spot_img

ताजा अपडेट

एकैपटक १२ हजार बढि छात्राले लिए आत्मरक्षा तालिम

- Advertisement -

गिनिज बुकमा रेकर्ड बन्ने ठहर
काबिल सम्वाददाता
वीरगन्ज

मधेश प्रदेशको एक मात्र महानरपालिका ‘वीरगन्ज’ले आफ्नो पालिका भित्रका हजारौं छात्रा तथा किशोरीहरुलाई एकैपटक आत्मारक्षा तालिम दिएको छ । छात्रा तथा किशोरीहरुलाई एकैपटक आत्मरक्षा तालिम दिएको संभवतः यो गिनिज बुकको रेकड तोड्ने महानगरको ठहर छ ।
हुन पनि वीरगन्ज महानगरले १२ हजार ९ सय ७४ जनाको फारम भरेर गिनिज बुकमा पनि रेकर्डका लागि पठाइएको जनाएको छ । वीरगन्ज महानगरका सबै चेलीहरु सुरक्षित महसुस गर्दै आत्मबल बलियो बनाउन सकुन् भन्ने उद्देश्यले यो तालिम दिएको वीरगन्ज महानगरपालिकाका महानगरप्रमुख राजेशमान सिंहले बताए । उनले आफू रहुन्जेलसम्म वीरगन्जका कुनै छोरीचेलीले असुरक्षाको महसुस गर्न नपरोस् भनी यो कदम चालिएको पनि दावी गरे ।
वीरगन्जका महिलाहरुलाई मध्यरातमा पनि निर्धक्कसँग हिड्नसक्ने वातावरण बनाउने निर्वाचनका समयमा प्रतिबद्धता जनाए अनुसार आफूले महिला र किशोरीहरुको मनोबल बढाउनका लागि आत्मरक्षाको तालिम शुरुवात गरेको पनि महानगरप्रमुख सिंहले दावी गरे । मान्छे मर्छ । तर, मृत्युले पनि ‘मे आई कम इन’ भनेर सोधेर मात्र वीरगन्जमा आउने अवस्था सृजना गर्नु पर्छ भनी उनले छात्रा तथा किसोरीहरुलार्ई मनोबल उच्च राख्न सुझाव दिए । तालिमको पूर्णताका लागि विद्यालयहरुमा हरेक शुक्रबार दक्ष प्रशिक्षक सहित अतिरिक्त कक्षा नै संचालन गरिने पनि उनको घोषणा छ ।
समितिको तयारी फत्ते
एक महिना अगाडीदेखि पूर्व तयारीमा जुटेको महानगरले यो कार्यक्रम बुधबार सम्पन्न विभिन्न १८ वटा समिति र उपसमितिहरु बनाएको थियो । सो समितिको पनि काम बुधबारबाट फत्ते भएको छ । तालिमको औपचारिक उद्घाटन नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले गरे । यस्तो आत्मरक्षा तालिम भारतको आग्रामा पनि भएको तथ्य छ । त्यहाँ भने एकैपटक ७ हजार ४ सय १ जना किशोरीले मात्र यस्तो आत्मरक्षा तालिम लिएको प्रशिक्षक डा.यजनेश श्रीनिवास सेट्टी (चिता) ले वीरगन्जमा बताए । उता अर्को छिमेकी चीनमा पनि एकैपटक साढे ८ हजार किशोरीहरुलाई आत्मरक्षा तालिम दिएको जानकारहरुले दावी गरेका छन् । मधेश प्रदेशमा भने ती दुबै देशको रेकर्ड तोड्ने गरी वीरगन्ज महानगरले आफ्नो पालिका भित्रका १२ हजार ९ सय ७४ छात्रा तथा किशोरीहरुलाई यो तालिम दिएको हो ।
उक्त संख्या जुट्यो कसरी ?
महानगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका १ सय ३२ वटा विद्यालयका कक्षा ६ देखि १२ कक्षासम्मको कक्षाबाट छात्राहरु जम्मा पारेको वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बताए । ती विद्यालयहरु मध्ये ३८ वटा सामुदायिक र ९४ नीजि विद्यालयहरु गरी कुल १ सय ३२ विद्यालयका छात्रा सहभागी भएको उनको भनाइ छ । यसको अलावा ईच्छुक अन्य २ हजार ६ सय ६५ जना किशोरीहरु पनि विद्यालय बाहिरबाट समेटिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।


छात्राहरुको यत्रो उपस्थितिलाई वीरगन्जको आदर्शनगर रंगशालामा विभिन्न ६ वटा व्लकमा व्यवस्थापन गरिएको महानगरका उपप्रमुख इम्तियाज आलमले बताए । नीजि विद्यालय र सामुदायिक विद्यालयका छात्राहरुलाई अगल–अलग व्लक बनाई ती विद्यालयका शिक्षक शिक्षिकाहरुलाई समेत स्वयम् सेवकका रुपमा पनि परिचालित गरिएको छ । तालिमका समयमा कुनै छात्रा तथा किशोरीहरुलाई स्वास्थ्य र सुरक्षाको आवश्यकतालाई मध्यनजर गरी औषधी सहितका स्वास्थ्यकर्मीहरु ६ वटा हेल्थ डेक्समा तैनाथ गरिएको थियो ।
त्यसैगरी सुरक्षाकर्मीको पनि पूर्ण व्यवस्था गरिएको थियो । वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले महिला दिदीबहिनीहरुले आत्मरक्षाका लागि सहभागी हुने हिम्मत जुटाउन यो कदम चालिएको दावी गरे । तालिममा धेरै कुरा सिक्ने र आफ्नो सुरक्षा आफैले गर्न सक्ने क्षमता बढ्ने हुँदा यस्ता उपायको बारेमा जान्न पर्ने उनले सुझाव पनि दिए । गिनिज बुकमा यति धेरै छात्रा तथा किशोरीलाई एकसाथ तालिम दिएको रेकर्ड सायद नहोला उनले भने ।
गिनिज बुकको रेकर्ड तोड्ने गरी वीरगन्ज महानगरपालिकाले महिला सशक्तिकरणको कदम उठाएकोमा नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले धन्यवाद दिए । जहिले पनि यस्ता कदममा नेपाल सरकार साथमा हुने हुने हुँदा अझ नेपालकै नाम उच्च राख्ने गरी थप कदम बढाउन उनले वीरगंज महानगरपालिकालाई दीर्घकालिन कदम चाल्न प्रेरित पनि गरे । महिला सशक्तिकरणका लागि महानगरले गर्ने अन्य दीर्घकालिन ठोस कार्य अझ गरिनु पर्ने उनको सुझाव छ । मधेसमा महिला हिंसाका घटना बढिरहेको बेला यस्ता तालिमले अब महिलाहरु हिंसा प्रतिकार गर्न पनि बल दिने सन्देश मिलेको पनि मन्त्री यादवको तर्क छ ।
भारतका ख्यातिप्राप्त प्रशिक्षक डा यजनेश श्रीनिवास सेट्टी (चीता) ले तालिम दिए । नेपाल जस्तो छिमेकी मुलुकमा आई आफूले छात्रा तथा किशोरीहरुलाई तालिम दिन पाउँदा निकै गौरव महसुस भएको उनको भनाइ पनि छ । यस्ता कार्यक्रमले दुई देश बिचको सम्बन्ध थप मजबुत बन्ने हुँदा आफू नेपालमा आउन ईच्छुक भएको पनि उनले जनाए ।

महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजराले शिक्षा, स्वास्थ्य र खेलकुद तर्फ महानगर अग्रसर भए अनुसार केन्द्र सरकार र प्रतिनिधि सभाले पनि विभिन्न नीतिहरु ल्याई वीरगन्जको पहिचान माथि उठाउने कुरामा पहलकदमी चालिरहेको बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्मला देवकोटा, वीना जसवाल, प्रदेश सांसद वीना शर्मा, पूर्व प्रदेश सांसद जन्नत अन्सारी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, भारतीय महाबाणिज्य दुत देबी सहाय विणा लगायतको उपस्थिति रहेको थियो ।
प्रशिक्षक चिता को हुन् ?


भारतका चर्चित फिल्मी कलाकार अमिताभ बच्चन, सलमान खान, अजय देवगन, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टंडन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान लगायतलाई डा.यजनेश श्रीनिवास सेट्टी (चिता) ले आत्मरक्षा तालिम दिएका छन् । बलिउड र हलिउडका धेरै स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएका उनी ‘निर्भया’ नामक कार्यक्रम मार्फत विगत ५ वर्षदेखि सकृय छन् । अमेरिका, क्यानडा, चीन, हङकङ, मलेसिया लगायतका देशमा पुगेर यस्तो प्रशिक्षण दिएका चिताले भारत भरका साढे १० लाखभन्दा बढी किशोरी एवं महिलालाई आत्मरक्षा तालिम दिइसकेको जनाए । प्रतिष्ठित संयुक्त राज्य मार्शल आट्र्स हल अफ फेम अवार्ड पनि प्राप्त गरेका उनले अन्तर्राष्ट्रियस्तरका धेरै पुरस्कारहरू पनि प्राप्त गरेका छन् ।
थप प्रशिक्षणको अपेक्षाः सहभागी
तालिम निकै प्रभावकारी रहेको सहभागीहरुले बताए । तर यत्तिले मात्र अलि पूर्णता नहुने हुँदा विद्यालय वा कलेजमा नै अरु थप केही दिन सिक्न पाए राम्रो हुने उनीहरुको तर्क छ । त्यस्तै तर्क मध्ये वीरगन्जको सिद्धार्थ कलेजको कक्षा १२ मा अध्ययनरत गिता धामी, सलिना घिमिरेले पनि विद्यालय वा कलेजस्तरमा पनि पूर्णताको तालिम थप चाहिने बताए । त्यसै गरी वीरगन्जकै श्रीपुरमा रहेको नेपाल राष्ट्रिय विद्यापीठ मा.वि.को कक्षा ९ मा अध्ययनरत आरती गिरी, अनिसा तिवारी र खुसी सर्राफले पनि तालिम प्रभावकारी रहेको भन्दै खुसी व्यक्त गरे । सनलाईट बोडिङ्ग स्कूलको कक्षा १० मा अध्ययनरत मुस्कार गुप्ता, अर्पिता गुप्ता र मेघा गुप्ता पनि निकै प्रसन्न थिए । उनीहरुले हातको .एक्टिङ्ग पछि विद्यालयस्तरमा पनि यस्तो तालिम संचालन भए निकै राम्रो हुने प्रतिक्रिया दिएका छन् । सहभागी मध्ये माथिका प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्तै अन्य छात्राको पनि उस्तै प्रतिक्रिया पाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ