spot_img

ताजा अपडेट

नेपाली चेलीहरुले भारतलाई घुँडा टेकाए

- Advertisement -

काबिल सम्वाददाता
काठमाण्डौ
महिला च्याम्पियनसिप फुटबल २०२४ मा नेपाली चेलीहरुले सनसनीपूर्णरुपमा भारतलाई घुँडा टेकाएका छन् । नेपालको काठमाण्डौस्थित त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा आइतबार सम्पन्न सनसनीपूर्ण दोस्रो सेमिफाइनल खेलमा नेपाली चेलीहरुले भारतलाई खुँडा टेकाएका छन् । यो जितसँगै अब नेपाली महिला टोलीले साफ महिला च्याम्पियनसिप फुटबल २०२४ को उपाधिका लागि बंगलादेशसँग खेल्ने भएका हुन् ।
रेफ्रीको गलत डिसिजनपछि १० खेलाडीमा सीमित नेपालले भारतलाई हराउँदै फाइनलमा बंगलादेशसँगको यात्रा तय गरेको हो । फाइनल खेल आगामी बुधबार साँझ हुने छ ।
आईतबार भएको सेमिफाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ ले हराएयो । निर्धारित समयमा १–१ को बराबरीमा समय सकिएपछि खेल टाइब्रेकर तर्फ अगाडी बढेको थियो । नेपालका लागि सावित्रा भण्डारी (साम्वा), गीता राना, सविता रानामगर र अमिशा कार्कीले गोल ट्राइब्रकरमा भारतीय किपरलाई छल्दै जाली चुमाए । भारतकी मनीषा कल्याण र पुरुषेत्तम श्रीभोइकरको मात्र गोलले जाली चुम्यो । फलतः भारतले यो पटक नेपाली महिला खेलाडीसामु निरीह सावित हुन प¥यो । भारतकी खेलाडी आशालता देवीले प्रहार गरेको बल पोस्टमा लागेर फर्किएको थियो भने छानुको प्रहारलाई गोलकिपर अञ्जना रानामगरले सजिलै रोकिदिएकी थिइन् ।
निर्धारित समयमा भारतकी संगीता बासफोरेले १ तथा नेपालकी साबित्रा भण्डारी (साम्बा) ले १ गोल गरेर आ–आफ्ना टिमका लागि समान गोल गरेका थिए । अन्ततः निर्धारित ९० मिनेटको समयमा ठोस परिणाम आउन नसकेपछि अन्तिममा ट्राईब्रे्करको बाटो अपनाउन परेको थियो ।
खेलको ५१ औं मिनेटमा रेखा पौडेल दोहोरो पहेंलो कार्डसहित रेड कार्ड खाएर मैदानबाहिर गएपछि उत्पन्न विवादका कारण करिब १२ मिनेटजति रेफ्रीले खेल नै रोकेको थियो । पहेंलो कार्ड खानै नपर्ने बेलामा रेफ्रीले रेखालाई पहेंलो कार्ड दिएका थिए । ७ गोल गरेर प्रतियोगिताको सर्वाधिक गोलकर्ताको होडमा रहेकी रेखाको सपना अधुरै बनेको छ । उनले रातो कार्ड पाएपछि नेपाली दर्शकले केहीबेर नाराबाजी गर्नुका साथै मैदानमा पानीका बोतलसमेत फालेका थिए । दर्शकहरूले रेफ्री आउट भनेर नारा लगाउन बाँकी राखेका थिएनन् ।

मैदानको छेउमा तैनाथ सुरक्षाकर्मीसँगै नेपाली खेलाडीले समेत दर्शकलाई शान्त रहन आग्रह गरेका थिए । खेल फेरि ६४ औं मिनेटबाट सुरु भएको थियो । खेलको ७१ औं मिनेटमा १० खेलाडीमा सीमित नेपाललाई भारतले पहिलो गोल गरे पनि त्यो निर्णायक बन्न सकेन । भारतकी संगीता बासफोरेले डी बक्सबाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भयो । लगत्तै नेपालले गोल फर्काए पनि त्यसलाई रेफ्रीले मान्यता नदिएपछि खेलमा पुनः विवाद भएको थियो ।
भारतीय खेलाडीले गोलको खुसियाली मनाउँदैगर्दा रेफ्रीले प्ले अनको सिठी बजाएपछि नेपालले बल अगाडि बढाउँदै बराबरी गोल फर्काएको थियो । प्रीति राईको गोललाई रेफ्रीले मान्यता नदिएपछि विवादको स्थिति सिर्जना भएको थियो । रेफ्रीको सो निर्णयमा असहमति जनाउँदै नेपाली दर्शकले नाराबाजीसहित बोलत प्रहार गरेपछि खेल पुनः रोकियो । करिब ६८ मिनेट रोकिएर सुरु भएको खेल १० मिनेट घटाइएको थियो । त्यसपछि सुरु भएको खेलमा नेपालकी सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् । उनले प्रीति राईको लामो पासलाई मूर्त रूप दिएकी थिइन् । गोल हुने बित्तिकै खुसीले आफ्नो जर्सी नै फुकालेपछि भण्डारीले पहेंलो कार्ड पाइकी थिइन् ।
यता फाइनलको अघिल्लो संस्करणको अवस्थामा भने यो पटकको भिडन्त पक्का भए जस्तै नेपाल र बंगलादेश नै भिडेका थिए । त्यतिबेला नेपालले बंगलादेशसँग ३–१ ले हार बेहोरेको थियो । बंगलादेशले उपाधी उचालेको थियो । २ वर्षअघि यही मैदानमा नेपालले भारतलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो । पहिलो संस्करणदेखि पाँचौं संस्करणसम्म लगातार विजेता बन्दै आएको भारतलाई अघिल्लो संस्करणमा जस्तै यस संस्करणमा पनि नेपालले सेमिफाइनलमै रोक्न सफल भएको हो । एकपटक सेमिफाइनलसम्म र पाँचपटक उपविजेता बनेको नेपालसामु फेरि अर्कोपटक उपाधि जित्ने अवसर भने मिलेको छ ।
नेपाल पाँचपटक उपविजेता बन्दा भारत चारपटक र बंगलादेश एकपटक विजेता बनेका छन् । खेलमा पहिलो हाफमा पनि नेपालमाथि भारतले एकपछि अर्को आक्रमण बुनेको थियो । त्यसबीचमा नेपालले पनि केही अवसर नगुमाएको भने होइन । आईतबारको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोलअन्तरले हराउँदै बंगलादेश फाइनलमा पुगेको थियो ।
बंगलादेशका लागि तहुरा खातुनले ३ गोल तथा सबिना खातुनले २ गोल गरेका थिए । अन्य गोल रितु चक्मा र मसुरा प्रविनले गरेका थिए । भुटानका लागि सान्त्वना गोल डेकी लाजोनले फर्काएकी थिइन् । भुटान अघिल्लो संस्करणमा पनि बंगलादेशसँग नै पराजित भएको थियो । भुटान समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । बंगलादेश भने समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ