तुलसी भण्डारी
वीरगन्ज
मुलुकको प्रमुख प्रवेशद्वार पर्साको ‘वीरगन्ज’ आर्थिक नगरीको नामले देशैभर चिनिन्छ । आर्थिक गतिविधि बढि हुने र मुलुकको प्रमुख भन्सार नाका मात्र भनेर देशको राजधानी काठमाण्डौले प्रायः वीरगन्जलाई चिन्ने गरेको छ । तर स्थलमार्ग भई ‘धार्मिक पर्यटक’ आगमन हुने प्रमुख नाका पनि हो ‘वीरगन्ज’ ।
हवाईजहाजबाट उडेर आउने गोरा पर्यटकलाई मुलुकले अलि बढि पर्यटकको परिभाषामा समेट्दै आएको देखिन्छ । तथापि स्थलमार्गबाट धार्मिक पर्यटक हरेक दिन सीमावर्ती शहर वीरगन्ज हुँदै भित्रिने गरेका छन् । अंग्रेजी नयाँ वर्ष वा छिमेकी मुलुक भारतको बिशेष विदाका दिनहरुमा नेपाल आउने भारतीय पर्यटकको त वीरगन्ज नाकामा लाइन नै लाग्छ । त्यसैगरी चाडपर्व अझ बडादशैंको समयमा पनि वीरगन्जमा सीमा उपारका धार्मिक पर्यटक उज्यालो हुनााथ आइपुग्ने गरेका छन् । वीरगन्ज सहित पर्साका विभिन्न शक्तिपीठहरुमा सीमा वारिपारीका भक्तजन सरोबरी जस्तो हुन्छन् । यताका देवस्थल तथा विभिन्न शक्तिपीठहरुको उचित प्रचार–प्रसार हुन सके अझ वीरगन्ज क्षेत्र लगायत नेपाल नै धार्मिक पर्यटकका लागि गन्तव्य सावित हुन सक्ने वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको भनाइ छ ।
धार्मिक पर्यटक आगमनको प्रमुख नाका भएकोले धार्मिक पर्यटक लोभ्याउने शंकराचार्य प्रवेशद्वारसँगै वीरगन्जको मुटुमा रहेको गहवामाई मन्दिरमा अवस्थित दुर्गा माता सहित उनका सात दिदीबहिनीका शक्तिपीठको धार्मिक सर्किट वीरगन्ज बजार आसपासमा नै रहेको नगरप्रमुख सिंह बताउँछन् । वीरगन्ज महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि शक्तिपीठमा अवस्थित दुर्गाका ७ दिदीबहिनीको थप चर्चा उनैले ल्याएका छन् । त्यसैगरी पर्साको नाम नै रहन गएको पारसनाथ मन्दिरको महिमा पशुपतिनाथ सहर रहेको भारतीय धार्मिक पर्यटकले बताउने गरेको ज्येष्ठ नागरिकहरुको भनाइ छ । त्यसैगरी पर्साकै भाथाधाममा अवस्थित दुग्धेश्वर महादेव, वीरगन्जमा नै अवस्थित पशुपति नाथ, विन्दवासीनी माई, भुटनदेवी माई लगायत शक्तिपीठहरुमा बर्षेनी लाखौं भारतीय पर्यटक आउने गरेको सीमावर्ती शहरका स्थानीय जो कोहीले देखेका छन् । अनि वीरगन्जसँगै जोडिएको बाराको ऐतिहासिकस्थल समेत रहेको ‘सिम्रौनगढ’ र पञ्चवर्षीय मेला लाग्ने प्रख्यात गढीमाई मन्दिर पनि वीरगन्ज नजिकै रहेका यो क्षेत्रका धार्मिक पर्यटक लोभ्याउने धरोहरहरु हुन् ।
हरेक पाँच वर्षमा भव्य मेला लाग्ने बाराको गढीमाई मन्दिरमा नै लाखौ भारतीय पर्यटक आउने गरेको यो वर्ष पनि आगामी मंसिर भित्र आफै पुष्टि हुँदैछ । कारण गएको घटस्थापनाको दिनदेखि गढीमाई मेलाको शुभारम्भ भइसकेको छ । वीरगन्ज र आसपासका शक्तिपीठहरु मध्येको धार्मिक स्थल गहवामाई (माईस्थान) को यहाँ अलि बढी चर्चा गरिएको छ ।
नेपाल भारत सीमाको ५ किलोमिटर भित्र पर्ने वीरगन्जको मुटुमा अवस्थित गहवामाई मन्दिर ‘माईस्थान’ मन्दिरका नामले पनि प्रख्यात छ । भोजपुरी भाषी क्षेत्रमा आमालाई ‘माई’ भनिन्छ । माईस्थान अर्थात ‘आमा’ को स्थान भएकोले पनि माईस्थान मन्दिर भन्ने गरिएको माईस्थान मन्दिर छेउमा बर्षौंदेखि व्यापार गर्दै आएका अनिल रिजालले बताए । यो कुरामा माईस्थान मन्दिरका मूल पूजारी राधेश्याम प्रसाद उपाध्यायको पनि समान मत छ ।
सानो भूगोल अपार भौगोलिक सुन्दरता । अझ त्यसमा पनि भगवान प्रतिको आस्थाको केन्द्र कलात्मक मठ, मन्दिर र गुम्बा लगायतको प्रचुरता । मानिसको मन नलोभियोस् पनि कसरी ? स्वभावकि हो राम्रो प्राकृतिक सुन्दरता र कलात्मक मठ, मन्दिर, गुम्बा अनि भगवान प्रतिको आस्थाको केन्द्रले प्रायः मानिसको मन लोभ्याउँछ नै । अझ त्यो ठाउँमा कहिले पुग्ने र हेर्ने ? भन्ने कौतुहलता अस्वभाविक होइन ।
माईस्थान मन्दिरको ऐतिहासिकता
‘वीरगन्जकै अर्को धार्मिक तथा पर्यटकीयस्थल भिस्वाको डाँडाबाट फालेको तीर जहाँ गएर गाडिन्छ म त्यही हुन्छु, मलाई त्यही आएर भेट्नु, तिम्रो मनकामना सिद्ध हुन्छ’ भनी एक भक्ता (धामी) लाई देवीले सपनामा भनेको कुरा विपनामा पनि साकार भएको श्रुति छ’, माईस्थान मन्दिरका मूल पूजारी राधेश्याम प्रसाद उपाध्यायले बताए । जनकल्याणका लागि ती भक्ताले देवीसँग शक्ति माग्दा उनलाई सपनामा देखाएको कुरा विपनामा साकार भएको जानकारहरुले भनेको सुन्दै आएका छौं उनले थप प्रष्ट पारे । तीर खसेको ठाउँमा वरिपरि हेर्दा अरु ठाउँभन्दा अलि सफा चम्किलो जस्तो देखेपछि सोही ठाउँमा पूजा अर्चना सुरु भएको भन्ने बच्चैदेखि सुन्दै आएको पनि उनको थप तर्क छ ।
तीनै भक्ताका सन्तति अच्छेलाल कहार अहिले पनि ‘भक्ता’ छन् । दशैंको नवरात्र आउनु ६ महिना अगाडीदेखि शुद्ध चोखोनितो बसेका उनै भक्ताले पहिले माईको बिशेष पूजापाठ गरी भेडाको बली दिएपछि मात्र बडादशैंको अष्टमीका दिन सर्वसाधारणका लागि मन्दिरमा बली चढ्न सुरु हुन्छ’ मूल पूजारी उपाध्याय र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र साहले विस्तृतमा बताए । सप्तमीका दिन भने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा राज्यको तर्फबाट फूलपाती भित्र्याई कुभिण्डो लगायत बोकाको बली दिने चलन यो मन्दिरमा रहँदै आएको छ । नवदुर्गाको पूजा भव्य रुपले हुने भएकोले हरेक वर्ष नेपाली र भारतीय भक्तजनको घुँइचो थामिनसक्नु बन्दै गएको अध्यक्ष शाहले बताए । भगवती माताको आर्शिवादले मनकामना पूरा हुने भएकोले ‘माई’ प्रति सबैको आस्था अझ जागेको स्थानीय भक्तजनको भनाइ छ ।
नेपालको भित्री भागका मठ, मन्दिरमा जस्तो भक्तजन र दर्शनार्थी तथा धार्मिक पर्यटक माईस्थान मन्दिरमा आन्तरिक मात्र हुदैनन् । यो मन्दिरको मूल विशेषता भनेकै सीमा उपारका भक्तजन, दर्शनार्थी र पर्यटक समेत हरेक दिन यो मन्दिरमा आउने गरेका छन् । त्यसैले पनि यो क्षेत्रका लागि वीरगन्जस्थित गहवामाई (माईस्थान) मन्दिर नामै काफी छ, गहवामाई मन्दिरको व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र साहले बताए । ‘यो मन्दिरमा पुग्ने भक्तजन र दर्शनार्थी र पर्यटक मध्ये छिमेकी मुलुक तथा बाह्य क्षेत्रबाट आउने ३० प्रतिशत जति रहेको हाम्रो अनुमान छ’ उनले भने । चैते दशैंमा पनि हजारौं र बडादशैंको समयमा त लाखौं भारतीय पर्यटक पुग्छन् । अझ सप्तमी (फूलपाती) र अष्टमीका दुई दिनमा नै ५ लाख बढी मानिस यो मन्दिरमा आइपुग्ने समितिको दावी छ । भारतकै मोतिहारी लगायतका अलि टाढाका र आसपासका मानिस मन्दिरमा आइपुग्ने गरेको अध्यक्ष शाहको पनि दावी छ ।
मन्दिरको विकास
माईस्थान माताको शक्ति प्राप्तभएपछि यो ठाउँमा पहिलो पटक ‘भक्ता’ जिउत राउत र राणाका व्यवस्थापक चोलाई चौधरीले मन्दिरको आकार दिएको मन्दिरका मूल पूजारी उपाध्यायले अग्रजहरुको भनाइ उदृत गर्दै काबिल खबरलाई बताए । २०७० सालमा अहिलेको देखिएको मन्दिरको जीर्णोद्वार भएको छ । शक्तिको पहिचान भएका समयमा माटोका कुण्ड, त्यसपछि तामाका कुण्ड हुँदै अहिले चाँदीका कुण्ड निर्माण गरिएको छ । अहिलेको मन्दिरको गर्भ गृहमा भने साविकको माताको मूर्ति छ । यो मूतिमा पहिले बाहिरबाट सबै भक्तजनले दर्शन मिल्थ्यो । तर अहिले बाहिरबाट मूर्तिको दर्शन गर्न मिल्दैन । मन्दिरको नयाँ संरचना पछि गर्भगृहमा रहेको मूर्तिकै दर्शन गर्न मन्दिर समितिबाट २ सय ५५ रुपैयाको रसिद काटेपछि भने जो कोहीले पनि मन्दिरको गर्भगृहमा गई दर्शन गर्न पाउँछन् ।
मन्दिरका पूजारीकै पाँच पुस्ता
माईस्थान मन्दिर बनेपछि मन्दिरमा दैनिक पूजापाठ गर्न भक्ताहरुले आफ्ना अग्रजहरुलाई नियुक्ति गरेको हालका मूल पूजारी उपाध्यायले बताए । ‘बाजेहरुपछि बुबा हुँदै आफू पनि मन्दिरमा पूजारी भएको चौथो पूस्ता म हुँ’ उनले भने । देवीको अहिलेका भक्ता पनि संभवतः चौथो पुस्ताकै हुनुपर्छ उनले दावी गरे । मन्दिरको दैनिक पाठपूजा गर्न आफूपछि पनि पाँचौ पुस्ता खटिरहेको उनको भनाइ छ ।
दुई वर्षयता वार्षिकोत्सवमा ‘रथ यात्रा’
माईस्थान मन्दिरको नयाँ जीर्णोद्वार कार्य भएयता अघिल्लो वर्षदेखि रथ यात्रा समेत निकाल्न थालिहएको छ । अहिलेको मन्दिर २०७० सालमा नयाँ जीर्णोद्वार भएको हो । यहि बर्षलाई आधारमानी गत वर्षबाट गहवामाईको रथयात्रा निकाल्न थालिएको छ । हजारौंको संख्यामा भक्तजन पुग्न थालेपछि गहवामाईको रथ यात्रा प्रचार प्रसारको लागि थप बलसाली भएको छ । पहिले गहवामाईको रथ यात्रा निकाल्ने गरिएको थिएन । तर दुईवर्षबाट भने विश्वका अन्य ठाउँमा झैं गहवामाई माताको पनि रथ यात्रा निकाल्न थालिएको श्री गहवामाई रथयात्रा समितिका कोषाध्यक्ष रविशंकर अग्रवालले बताए । साविकको माईको मूर्ति गर्भगृहमा भएकोले पनि नगरवासी लगायत धार्मिक पर्यटक र भक्तजनलाई लक्षित गरी रथ यात्रा निकाल्न थालिएको उनको भनाइ छ ।
मन्दिरको नियमित आन्दानी हुने श्रोतका रुपमा मन्दिरसँगै जोडिएको उसैको नामको तीन तले धर्मशाला छ । बजारको बीच भागमा अवस्थित मन्दिरको धर्मशालाका भूईं तलाका आधाजर्दन सटरहरु बर्षौंदेखि व्यापारिक प्रयोजनमा छन् । सामान्य खर्चका लागि मन्दिरले बाहिर हात फैलाउन पर्दैन । कुलु १० कर्मचारी मन्दिरले आफ्नै खर्चमा राखेको छ ।
पर्यटन प्रवद्र्धनमा ‘कोशेढुंगा’
गहवामाई मन्दिरसँगै उनका ७ दिदीबहिनी देवीहरुको शक्तिपीठको प्रचार गरी धार्मिक सर्किट बनाउने कुरा महानगरले अगाडी बढाइसकेको छ । यो सँगै पर्सा र छिमेकी जिल्ला बाराको महागढीमाई, सिम्रौनगढ लगायत अन्य मठ, मन्दिरको पनि प्रवद्र्धन गर्न सके वीरगन्ज आर्थिक नगरी मात्र नभई स्थलमार्गबाट भित्रिने धार्मिक पर्यटकको पनि प्रमुख नाका कहलिने ज्योतिष परिषद् महासंघका एशिया उपाध्यक्ष डा.पुरुषोत्तम दुवेको दावी छ ।
हुन पनि बाहिरी पर्यटक लोभ्याउन प्रदेश र केन्द्र सरकारको पनि साथ पाउने हो भने वीरगन्जको गहवामाई, बिर्तामाई, विन्दवासिनीमाई, भुटनदेवीमाई, भिषमाई, र दुईवटा बौद्धिमाई गरी सात दिदीबहिनी (माई) का शक्तिपीठसँगै पर्साकै पारसनाथ, नृसिंह मन्दिर, भाथा धाम, पर्साको ठोरीस्थित सीता गुफा, वनकाली माई, बाराको गढीमाई, सिम्रौनगढ जस्ता मुलुकका पनि अन्य धार्मिकस्थलको प्रवद्र्धन र प्रचार प्रसार आवश्यक छ । हवाईजहाजबाट उडेर आउने त्यसमा पनि गोरो अनुहार भएका मानिस मात्र पर्यटक हुन् भन्ने भाष्य थोरै बदल्न सक्नु पर्छ । स्थलमार्ग भएर आउने धार्मिक पर्यटकका लागि नेपाल गन्तव्य हो । यसमा थप जोड दिन सक्नुपर्छ ।