालिकाले पालिकाको समृद्धि र नमूना पालिकाका लागि चुस्त सेवा प्रदान गर्ने तर्फ खरो उत्रनु र जनमुखी सेवा प्रदान र पालिकाको समृद्धिका लागि कमजोरी सच्याउन तत्परता देखाउन अपरिहार्य रहन्छ । आफ्ना कमजोरी पहिल्याउन पालिका आफै सार्वजनिक सुनुवाई गर्न प्रायःः मधेश प्रदेशमा अग्रसर हुँदैनन् । तर पर्साको ठोरीले जनताको समृद्धि र हित अनि पालिकाको प्रतिष्ठाका तत्परता देखाएको पालिकाले पनि दावी गरेको छ ।
जिल्लामा पहिलो शिक्षा साक्षरता घोषित ठोरी
शिक्षा तर्फ कक्षा १२ सम्म पूर्णरुपमा निशुल्क शिक्षा प्रदान गर्दै आएको ठोरी गाउँपालिका पर्सा जिल्लाको पहिलो साक्षर पालिका घोषित भइसकेको छ । ठोरीले स्वास्थ्य र पर्यटनतर्फ पनि पालिकालाई १ नम्बरमा ल्याउने गरी थप कार्यसम्पादन गरिरहेको पालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । नागरिकको सेवा प्रदान र पालिकाको समृद्धिमा कुनै कसर बाँकी नराख्ने गरी कर्मचारी र जनप्रतिनिधिबीचको समन्वयात्मक कार्य र पालिकाका नागरिकको पनि सुझाव थप प्रभावकारी ठानी आमरुपमा नै सुझाव संकलनमा पालिका अग्रसर भएको पनि अध्यक्ष श्रेष्ठको तर्क छ ।
मधेश प्रदेश अन्तर्गतका पालिकाहरुमा रातु पहाड, सेतु पहाड जस्ता भौगोलिक मोहकताले भरिपूर्ण ठोरीले बार्षिक लाखौं आन्तरिक र भारतीय पर्यटकको पनि मन खिचिरहेको छ । यसलाई अझ सौन्दर्यीकरण र पर्यटकमैत्री वातावरण बनाई पर्यटन प्रवद्र्धनबाट ठोरीको समृद्धिको जग पनि अझ बलियो बनाउन प्रदेश र संघ सरकारसँगको समन्वय पनि तिव्र पार्दै अगाडी बढेको पालिकाका अध्यक्ष श्रेष्ठले दावी पनि गरे ।

यता जिल्ला प्रशासन र ईलाका प्रशासन कार्यालयले नागरिकता, राष्ट्रिय परिचय पत्र बनाउने जस्ता सुशासनका सामान्य काममा पनि पालिकाका नागरिकसँग १ हजारदेखि ९ हजारसम्म अवैध रकम लिएर हैरान पारेकोमा भने प्रशासन कार्यालयहरुलाई सुध्रिन उनले सुझाव पनि दिए । केही दिन अगाडी टोलका टेक बहादुर र गोरेरामका छोरीहरु ईलाका प्रशासन कार्यालय सुपौलीमा जाँदा एक–एक हजार घुस दिएपछि मात्र काम बनेको कुरा उनले सार्वजनिक सुनुवाईमा नै खुलासा गरिदिए । जिल्ला प्रशासन कार्यालय पर्साको पनि आयोजनमा गरिएको कार्यक्रममा उनले प्रशासन कार्यालयका रवि भन्ने कर्मचारीले सर्जमिन गर्ने बिषयमा पनि ९ हजार दिएपछि नपर्ने भनी सेवाग्राहीसँग अवैध रकम असुल्ने गरेको पनि अध्यक्ष श्रेष्ठले सर्वाङ्ग पारिदिए । यो कुरामा अधिकाँश सेवाग्राहीको समर्थन रह्यो ।
स्वास्थ्य तर्फ जिल्लामा पहिलो
स्वास्थ्यतर्फ प्रदेशको छैठौं र जिल्लाको पहिलो ठोरीलाई अझ अब्बल बनाउन स्थानीय नागरिकको सुझाव छ । सूचकाँकमा मधेशका अरु पालिकाभन्दा अब्बल ठोरीलाई अझ एक नम्बरमा नै टिकिराख्न रणनीतिक योजनासहित कार्य गर्न स्थानीय शिक्षक नारायण लामा, धर्मेन्द्र चौरसिया, महेन्द्र उपाध्यायलगायतका नागरिकको सूझाव पनि छ । हेमकृष्ण चापागाईंले सहजीकरण गरेको कार्यक्रममा शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले ठोरीले धेरै कुरामा राम्रो काम गरेको छ । तर ठोरीलाई यतिले मात्र नपुग्ने हुँदा चितवन, काठमाण्डौ र मकवानपुरको दाँजोमा शिक्षाको गुणस्तर लगायतमा पुग्ने गरी अगाडी बढ्नु पर्ने सुझाव दिए ।
सर्वसाधारणको भावनालाई अझ प्राथमिकतामा राख्दै ठोरीले यसैवर्षभित्र यहाँको मानीवस्तीमा ताल संरक्षण गरी पोखराको फेवा तालकै शैलीमा वडा नम्बर ४ र ५ मा मन्दिर सहितको ताल निर्माणको कार्य गर्ने ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरीले खुलासा गरे । यसको अलावा वडा नम्बर २ मा इको टुरिज्म पार्क र लाल पहाडमा चिल्ड्रेन पार्क मात्र नभई ठोरीमा यसैबर्ष भित्र आइटी कलेजको पनि काम अगाडी बढाइसकिएको पनि उनले बताए ।
ठोरी–४ का वडाध्यक्ष मानबहादुर थिङ्गको सभापतित्वमा भएको कार्यक्रममा ठोरीको उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार गुप्ता, वडा नम्बर २ का वडाध्यक्ष अमृतकृष्ण सापकोटा, नेपाल पत्रकार महासंघ पर्साका निवर्तमान उपाध्यक्ष युवराज खड्का लगायतले पनि सबै सम्पादित काम राम्रैमात्र नहुन सक्छन्, त्यसलाई सुधार्न आम नागरिकको सुझाव आवश्यक पर्नेमा जोड दिए ।
प्रतिक्रिया लेख्नुहोस्

