spot_img

ताजा अपडेट

अन्ततः त्रिभुवन राजपथमा पर्ने वीरगन्ज बजारका घर भत्काइए

काबिल सम्वाददाता
वीरगन्ज
आर्थिक नगरी वीरगन्जको ऐतिहासिक रुप भत्किएको छ । त्रिभुवन राजपथ अन्तर्गत मितेरी पुलदेखि उत्तर गण्डक नहरसम्मको वीरगंज बजार क्षेत्र रहेको सडकखण्डमा पर्ने छेउका घरहरुमा सडक विस्तार आयोजनाका डोजर चलेपछि वीरगन्जको ऐतिहासिक रुप भत्किएको हो ।
वीरगन्ज बजार क्षेत्रको बीचमा पर्ने त्रिभुवन राजपथको विकल्पमा आइसिपि र बाईपास सडक बनिसकेको दावी सहित सर्वोच्च अदालतसम्म मुद्धा दायर हुँदा १३ वर्षदेखि यो सडक विस्तार रोकिएको थियो । अदालतले गएको फागुनमा सो मुद्धा खारेज गरेपछि भने सडक विस्तार आयोजनाले वीरगन्ज बजार क्षेत्रको सडकका घर टहरामा आईतबार डोजर चलाई आर्थिक नगरी वीरगन्जको रुप भग्नावसेशमा परिणत गरेको छ । सडकको बीच भागबाट २५÷२५ मिटर दाया बाया तोडिन थालेपछि साबिकको वीरगन्ज बजारको स्वरुप नै अब बदलिने भएको हो ।
शनिबार जिल्ला प्रशासन कार्यालय पर्सामा उच्चस्तरीय बैठक बसी बैशाख ६ गते बिहानबाट सडक विस्तार गर्ने निर्णय भए अनुसार आइतबार काम पनि चालु गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । सरोकारवाला निकायहरूबीच समन्वय बैठक भइसकेकोले काम पनि अगाडी बढाईएको उनको भनाइ छ ।


वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक मोहन केसी लगायत नेपाली सेना, सडक डिभिजन कार्यालय, नापी, टेलिकम, खानेपानी संस्थान र विद्युत प्राधिकरणका प्रमुखहरूको उपस्थिति शनिबार स्थानीयस्तरमा पनि समन्वय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । बैठकमा सडक विस्तार अभियान सञ्चालनका क्रममा आवश्यक सुरक्षा व्यवस्था, प्राविधिक तयारी तथा सम्बन्धित निकायबीचको समन्वयका विषयमा विस्तृत छलफल भएको थियो ।
बैठकले विस्तार कार्यलाई प्रभावकारी र व्यवस्थित रूपमा अगाडि बढाउन अन्तिम तयारी भए अनुसार वीरगन्जको मुख्य सडक विस्तारसँगै ट्राफिक व्यवस्थापन सुधार र शहरी पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने दावी सहित त्रिभुवन राजपथ सडक विस्तार अगाडी बढाईएको दावी गरिएको छ । वीरगन्जको मेनरोड विस्तारका लागि डोजर, जेसीबी र एक्साभेटर गरी एकदर्जन जति उपकरण एकैबार रोडमा उतारिएको थियो ।
पसलका सामान समेत निकाल्न दिइएन
वीरगन्जवासीले भने घर पसलका सामान निकाल्ने मौका समेत नदिएको भनी आक्रोस पोखेका छन् । सडक विस्तार रोक्न भनेका थिएनौ तर सूचना नदिई तोडफोड गर्नु आतताई शैली भएको वीरगन्ज महानगरका पूर्व अध्यक्ष विजय कुमार सरावगीले बताए । सडक विस्तारका क्रममा उनको पनि घर तोडफोडमा परेको छ । उनले काम गराईको शैली सकारात्मक नभएको पनि दावी गरेका छन् । सडक खण्डमा घरपर्ने एक हजार साढे ३ सय सर्वसाधारणका घर मध्ये ५० प्रतिसत जतिले अन्यत्र बिकल्प बनाइसकेको खुलेको छ । बाँकी ५० प्रतिसत जतिमा धेरैको उठिवास भएको पीडित मध्ये वीरगन्ज ९ का वडा अध्यक्ष समेत रहेका जवाहर प्रसाद गुप्ताले दावी गरे । सुदेश लाखे सहित कतिपय पीडितले बोल्न नसकी कण्ठ अवरुद्ध पार्दै बाबु बाजेको आर्जित सम्पति र लालपुर्जा भएर पनि राज्यको बलमिचाईले आफूहरु अन्यायमा परेको दावी गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ