spot_img

ताजा अपडेट

ओभरलोडका भारतीय सवारीबाट साना ढुवानी व्यवसायी पीडित

आकृती चौधरी 
   वीरगन्ज
पछिल्लो समय नेपाल भारत संयुक्त भन्सार जाँच चौकी (आइसिपी) सम्म ओभर लोडका भारतीय नम्बर भएका ट्याक्टर र साना सवारीको विगविगी मात्र छैन । मापदण्डभन्दा बढि सामान बोकेको ती सवारी सीधै यहाँका ट्रान्सपोर्ट, गोदाम र उद्योगसम्म निर्वाध गइरहेका पनि छन् । ओभर लोड भारतीय सवारीले यताका साना सवारीको रोजगारी भने धरापमा पारेको हो ।
मालबस्तु ढुवानीको नाममा नेपाली रकम समेत सीधै सीमा उपार पुग्ने गरेको रहस्य पनि साना व्यवसायीहरुले खोले । स्थानीय ट्राफिक प्रहरीको अवैध आर्थिक कमाउ धन्दा पनि यो प्रकृयामा जोडिने गरेको उनीहरुको आरोप छ । भारतीय नम्बरका ओभर लोड ट्याक्टरसँग ट्राफिकले १ हजार आइसी र सानो पिकअफ भ्यानसँग ५ सय आइसी लिएपछि उताका ओभर लोड सवारी नेपाली बजारमा छ्याप्छ्याप्ती भएको पनि नेपाली ढुवानी व्यवसायीको तर्क छ ।
भारतीय सवारीको सीमावारी विगविगी
आयातले धानेको मुलुकमा मालवाहक सवारी धनी आफ्नो लगानी जोगाउन तड्पिरहेको पाइएको छ । भारतीय नम्बर प्लेटका सवारी नेपाली बजार र रोडसम्म पहुँच राख्न थालेपछि नेपाली सवारी व्यवसायी मात्र पीडित नभई ती सवारीका चालक, सह चालकको रोजगारी पनि गुम्ने खतरा बढेको पाइएको हो । स्थानीयस्तरमा ढुवानीको काम गर्दै आएका ना ७ ख ५७३८ नम्बरको पिकअफ भ्यान संचालक नरेश रामले पनि तथ्य बताए । सवारी नै चल्न छोडेपछि बैंकको व्याज तिर्न नसकेर आफू लगायत धेरैको घर जग्गा लिलाम भई रोडमा पुग्ने अवस्था आएको उनले दावी छ । साना सवारी संचालक राम मात्र नभई स्थानीय ट्याक्टर संचालक सराजुल हक, मुस्ताक आलमलगायतको पनि गुनासो अझ छ ।
भन्सार कर्मचारीको तर्क हामी केही गर्न सक्दैनौं 
भारतीय नम्बरका साना सवारी आइसीपीसम्म मात्र नभई प्रज्ञापन पत्रमा उल्लेख भएका ठाउँसम्म जाँदै गरेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारी बताए । प्रज्ञापन पत्रमा कहाँसम्म जाने उल्लेख हुन्छ, त्यहाँसम्म हामीले रोक्न मिल्दैन उनले भने । ओभर लोडका सवालमा जिल्ला ट्राफिकले जान्ने कुरा भएको उनको तर्क छ । उता सडकमा खटेका ट्राफिकका लागि भने ओभर लोड लिएर हिडेकै सवारी आम्दानीको श्रोत भएपछि उनीहरुका लागि नेपाली सवारीभन्दा भारतीय सवारी नै रोजाइमा पर्ने गरेको खुलेको छ ।
पर्सा ट्राफिकले भने राजस्व संकलन वाहेक कुनै पनि सवारीलाई दण्डित नगरिएको दावी गरेको छ । चिट काटेर लिएको पैसा पनि सीधा राजश्वमा जम्मा हुने पनि पर्सा ट्राफिक प्रमुख प्रहरी निरिक्षक लोकराज भट्टले दावी गरे । पछिल्लो समय ओभर लोड भेटिए सिधा यातायात व्यवस्था कार्यालयमा पठाई त्यहीबाट राजस्व बुझेर प्रकृया अगाडी बढाइन्छ । विगतमा जस्तो सेवाग्राहीको आरोप मित्थ्या रहेको उनको दावी छ । गएको भदौ महिनाको २२ गतेसम्ममा मात्र त ओभर लोड भएका सवारीलाई दण्डित गर्दा २१ लाखभन्दा बढी राजस्व यातायात व्यवस्था कार्यालयमा नै संकलन भएको तथ्याँक समेत ट्राफिकसँग रहेको पनि पर्साका ट्राफिक प्रमुख भट्टको दावी छ ।
साना सवारी संचालकको घरजग्गा गुम्ने खतरा
नेपाली मालवाहक साना सवारी खरिद गरी नेपालमै केही व्यवसाय गर्दै जिविकोपार्जन गर्न चाहने सवारी संचालकलाई भने आर्थिक नगरी वीरगन्जमा नै चल्न धौ–धौ भएको स्थानीय विजय पटेलले पनि बताए । आयात निर्यातको केन्द्र वीरगन्ज नगरीकै साना सवारी संचालकलाई यो समस्या हुनु राम्रो संकेत नभएको उनको भनाइ छ ।
आर्थिक नगरी भित्रका साना व्यवसायीलाई मुलुक भित्र केही गरेर बालबच्चा पालनपोषण गर्न उताका मालवाहक सवारीको आगमनले सकस भएको स्थानीयको पनि तर्क छ । यता थप ढुवानी पनि उनीहरुले नै गरिदिए पछि नेपाली साना सवारी व्यवसायी मारमा परेको पनि उनीहरुको तर्क छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ