spot_img

ताजा अपडेट

राजश्व लक्ष्यमा उद्योगको उत्पादन गिरावटको चोट

काबिल सम्वाददाता
वीरगन्ज
मुलुकको पहिलो सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजश्व लक्ष्यमा उद्योगको उत्पादनमा आएको गिरावटले चोट पुगेको पाइएको छ । उद्योगका कच्चा पदार्थ सुख्खा बन्दरगाह भन्सारको राजश्व लक्ष्य पूरा गर्ने मुख्य आयातित मालबस्तुको आयात महत्वपूर्ण मानिन्छ । तर उद्योगको उत्पादनमा आएको गिरावटले कच्चा पदार्थको आयात घट्दा त्यसको चोट भन्सारको राजश्व लक्ष्यमा परेको पाइएको हो ।
उद्योगको उत्पादन पछिल्लो समय खस्किएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुबोध गुप्ताले बताए । कुल उत्पादन क्षमताको ३० देखि ४० प्रतिशतसम्म मात्र अहिले उद्योगहरुको उत्पादन भइरहेको उनको दावी छ । यसको प्रत्यक्ष असर मुलुकको पहिलो सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजश्वमा पनि देखिएको खुलेको हो ।
६ महिनामा लक्ष्यको ८० दशमलब २९ प्रतिशत मात्र
ड्राइ पोर्ट (सुख्खा बन्दरगाह) को लक्ष्यमा आएको गिरावटले नेपाल सरकारको ढुकुटीमा जम्मा हुने अंशको केही थोरै भएको छ । त्यसैले सरकार राजश्व संकलनको लक्ष्यमा मापदण्ड नै बनाई युद्धस्तरमा उत्रिने गर्दछ । यो मापदण्ड अनुसार चालु आर्थिक वर्षको ६ महिना ( श्रावनदेखि पुससम्म) को लागि वीरगन्जस्थित मुलुककै पहिलो सुख्खा बन्दरगाहलाई कुल २९ अर्ब ७ करोड २२ लाख ७१ हजार राजश्व लक्ष्य तोकिएको थियो । तर राजश्व लक्ष्य पूरा गर्ने उद्योगको कच्चा पदार्थ लगायतका मालबस्तुको आयातमा आएको कमीले सुख्खा बन्दरगाह भन्सार कार्यालयको चालु आर्थिक बर्ष (आब) को ६ महिनामा लक्ष्यको ८० दशमलब २९ प्रतिशत मात्र राजश्व संकलन भएको छ । यो भनेको कुल २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार मात्र हो । गत वर्षको संकलित राजश्वको योगदानभन्दा पनि चालु वर्ष ५ प्रतिशतले संकलनमा कमी आइको सुख्खा बन्दरगाह भन्सार कार्यालयको तथ्याँकले देखाएको छ । गत बर्ष यो भन्सार कार्यालयले समिक्षा अवधिमा कुल २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजश्व संकलनको योगदान पूरा गरेको थियो । तर गत वर्षभन्दा पनि यो वर्ष उद्योगका कच्चा पदार्थ लगायत तेस्रो मुलुकबाट आउने सामानमा गिरावट आउँदा राजश्व पनि अझ खस्केको भन्सार कार्यालयले जनाएको छ ।
कुल वार्षिक लक्ष्यको ३९ प्रतिशत संकलन
चालु आर्थिक वर्षको १२ महिनाकै लागि भने सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई कुलु ६० अर्ब ०४ करोड ८७ लाख ९७ हजारको लक्ष्य तोकिएको छ । यसमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजारको योगदान गरिसकेको छ । यो भनेको बार्षिक कुल राजश्व लक्ष्यको ३८ दशमलब ८७ प्रतिशत पूरा भइसकेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धन बहादुर बरुवालले काबिल खबरलाई बताए । अब आगामी ६ महिनामा ३६ अर्ब ७० करोड ५४ लाख ७९ हजारको योगदान अझै यो भन्सारले गर्न पर्ने लक्ष्यले निर्धारण गरेको छ उनको भनाइ छ ।
यसरी राजश्वको लक्ष्यमा केही कमी आउनुमा वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेको उद्योगहरुको कच्चा पदार्थ आयातमा आएको गिरावट प्रमुख कारण रहेको भन्सारका प्रमुख बरुवालले तर्क गरे । त्यसै गरी राजश्वमा अलि योगदान गर्ने तयारी अवस्थाको विदेशी मदिरा, तोरी, दाल, रोल कपडा लगायतका मालबस्तुको पनि आयातमा कमी आएको उनको भनाइ छ ।
कच्चा पदार्थ आयात फलामजन्य उद्योग भर
हुलास स्टिल, जगदम्बा स्टिल, हामा आइरन, नारायणी रोलिङ मिल्स जस्ता ६÷७ वटा ठूला फलामजन्य उद्योग वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा छन् । यी र यस्ता बढि कच्चा पदार्थ खपत र आयात गर्ने उद्योगको उत्पादन अहिले ३० देखि ४० प्रतिशत मात्र रहेको वीरगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले पनि स्वीकारे । यो कोरिडोर क्षेत्रमा अपवाद वाहेक अधिकांश उद्योगको उत्पादन ५० प्रतिशतभन्दा बढि नभएको उनको तर्क छ । औषधीका केही उद्योगहरु भने अलि फूल फेजमा चलेको उनको भनाइ छ । अन्य उद्योगको भने अवस्था राम्रो नभएको उनले दावी गरे । यसो हुनुमा सरकार र नीजि क्षेत्रका बीच अझै समन्वयमा कमी रहेको उनको तर्क छ । नेपाल सरकारले उद्योगहरुलाई प्रवद्र्धन गर्ने नीति र खुल्ला सीमाबाट हुने चोरी पैठारीमा लगाम लगाउन पर्ने अझै प्रयास गर्ने बढाउनु उनको सुझाव । उद्योगको उत्पादन बढे स्वतः कच्चा पदार्थ आयात पनि बढ्ने गर्छ । कच्चा पदार्थ बढे राजश्वमा पनि योगदान पुग्ने अनि चोरै पैठारी न्यूनिकरण भए त्यहाँबाट पनि राजश्वमा टेवा पुग्ने उनको राय छ ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ