spot_img

ताजा अपडेट

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

काबिल सम्वाददाता
वीरगन्ज
वीरगन्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्वः पार्क” को नामले चिनिने भएको छ । वीरगन्ज महानगरपालिकाले चिल्डे«न पार्कलाई शनिबार विशेष समारोह गर्दै औपचारिक रूपमा शंखधर शाख्वः पार्कको रुपमा उद्घाटन गरिएपछि यो पार्कको नाम परिवर्तन भएको हो ।
नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवले बेलुन र ल्याम्प उडाएर पार्कको उद्घाटन गरेका छन् । लामो समयदेखि बन्द रहेको यो पार्क फेरि सर्वसाधारणका लागि खुला गरिएको छ । यसअघि १९ कट्ठा क्षेत्रफलमा रहेको पार्कलाई अतिक्रमण हटाउँदै विस्तार गरी अहिले करिब २ विघा नजिक पु¥याइएको वीरगन्ज महानगरपालिकाले दावी गरिएको छ । महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहकै अगुवाईमा यो पार्कको नाम पनि परिवर्तन गरिएको छ । पार्कस्थित जग्गामा अझै केही अतिक्रमण हटाउन अदालती प्रक्रियाले नसकिएको पनि महानगरको भनाइ छ ।
करिब १ करोड २५ लाख रुपैयाँ खर्च गरेर पार्कको पूर्वाधार निर्माण तथा सौन्दर्यकरण गरिएको वीरगन्ज महानगरपालिकाले जनाएको अब पार्कमा पानीको फोहोरा, खुला मञ्च, वनभोज स्थल, नृत्य स्थल, टेबल टेनिस कोर्ट, योग स्थल र प्रभात यात्रा गर्न मिल्ने ट्र्याकसहितको सुविधा उपलब्ध गराइएको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले दावी गरेका छन् ।
यस अघि ‘चिल्ड्रेन पार्क’ भनेर चिनिने यो पार्कको नाम अहिले परिवर्तन गर्दै ऐतिहासिक एवं सामाजिक योगदानका लागि चिनिने शंखधर शाख्वः को नाममा नामाकरण गरिएको महानगरप्रमुख सिंहको दावी पनि छ । उनी नेपालमा पहिलोपटक साझा अर्थतन्त्रको अवधारणा ल्याउने समाजसेवीका रूपमा चिनिन्छन् । वीरगन्ज महानगरपालिकाले शंखधरको योगदानको सम्मानस्वरूप पार्कलाई उहाँको नाममा समर्पण गरेको पनि जनाइएको छ ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार यो पार्क केवल सौन्दर्यकरणको परियोजनामा मात्रै नभइ, यो वीरगन्जवासीको सामूहिक जीवनशैली र सांस्कृतिक पहिचानसँग जोडिएको साझा थलो पनि भएको उनको भनाइ छ । शंखधर शाख्वः पार्कलाई हामी मनोरञ्जन, स्वास्थ्य र समुदायको मुटु बनाउनेछौं उनले भने । यसले हाम्रो संस्कृतिलाई सम्मान गर्दै समृद्ध नगर निर्माणको दिशामा योगदान पु¥याउनेछ उनले थपे ।
पार्क हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म खुला रहनेछ प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले बताए । लामो समयसम्म पार्क बन्द हुँदा नागरिकले चाँडो खुलाउन आग्रह गरेका थिए । अब यसको पूर्णता पाएपछि सर्वसाधारणले बिहानको हिँडाइदेखि लिएर साँझको शारीरिक क्रियाकलाप, बालबालिकाको खेल, र पारिवारिक वनभोजसमेत यही पार्कमा गर्न सक्ने उनको भनाइ छ ।
शंखधर शाख्वः पार्कको औपचारिक पुनः सञ्चालनसँगै वीरगन्जमा खुला, हरियाली र व्यवस्थित सार्वजनिक स्थलको अभाव पूर्ति हुने विश्वास महानगरको छ । नगरवासीले यसलाई आफ्नो पार्कझैं संरक्षण र उपयोग गर्ने अपेक्षा पनि नगरपालिकाले लिएको पनि प्रमुख प्रशासकीय अधिकृत कर्णको भनाइ छ । उद्घाटन कार्यक्रममा वीरगंजका सर्वसाधारण नागरिक अगुवाहरुको पनि सहभागीता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ