spot_img

ताजा अपडेट

पाठेघर मुखको क्यान्सर संक्रमण दर उच्च ः डा सिंह

काबिल सम्वाददाता
    वीरगन्ज
महिलाको पाठेघरमा हुने क्यान्सर रोगको संक्रमण दर निकै उच्च रहेको पाइएको छ । नसर्ने रोगको प्रकोप अध्याधिक बढेको वर्तमानमा महिलाको पाठेघरमा हुने क्यान्सर रोगको संक्रमण दर पनि उच्च रहेको पाइएको हो ।
पर्साको सदरमुकाम वीरगन्ज महानगरमा पहिलो पटक ‘शहर केन्द्रित पाठेघर मुखको सर्भाइकल क्यान्सर परिक्षण’ शिविर संचालन गर्दा यहाँका महिलाहरुको पनि पाठेघर सम्बन्धी हुने संक्रमण दर सामान्य नभएको परीक्षणमा सम्लग्न डा स्वेता सिंहले बताइन् । महिलाहरुको आँग खस्ने समस्या, पाठेघरको मुखको सर्भाइकल क्यान्सर, अब्ष्टेट्रिक फिष्टुला (दिशा पिसाब चुही राख्ने समस्या) र महिलाको प्रजनन् स्वास्थ्यको उपचार सम्बन्धी शहर केन्द्रित स्वास्थ्य शिविर वीरगन्ज महानगरका विभिन्न ७ ठाउँमा संचालन गरिएको छ ।
गएको बैशाख ११ गतेदेखि बुधबार २३ बैशाखसम्म महानगरको वडा नम्बर २९, २८, २०, १७, ११, १८ र १४ मा संचालन गरएको शिबिरमा १ हजारभन्दा बढि महिलाहरुले सेवा लिएको कार्यक्रमको फोकल पर्शन वीरगन्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा जनस्वास्थ्य प्रवद्र्धन शाखाका सिनियर अनमी तथा निरिक्षक इन्दिरा लोहनीले बताइन् । सबै शिविरमा सहभागी भई १ हजार बढी महिलाको पाठघर सम्बन्धी मुखको सर्भाइकल क्यान्सर परीक्षण गरिएको उनको भनाइ छ ।
संक्रमित दर तीब्र
स्वास्थ्य परिक्षण गर्ने डा.स्वेता सिंहका अनुसार सयमा ६० प्रतिशतभन्दा बढि महिलामा पाठेघर सम्बन्धी विभिन्न किसिमको सक्रमण देखिएको छ । बुधबार पनि उनी वीरगन्ज महानगरपालिका वडा नम्बर १४ को चिनीमिलस्थित स्वास्थ्य चौकीमा बिरामी परीक्षण गरिरहकी थिइन् । सो क्रममा डा सिंहले संक्रमित संख्या बढि भेटिनु निकै बिडम्बनापूर्ण स्थिति भएको तर्क गरिन् ।
महिलाहरु लाजले पनि धेरैले समयमा नै परीक्षण नगराउँदा पछि ढिलो भई संक्रमण दर विभिन्न चरणमा पुग्ने गरेको स्वास्थ्यकर्मीहरुको दावी छ । लाजले गर्दा महिलाहरु सुरुमा खुलेर नआउँदा संक्रमण हुनेको दर उच्च रहेको डा.सिंहले पनि तर्क गरिन् । परीक्षणका क्रममा भीआइए पोजेटिभ, सिआइएन १, सिआइएन २, सिआइएन ३ र कार्सिनोमा इनसिटा क्यान्सर सर्सिक्स रहेको पाइएको छ । समग्रमा हेर्ने हो भने यो निकै भयावह अवस्था हो उनले भनिन् । कुनै–कुनै शिविरिमा त एकसय जना महिलाको स्वास्थ्य परीक्षण गर्दा ९० प्रतिशतसम्ममा संक्रमण भेटिएको पनि उनको तीतो अनुभव छ ।
प्रचार प्रसारमा जोड दिई शिविर संचालन गर्दा एउटा शिविरमा करिब एक सयदेखि २ सयसम्म महिलाहरु स्वास्थ्य परीक्षण गराउन आएकोले चिनीमिल स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थ्यकर्मी सचिदानन्द जयसवाल काबिल खबरलाई बताए । गएको बैशाख ११ गतेदेखि बुधबार बैखाख २३ गतेसम्म वीरगन्ज महानगरको विभिन्न ७ ठाउँमा महिलाहरुको पाठेघर सम्बन्धी मुखको सर्भाइकल क्यान्सर परीक्षण कार्यक्रम पहिलो पटक शहर केन्द्रीत संचालन गरिएको उनको भनाइ छ । डब्लुएचओका अनुसार वर्षमा २ पटक महिलाहरुले यस्तो स्वास्थ्य परीक्षण गराउनु पर्नेमा महानगरमा ३ वर्षको पहलमा बल्ल शिविर संचालनमा गर्न सकिएको वीरगन्ज १४ मा रहेको स्वास्थ्य चौकी प्रमुख जयसवालले तर्क गरे ।
पछिल्लो समयमा क्यान्सरबाट निधन हुने मानिसको संख्या ह्वात्तै बढेको र त्यसमा पनि महिलाहरुको पाठेघरमा क्यान्सर हुनेको संख्या उच्च देखिनुले अब महिलाहरुले निर्धारित अवधिमा नियमित पाठेघरको मुखको परीक्षण गराउनु पर्ने अवस्था आएको महिला स्वास्थ्यकर्मीहरुको सुझाव छ ।
वीरगन्ज महानगरको वडा नम्बर १३, १४ र १५ नम्बरका महिलाहरुलाई घर–घरमा पुगी शिविरमा आउन आह्वान गरिएको सामाजिक महिला स्वास्थ्य सेविका प्रितिकुमारी पटेलले बताइन् । टोलटोलमा पुगी १०–१५ जनाको महिला समूह बनाई पर्चा सहित जानकारी गराएर शिविर संचालनमा आउन आह्वान गर्दा उल्लेख्य मात्रामा महिलाहरु स्वास्थ्य परीक्षण गराउन आइपुगेको उनको भनाइ छ ।
महानगरका ७ ठाउँमा शिविर 
महिलाहरुको आँग खस्ने समस्या, पाठेघरको मुखको सर्भाइकल क्यान्सर, अब्ष्टेट्रिक फिष्टुला (दिशा पिसाब चुही राख्ने समस्या), प्रजनन् स्वास्थ्य (तल्लो पेट) सम्बन्धी  समस्याहरुको लागि स्क्रीनिङ्ग (जाँच) संचालन कार्यदिशा बनाई महानगरले आफ्नै सकृयतामा शहर केन्द्रित स्वास्थ्य शिविर संचालन गरिएको कार्यक्रमको फोकल पर्शन वीरगन्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा जनस्वास्थ्य प्रवद्र्धन शाखाको लोहनीले बताइन् । महानगरको बस्डिलवा स्वास्थ्य चौकीमा गएको बैशाख ११ गतेबाट सुरु भएको महिला स्वास्थ्य शिविर बैशाख १३ गते बगही प्राथमिक स्वास्थ्य केन्द्रमा, बैशाख १५ गते हरपतगंज स्वास्थ्य चौकीमा, बैशाख १७ गते अलौ स्वास्थ्य चौकीमा, १९ गते बैशाखमा नगरस्वास्थ्य केन्द्र रानीघाट हुँदै बैशाख २१ गते भवानीपुर स्वास्थ्य चौकी र बुधबार २३ बैशाखमा वीरगन्ज चिनीमिलस्थित स्वास्थ्य चौकीमा संचालन गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ