तुलसी भण्डारी
पर्सा ।
ओसार–पसार, प्रयोग र कारोबारलाई न्यूनिकरण गर्ने उद्देश्यले सोमबार पर्साको वीरगन्जमा पनि लागु औषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । लागु औषधको कारोवार, प्रयोग र ओसार–पसार हरेक बर्ष बढिरहेको सन्दर्भमा यसको न्यूनिकरण गर्ने उद्देश्यले पर्साको वीरगन्जमा पनि यो दिवस मनाइएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साकै अगुवाईमा यहाँको सशस्त्र प्रहरी नेपाल प्रहरीको समेत सकृय सहभागीतामा सोमबार दिवसकै दिन बिहान जनचेतनामुलक ¥याली, दिउसो पर्साका सबै पालिकाका वडाध्यक्ष र समाजका अगुवाहरुसँग अन्तरकृया र साँझमा दिप प्रज्वलित गरी अन्तर्राष्ट्रिय लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवस मनाइएको छ । दिवसको क्रममा सीमावर्ती शहर वीरगन्जमा गरिएको अन्तरकृयामा सार्वजनिक तथ्याँक अनुसार पर्सामा हरेक बर्ष लागु औषध प्रयोगकर्ता र ओसार–पसार गर्नेको संख्या बढेको पाइएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीले पर्सामा लागु औषधको कारोवार र प्रयोग कर्ताको पछिल्लो अवस्थाको बारे तथ्याँक प्रस्तुत गरेका थिए । सो तथ्याँक अनुसार यो जिल्लामा मात्र गएको आर्थिक बर्ष मात्रै ३ सय ९४ जना मानिस लागु औषध प्रकरणमा पक्राउ परेको देखिएको हो । जसमा ३ सय ८० पुरुष र १४ जना महिला रहेको प्रहरी नायव उपरिक्षक गिरीले बताए । खुल्ला सीमा भएको कारण खास गरी नेपाली युवाहरु तयारी अवस्थाको लागु औष प्रयोग र ओसार–पसारमा बढि संलग्न रहेको खुलेको छ । जसमा सीमा पारी भारतमा तयारी अवस्थामा पाइने लागु औषध फेनार्गन, डाइजील्याब, नर्फिन, नाइट्रोभेट ट्यावलेट र कोरेक सबैभन्दा ठूलो परिणाम सहित नेपाली र भारतीय नागरिक पक्राउ परेको तथ्याँकले देखाएको छ । पक्राउ परेका व्यक्तिको साथबाट गएको आर्थिक बर्षमात्र फेनार्गन ७ हजार २ सय ७३ पिस, डाइजील्याब १० हजार २ सय ६५ पिस, नर्फिन ८ हजार ६ सय २३ थान, नाइट्रोभेट ट्यावलेट २५ हजार ३ सय २८ पिस र कोरेक्स १०० एमएलको बोत्तल ४ हजार ५ सय ४६ थान बरामद भएको पर्सा प्रहरीको तथ्याँकले पुष्टि गरेको छ ।
अघिल्लो आर्थिक बर्ष ०७८।०७९ मा भने गएको आर्थिक बर्षभन्दा कम बरामद भएको देखिएको छ । तथ्याँक अनुसार ०७८।०७९ मा फेनार्गन ५ हजार ३ सय ६० पिस, डाइजील्याब ४ हजार १ सय ६८ पिस, नर्फिन ४ हजार २ सय ५३ थान, नाइट्रोभेट ट्यावलेट १५ हजार ६ सय ४२ पिस र कोरेक्स १०० एमएलको बोत्तल १ हजार ६ सय १३ थान बरामद भएको छ । यसरी तथ्याँकमा नै ठूलो फरक पर्ने गरी भारतमा तयारी अवस्थामा रहेको लागु औषध बरामद हुने र यसको प्रयोग, कारोवार र ओसार–पसार हुनुमा शहरी जीवनशैली, प्रविधिको गलत प्रयोग र अभिभावकको श्रमको महत्व नबुझ्ने सन्तति भएको कारण रहेको पनि खुलेको छ ।
गएको आर्थिक बर्ष ०७९।०८० मा पर्सा प्रहरी मातहत पक्राउ परेका व्यक्ति र बरामद सामानका आधारमा अनुसन्धान पश्चात २ सय ६९ वटा मुद्दा दर्ता भएको पाइएको छ । जबकी अधिल्लो आर्थिक बर्ष पर्सामा यो संख्या पनि २ सय ३७ मात्र थियो । यसरी हरेक बर्ष लागु औषधसँग जोडिने व्यक्ति र संख्याले नेपालका युवायुवति, यहाँको समाज, वडा र पालिका र मुलुकलाई नै बचाउन तल्लो तहबाट नै सजगता अपनाई नीतिगत र कार्यान्वयन तहमा पनि सुधार गर्नै पर्ने बाध्ययता रहेको छ । फलतः दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले जनताको घरसँगैको सरकारका प्रतिनिधि वडाध्यक्षहरुलाई कार्यक्रममा बिषेश सहभागी गराइएको घनिभूत अन्तरकृया गरेको छ । अन्तरकृयामा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अहिले देखिएको तथ्याँकलाई न्यूनिकरण गर्ने पर्ने बाध्यता सबै सामु आइपरेको बताए । लागु औषधको जालो जति फैलियो त्यसले युवाको भविष्य मात्र नभई व्यक्ति, परिवार, समाज र देशलाई नै बर्बाद बनाउने बताए । पर्साका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कोमल शाहले प्रहरी र जनप्रतिनिधि तथा समाजका अगुवा सबैको सहकार्यले मात्र लागु औषध प्रयोग, ओसार–पसार र कारोबार न्यूनिकरण सम्भव हुने बताए । एकले अर्कोलाई दोष लगाएर भन्दा पनि समाजका सबै सरकोकारहरुको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा सहभागी वडाध्यक्षहरु मध्ये वीरगन्ज–४ का वडाध्यक्ष जगत साह कानू, ५ का वडाध्यक्ष प्रदिप चौरसिया, २६ का वडाध्यक्ष शम्भु मिश्र, वडा नं. २० का अनिरुद्ध सिंह पराग, छिपहरमाईका दिपेन्द्र कुमार सिंह, पकाहा मैनपुरका ढेडी प्रसाद यादव, उद्योगी अशोक बैद्य, सामाजिक अगुवा कमल चौगाई, ग्रिनसिटी सामुदायिकका जय प्रकाश खेतान लगायतले आफूहरु लागु औषधको न्यूनिकरणका लागि सचेतना फैलाउने, लागु औषधको प्रयोग र प्रकारका गतिविधि हुने ठाउँ पहिचान गर्ने र प्रहरी प्रशासनसँग पनि सहकार्य गर्ने सबै कार्यमा साथमा साथ दिने बताएका थिए । कार्यक्रमा सशस्त्र प्रहरीका गण नम्बर १३ का प्रमुख, नेपाली सेनाको वीरगन्जका गणपति लगायत पर्साका विभिन्न प्रहरी युनिटमा प्रहरी अधिकृतहरु र संचारकर्मीहरुमो समेत उपस्थिति रहेको थियो ।