काबिल सम्वाददाता
वीरगन्ज
जननेता स्व.मदन कुमार भण्डारीको नाममा पर्सामा स्थापित मदन भण्डारी फाउण्डेशनले नयाँ सदस्यता बढाउने भएको छ । बुधबार पर्साको वीरगन्जमा बसेको मदन भण्डारी फाउण्डेशनको पहिलो बैठकले सदस्यता बढाउने लगायतका विभिन्न निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको तीन कार्यकाल अध्यक्ष भएका वीरगन्जका अग्रज पत्रकार शत्रुघ्न नेपाल अध्यक्ष रहेको भण्डारी फाउण्डेशनको पहिलो बैठकले आगामी चैत ७ गतेसम्म सदस्यता आह्वान गर्दै विस्तार गर्ने लगायतका निर्णय गरेको समितिका सदस्यहरुले जनाएका छन् । स्व.भण्डारीको हत्याको आशंकामा अझै नेपाली समाज विभक्त छ । तथापि उनको मार्गदर्शन सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ अंगिकार गर्ने पक्षधर नागरिक सदस्य बन्न सक्ने गरी सदस्य विस्तार गर्ने लक्ष्य समितिको रहेको पाइएको हो ।
मुलुकका विभिन्न ठाउँमा उनको नाममा फाउण्डेशन स्थापना भई सामाजिक तथा शिक्षा, खेलकुद लगायतका क्षेत्रमा सकारात्मक कार्य गर्दै आएको छ । पर्सामा पनि आगामी चैत मसान्त भित्र पहिलो अधिवेशन गर्ने गरी सदस्य विस्तार गर्ने र रचनात्मक कार्य गर्ने लगायतका निर्णय बुधबारको बैठकले गरेको समिति अध्यक्ष नेपालले बताए । आगामी अधिवेशन पूर्व पर्साका १४ वटै पालिकामा पालिकास्तरीय कमिटि पनि गठन गर्ने निर्णय गरिएको पनि उनको भनाइ छ । स्व.भण्डारीको निधन भएको स्मृतिका अवसरमा आगामी जेठ ३ गते कुनै एक रचनात्मक कार्य पर्सामा पनि गर्ने गरी रणनीतिक तयारी पनि गर्दै अगाडी बढ्न समिति तत्पर रहेने पनि निर्णय भएको खुलासा भएको छ ।
जननेता मदनकुमार भण्डारीका विचारको संरक्षण, व्याख्या, विश्लेषण एवं प्रचार गर्न र नेपालको लोकतान्त्रिक रुपान्तरणमा सहि बाटो अवलम्बन गर्ने उद्देश्यले २०६१ सालमा नै मुलुकको राजधानी काठमाण्डौमा फाउण्डेशनको स्थापना भएको थियो । त्यसको २० वर्षपछि मधेशको पर्सा जिल्लामा गठन भएको समितिले आफ्नो कार्य सफलताको लागि समाजको बरिष्ठ व्यक्तिहरुलाई सल्लाहकारका रुपमा समिति समेत बनाएर अगाडी बढ्ने पनि निर्णय गरेको बैठकमा सहभागी फाउण्डेशन मधेश प्रदेशका सह सचिव नवराज शर्माले खुलासा गरे । मदन भण्डारीकै नाममा फाउण्डेशनले मदन भण्डारी स्पोर्टस् एकेडमी जिल्ला समिति गठन गर्न पनि गुणवान खेल प्रेमीहरुको पहिचान गर्ने गरी प्रद्युमन सेढाई र पुष्पराज पटेललाई जिम्मेवारी दिने पनि समितिले निर्णय गरेको उनको भनाइ छ ।
नाफामुलक संगठनको रुपमा फाउण्डेशन स्थापना भएकोले यसले ‘जनताको बहुदलीय जनवाद’ का प्रणेता जननेता स्व.भण्डारीको सिद्धान्त र लोकतन्त्र तथा मानव अधिकारका प्रवल सवालमा अब पर्सामा नमूना काम गर्ने गरी समिति परिचालित भएको बुझिएको छ । उन्नत राजनीतिक संस्कृतिका अग्रणी तथा राष्ट्रिय एकताका अग्रज तथा नेपाली राजनीतिका ठोस विचारकका रुपमा स्थापित संस्थाले स्व.भण्डारीले विश्व राजनीति परिवेशमा जनताको बहुदलीय जनवादको विचारलाई प्रभावकारी ढंगबाट अगाडी बढाउने गरी पर्सामा पनि समिति सकृय हुन थालेको जनाइएको छ ।
राजनीतिक आग्रहपूर्वाग्रह नराखी यो संस्थाले सामाजिक क्षेत्रमा शिक्षा, संस्कृति, अध्ययन, अनुसन्धान जस्ता क्षेत्रमा जनहितमा मात्र काम गर्ने पनि समितिको निष्कर्ष रहेको अध्यक्ष नेपालले बताए । वि.सं. २०५६ साल भाद्र १७ गते ‘मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्रका रुपमा स्थापना भएको स्व.भण्डारीका नामको संस्था राष्ट्रिय निर्देशन ऐन २०१८ अन्र्तगत दर्ता भई वि.सं. २०६१ साल भाद्र १७ गतेदेखि दर्ता भई देशव्यापी संजाल बनाउँदै विभिन्न गतिविधि गर्दै आएको छ ।
प्रतिक्रिया लेख्नुहोस्