काबिल सम्वाददाता
वीरगन्ज
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालकाबाट पहिलो महिला डाक्टर बन्न सफल डा प्रिति चौधरीको २६ औं जन्मदिन उदाहरणीय ढंगले मनाइएको छ । अरुको जन्मदिन झैं अखाद्य बस्तु मिसावट ‘केक’ काटेर उनको जन्मदिन मनाइको होइन । बरु पश्चिमा शैली नअपनाउन समाजलाई सन्देश दिंदै डाक्टर प्रिती चौधरीको जन्मदिन नितान्त सन्देशमूलक ढंगले मनाइएको हो ।
जलवायु परिवर्तनको नकारात्मकता बढ्न हुँदैन भन्ने गतिलो सन्देश सहित अखाद्य केक काटेर मनाउने जन्मदिनलाई व्यंग समेत गरिएको छ । उनको जन्मदिन आफ्नै जन्मथलोमा विरुवा रोप्ने र अक्सिजन बढाउने प्रभावकारी अभियान सहित मनाइएको छ । यो कार्यलाई समाजका भद्रभलाद्मी सहित पूर्व मन्त्री, नेता सांसद र नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाईं सहित पर्सेली पत्रकारहरुको समेत साथ रहेको थियो । पर्साको पटेर्वा सुगौलीमा २ सय ५० वटा विभिन्न प्रजातिका विरुवा रोप्दै वातावरण बचाउने फरक शैलीको अभियान डा. प्रिती चौधरीको जन्मदिनले दिइएको छ । सो पालिकाको पहिलो महिला डाक्टर चौधरीको यो कदम पनि जिल्लामा पहिलो नै भएको स्थानीय अगुवाहरुको तर्क छ । ‘जन्मदिनमा यतिधेरै विरुवा रोपी वृक्षारोपण अभियानलाई नै चलाइएको संभवतः पर्सामा यो पहिलो हो’ उनीहरुले भने ।
केकमा ‘पेपरनिल केमिकल’ प्रयोग हुने हुन्छ । यस्तो खाँदै पश्चिमा शैलीको तडक भडकभन्दा जल, जमिन र जयवायु परिवर्तनको नकारात्मक प्रभाव रोक्न यो उदाहरणीयक कदम भएको तराई विकास तथा संचार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंले बताए । ‘डा. चौधरीको यो कदम निकै सह्रानीय छ’ नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव समेत रहेका चौलागाईंले भने । जलवायु परिवर्तनको नकारात्मक असर र मधेशमा पानीको हाहाकार हुने समस्यालाई यस्ता कार्यले निस्तेज पार्न थोरै भए राम्रो भूमिका खेल्ने उनको भनाइ छ ।
गएको २०८० फागुन ११ गते आफ्नै जन्मदिनमा रौतहटको सिधुरेघारी चाँदीखोला किनारमा यसै गरी वृहत वृक्षारोपण कार्यक्रम सुरु गरी विश्व अभियान चलाउनु पर्छ भन्ने महासंघका सचिव चौलागाई अक्सिजन बढाउने र जलवायु परिवर्तन न्यूनिकरण गर्ने कार्यमा निकै सकृय सहभागी हुने गरेका छन् । सो क्रममा पर्सामा पनि उनी आइपुगेका हुन् । वृक्षारोपण वृहत अभियामा आफ्नो साथ रहन्छ । यस्ता कार्यलाई मुलुक भित्र र बाहिरसम्म फैलाउनु पर्छ उनले बताए ।
आइतबार डा. चौधरीको जन्मदिनमा पटेर्वा सुगौली गाउँपालिकाको नेपाल राष्ट्रिय आधारभूति विद्यालय पटेर्वाको परिषर र बाहिर विद्यालयकै खुल्ला ठाउँमा वृक्षारोपण कार्यक्रम गरिएको छ । विद्यालयमा लक्षित गरी यस्तो अभियान थाल्दा नयाँ पीढिलाई पनि सकारात्मक सन्देश पुग्ने डा.चौधरीले बताइन् । आफ्नो गाउँठाउँका साना भाइ–बहिनीहरुलाई पनि राम्रो काम गर्न बल पुग्ने भएपछि काठमाण्डौबाट आफू गाउँमा नै जन्मदिन मनाउन आइपुगेको उनको भनाई छ ।
उदाहरणीय छोरी ः चन्द्रकिशोर
अमला, बरगज, सपेता, आँप, अम्बक लगायत विभिन्न १० प्रजातीका विरुवा रोप्दै जीवनलाई सत्कर्ममा जोड्न छोरी अग्रसर हुँदा डा. चौधरीका बुबा चन्द्रकिशोर भने निर्क प्रशन्न भेटिए । काठमाण्डौको ट्रमा सेन्टर अस्पतालमा एनेस्थेसियाको डाक्टर छोरी प्रिति चौधरीले पालिकाकै पहिलो महिला डाक्टर भएर उदाहरण बनेकी थिइन् । ‘जन्मदिनमा पनि छोरीले नमूना कार्य गर्न अग्रसर हुँदा खुशी छु उनले भित्री भाव प्रकट गरे ।
सकारात्मक सन्देश दिने गरी जन्मदिन मनाउनु निकै प्रभावकारी कदम भएको मधेश प्रदेश सभा सदस्य श्याम पटेलले बताए । पश्चिमा शैलीको नकारात्मक कुरामाभन्दा जलवायु परिवर्तनमा आउने ह्रास कम हुने सकारात्मक कार्य गर्दै डा.चौधरीले जन्मदिन मनाएकोमा उनले पनि राम्रो कदम भएको तर्क गरे । आफ्नो जन्मदिनलाई सत्कर्ममा जोडौं भन्ने भावना सहित गाउँका छोरीचेली आफ्नै ठाउँमा आई विरुवा रोप्ने अभियान सहित जन्मदिन मनाउँदा पूर्व मन्त्री सुरेन्द्र चौधरीले पनि राम्रो कदम भएको बताए । तर उनले वर्तमान राजनीति भने विग्रिएको प्रति व्यंग गर्दै ‘नौटंकीवाज’ को संज्ञा दिए । एउटा भ्रष्टाचारीलाई कार्वाही गर्नु हुन्न भनी सडकमा पार्टी नै उत्रिनु ताण्डव मच्चाएको भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ लक्षित गर्दै यो कदम गलत भएको बताए । भ्रष्टाचारी सबैलाई कार्वाही हुनु पर्छ भन्नु पर्ने राजनीतिक दलहरुले आफ्नो पार्टीका नेतालाई कार्वाही हुनुहुन्न भन्नु ताण्डव भएको संज्ञा दिए । भ्रष्टाचारी जुनसुकै पार्टी वा व्यक्तिभए पनि कार्वाही हुनु पर्छ उनले भने ।
आइतबार पर्साको पटेर्वा सुगौली गाउँपालिकामा चलाइएको वृक्षारोपण अभियान प्रभावकारी कदम भएको नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का र अर्का पत्रकार राघव साहको पनि भनाइ छ । जन्मदिनमा आधुनिक समयका चिकित्सकले समेत वृक्षारोपण अभियानलाई उच्च प्राथमिकतामा राखी केक बहिस्कृत अभियान चलाउनु निकै प्रभावकारी कदम भएको उनीहरुको भनाइ छ । कार्यक्रममा प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, अजय साह, शम्भु चौधरी, पुनम चौधरी, लगायत विभिन्न संचार माध्यममा आबद्ध संचारकर्मीहरुको पनि सहभागीता रहेको थियो । वृक्षारोपण कार्यक्रम सुरु हुनुपूर्व डा.चौधरीको जन्मदिनमा शुभकामना कार्यक्रम संचालन गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्