तुलसी भण्डारी, वीरगन्ज। ज्योति समूहले संचालन गरेको उद्योग जय स्पिनिङ्ग मिल्स प्रा.लि.मा कार्यरत श्रमिकहरुले विभिन्न माग राखी पर्साका प्रमुख जिल्ला अधिकारी र श्रम तथा रोजगार कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका छन् । पर्सास्थित वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३२ लालपर्सामा अवस्थित सो उद्योगका श्रमिकहरुले बिभिन्न माग राखी बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारी र श्रम कार्यलय पर्सामा ज्ञापन पत्र बुझाएका हुन् ।
जय मिल्समा विगत ९ बर्षदेखि कार्यरत श्रमिकहरुले अझै ज्यालादारीमा काम गर्नु पर्ने बाध्यताका बीच श्रमिकहरुले समयमा पारिश्रमिक पाउनु पर्ने, वार्षिक विदाको रकम उपलब्ध गराउनु पर्ने, नियमित रोजगार पत्र दिनु पर्ने र महिला श्रमिकलाई शौचालय सहित विश्राम गृहको व्यवस्था गरिनु पर्ने माग श्रमिकले व्यवस्थापन पक्षसँग माग गर्न थाले पछि विवाद सुरु भएको खुलेको छ । व्यवस्थापन पक्षसँग छलफलका लागि गएका सुभाष साह सहित ७ जना श्रमिकलाई तयसलगत्तै उद्योगको गेटमा एक्कासी रोक्ने कार्यले उत्पन्न विवादले श्रमिकहरु पनि बाध्य भई जिल्ला प्रशासन र श्रम तथा रोजगार कार्यालयसम्म पुगेको त्यहाँका श्रमिकहरुले बताए । सो कार्यपछि ती अगुवा श्रमिकहरुलाई व्यवस्थापन पक्षले धरपकड गराउनु, श्रमिक विरुद्धमा प्रहरी प्रशासन प्रयोग गरी दमन गर्नु निन्दनीय रहेको श्रमिकको गुनासो छ ।
श्रम ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी शान्तिपुर्ण गतिविधि गरी रहेको अवस्थामा उद्योग व्यवस्थापक पक्षको एकपक्ष्ीाय कुरा सुनेर प्रहरी प्रशासनबाट निहत्था श्रमिकहरु प्रति निर्मम कुटपिट र धरपकडको घटना समेत भई सुभाष साह, अखिलेश यादव, अरवाज मिया, जानकीदेवी चौधरी, ज्योती चौधरी र मुना पटेल लगाएतका श्रमिक घाइते हुने घटना प्रति खेद जनाउँछौं भनी त्यहाँका श्रमिकले तर्क गरे । अझ घाइते श्रमिक साहलाई हिरासतमा लिई अझै नछोड्नु स्वदेश भित्र उत्पादनसँग जोडिएका श्रमिक विरुद्ध राज्यले समेत निन्दनीय कार्य गर्नु हाम्रो निश्कर्ष रहेको समग्र उद्योग ट्रेड युनियन नेपालका केन्द्रिय अध्यक्ष आनन्द थामीले बताए । उद्योगका श्रमिकहरुसँग जिल्ला प्रशासन कार्यालयमा भेटिएका उनले राज्य र उद्योगीले नेपाली श्रमिकहरु प्रति गर्ने व्यवहार सधै क्रुर रहेको उनको तर्क छ । उद्योगमा उत्पन्न विवाद समाधान गर्नुको साटो व्यवस्थापन पक्षका ठेकदारहरुले उल्टै उद्योगमा तोडफोड गरी श्रमिकलाई फसाउने कार्य गर्नु निन्दनीय रहेको पनि अध्यक्ष थामीले बताए ।
उत्पन्न विवाद समाधानका लागि ठोस पहल गर्नुको साटो घाइते श्रमिकको उपचार गर्न, हिरासतमा रहेका घाइते सुभाष साहको रिहाई गर्न, गेट रोक्का गरेका ७ जना श्रमिकलाई काममा वहाली गर्न र श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७५ लागु गरी श्रमिकले पाउनु पर्ने सेवा सुविधा लागु गर्न श्रमिकहरुले माग गरेका छन् ।
श्रम ऐन २०७४ मा करार सम्वन्धी व्यवस्था नै नरहेको अवस्थामा कार्यरत श्रमिकलाई नियमित रोजगार पत्र दिई सो सरह सेवा सुविधा दिनुको साटो उद्योगको मुख्य काममा कार्यरत श्रमिकहरुलाई श्रम ऐन २०७४ विपरित ६÷६ महिनामा करारमा काम लगाउँदै आएको श्रमिकहरुको गुनासो छ । यो कार्य प्रचलित कानुनको ठाडो उल्लघंन भएको समग्र उद्योग ट्रेड युनियन नेपालका प्रदेश अध्यक्ष हेमराज न्यौपानेले बताए ।
सामाजिक सुरक्षा वापत उपदान, संचयकोष लगायतका सुविधा उपलब्ध गराउनु पर्नेमा हालसम्म नगरेको, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हामी कार्यरत श्रमिकहरुलाई सूचिकरण नगरेको र सामाजिक सुरक्षा कोषमा सूचिकरण नभएको कारण कोषद्धारा श्रमिकले पाउने आधारभुत सुविधाहरुबाट बञ्चित गरिनु घोर अन्याय भएको उनको तर्क छ ।
श्रम ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी शान्तिपूर्ण गतिविधि गरिरहेको अवस्थामा गएको मंगलबार उद्योग व्यवस्थापक पक्षको एकपक्षिय कुरा सुनेर प्रहरी प्रशासनबाट निहत्था श्रमिकहरु प्रति निर्मम कुटपिट र धरपकडको घटना गरी श्रमिक सुभाष साह, अखिलेश यादव, अरवाज मिया, जानकीदेवी चौधरी, ज्योती चौधरी र मुना पटेल लगाएतका श्रमिक घाइते रहेको र घाइते श्रमिक सुभाष साहलाई उल्टै हिरासतमा राख्ने कार्यले देश विकास र समृद्धिका संवाहक श्रमिक वर्ग प्रति राज्य र रोजगारदाताबाट गलत बाटोमा हिडेको प्रदेश अध्यक्ष न्यौपानेको तर्क छ।
ज्ञापन पत्रको बोधार्थ श्रमिकहरुले श्रम तथा रोजगार कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगन्ज उद्योग बाणिज्य संघ, श्री ह्वीन केन्द्रिय कमिटि, काठामाण्डौ र जिफन्ट मधेश प्रदेश प्रदेश कमिटिमा पनि दिएका छन् ।