spot_img

ताजा अपडेट

नयाँ बसपार्कमा जथाभावी पार्किङमा कडाई

वीरगंज, २४ वैशाख । वीरगंज महानगरपालिकाले नयाँ बसपार्क क्षेत्रमा फैलिएको जथाभावी पार्किङलाई व्यवस्थित गर्न कडाइका साथ अभियान शुरू गरेको छ । पछिल्लो समय बस, सुमो तथा अन्य सार्वजनिक सवारीसाधनहरू मनपरी रूपमा पार्किङ गरिँदा बसपार्क अस्तव्यस्त बन्न थालेको गुनासो आम नागरिक तथा यात्रीहरूबाट आएको थियो । पार्किङ अव्यवस्थाले यात्रीहरूलाई आवतजावतमा अप्ठ्यारो हुने, ट्राफिक जाम सिर्जना हुने र सार्वजनिक स्थानमा अव्यवस्था बढ्ने जस्ता समस्या देखिन थालेपछि महानगरले टोली परिचालन गरी व्यवस्थापनको पहल थालेको हो । महानगरपालिकाको टोलीले लामो समयदेखि संचालनमा नरहेका र बेवारिसे रूपमा बसपार्कमै छाडिएका दुर्ई वटा बसहरूलाई क्रेनमार्पत डोरीले तानेर हटाएको छ । ती बसहरू कुनै चालक वा सवारीधनीको सम्पर्कबिना बसपार्कमै थन्क्याइएको अवस्थामा थिए । यसरी सवारी साधनहरू छाडेर बेवास्ता गर्नेलाई कारबाही गर्ने चेतावनी पनि महानगरले दिएको छ । महानगर प्रमुख राजेशमान सिंहले बसपार्क सार्वजनिक सम्पत्ति भएकाले यसलाई व्यवस्थित, सुरक्षित र यात्री–मैत्री बनाउने दायित्व महानगरले लिएको स्पष्ट पार्नुभयो । उहाँले बसपार्कको संचालनमा संलग्न साझेदार संस्थालाई आवश्यक निर्देशन दिँदै सवारी साधनहरू निश्चित स्थानमा मात्र पार्किङ गर्न र अव्यवस्थित रूपमा गाडी नछोड्न अनुरोध गर्नुभएको छ । त्यसैगरी, बसपार्कको सरसफाइमा पनि विशेष ध्यान दिइएको छ । फोहोरमैला व्यवस्थापनदेखि दैनिक सरसफाइसम्मका कामलाई थप प्रभावकारी बनाउन महानगरले सरसफाइ कर्मचारी तथा निगरानी टोली परिचालन गरेको छ । यात्रीहरूको सुविधा, स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै सार्वजनिक स्थानमा स्वच्छता कायम राख्न महानगर प्रतिबद्ध रहेको सरसफाई तथा हरियाली संयोजक प्रकाश खेतानले बताउनुभयो । उहाँका अनुसार यो अभियानलाई एकदिने क्रियाकलापको रूपमा नभई निरन्तर चलाइनेछ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ