spot_img

ताजा अपडेट

बजार अनुगमनमा महानगरको सकृयता

- Advertisement -

काबिल सम्वाददाता
वीरगन्ज
चाडपर्व लक्षित बजार अनुगमनमा वीरगन्ज महानगरले सकृयता देखाएको छ । तरेली परेर आएका चाडपर्वमा व्यापारीहरुको कालोबजारीमा सेवाग्राही पर्न सक्ने कुरालाई आँकलन गर्दै महानगरले बजार अनुगमनलाई तिब्रता दिएको हो ।
आर्थिक नगरी वीरगन्जमा महानगरको अगुवाईमा मंगलबार पनि बजार अनुगमन टोली बजारमा सुटुक्क निस्किएको भेटिएको छ । गएको भदौ अन्तिम साता यता बजार लक्षित अनुगमन वीरगन्ज क्षेत्रमा तिब्र छ । सो क्रममा यहाँका विभिन्न ६ वटा व्यापारिक संस्था दण्डित समेत भइसकेका छन् । एक महिनाको अन्तरालमा महानगरको बजार अनुगमन नियमित जस्तै भएको छ ।
मंगलबार पनि महानगरको नेतृत्वमा सरोकारवालाको टोली मासु व्यवसायीको पसलमा छड्के जाँचमा एक्कासी पुगेको भेटिएको छ । नेपालीहरुको महान् पर्व बडादशैंमा बढि खपत हुने मासुको मूल्य अप्रत्यासित रुपमा बढाएको सूचनाका आधारमा महानगरले छड्के जाँच गरेको खुलेको छ । यो सिजनमा मासुमा पनि कालोबजारी हुन सक्ने कुरामा हामी सतर्क छौं । त्यसैले चाडपर्वका समयमा खपत हुने मिठाई, मासु र किरानाका सामानहरु भएका फर्ममा बढि निगरानी बढाइएको वीरगन्ज महानगरको खाद्य प्रशासन अधिकृत विपिनलाल कर्णले बताए । अनुगमनका क्रममा व्यवसायीले ‘रेट लिष्ट’ नराखेको पाइयो । उनीहरुलाई एक पटकको लागि रेट लिष्ट राखेर मात्र बिक्री वितरण गर्न सम्झाएर छाडिएको छ उनले भने । आइन्दा अटेर गरेको पाइए महानगरले आवश्यक कार्वाही गर्ने खाद्य प्रशासन अधिकृत कर्णको भनाइ छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ विपरित कसैले कुनै कसुर गरेको पाइए त्यस्ता फर्म वा संस्था ऐन को दफा ३९ बमोजिम सुरुमा दण्डित हुने अझ अटेर गरे थप कार्वाहीमा पर्ने वीरगन्ज महानगरले जनाएको छ । अनुगमनमा खाद्य प्रशासन गुण नियन्त्रण डिभिजन कार्यालयका कार्यालय प्रमुख सुरेश सिंह, वडा प्रहरी कार्यालय बिर्ताका प्रतिनिधि (प्रहरी सहायक निरिक्षक) संजय प्रसाद यादव, होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्त, बाणिज्य कार्यालयका रंजन कुमार यादव, घरेलु व्यवस्था कार्यालयका संजय महतो, नगर प्रहरी सहायक निरिक्षक सदिक मिया लगायत उपभोक्ता हित संरक्षण मंचका अजित भूजेल तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो । कमसल सामानहरु राखिएको वा मूल्यमा हेरफेर गरिएको छ कि भनी सो टोलीले वीरगन्जमा संचालित सस्तो बजारमा पनि समेत छड्के जाँच गरेको छ ।
गएको भदौ अन्तिम हप्ता अनुगमनका क्रममा यहाँका न्यू अमित किराना स्टोर्स, मुकेश एण्ड केशरी किराना स्टोर्स, भगवती किराना भण्डार, आयुष गल्ला किराना पसल, राहुल एण्ड नविन किराना र मुन्ना लाल किराना पसलमा अनुगमनका क्रममा कैफियत फेला परेको भनी दण्डित गरिएको थियो । सो दिनको अनुगमन भने बाणिज्य कार्यालय वीरगन्जकै अगुवाईमा भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ