spot_img

ताजा अपडेट

पाइपलाइनबाट पेट्रोल ल्याउने अन्तिम तयारी

डिजेल आयात पाँचवर्ष पूरा
तुलसी भण्डारी 
   वीरगन्ज 
             भू–सतह भित्रबाट पाइपमार्फत सिधै डिजेल, पेट्रोल नेपालको तेल भण्डारण केन्द्रसम्म ल्याउने कुरा ७/८ वर्ष अगाडीसम्म हावादारी भन्ने गरिन्थ्यो । तर भू–सतहमुनिबाटै नेपालको बाराको अमलेखगञ्जस्थित तेल भण्डारण केन्द्रसम्म पाइपबाटै डिजेल ल्याउन सुरु गरिएको ठिक पाँच वर्ष भएको हो ।
केही मानिसले ‘पाइपबाट ग्याँस र पाइपबाट तेल’ भन्ने कुरा गर्दा यो असम्भव भनी तत्कालिन प्रधानमन्त्री अर्थात अहिलेका समेत प्रधानमन्त्रीलाई निकै उडाए पनि । पानी जहाजको कुरामा अझै उडाउँदैछन् । तर दीर्घकालिन सोच र भिजन सहित काम गर्ने हो भने असम्भव छैन भन्ने गतिलो उदाहरण मध्ये नेपालीले देख्न नपाउने भन्ने हुदैन ।
दोस्रो चरण अन्तर्गत पाइपबाट डिजेल मात्र नभई पेट्रोल पनि ल्याउने तयारी अहिले धमाधम भइरहेको छ । अब करिब दुई–तीन महिना भित्र जमिनमुनिदेखि पाइपबाटै नेपालको अमलेखगञ्ज तेल भण्डारण केन्द्रमा पेट्रोल पनि ल्याउने तयारी अन्तिम चरणमा पुगेको नेपाल आयाल निगम लिमिटेड मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले काबिल खबरलाई बताए । ‘२०७६ भदौ २४ गतेबाट डिजेल ल्याउन सुरु गरिएको त्यहि पाइपबाट अलि फरक प्रविधि प्रयोग गरी पेट्रोल पनि ल्याउने तयारी भइरहेको छ’ उनले भने ।
           भारतको मोतिहारी–रक्सौल हुँदै नेपालको वीरगन्ज–अमलेखगञ्जसम्म कुल ६८ दशमलब ९ किलोमिटरको लम्बाई छिचोल्दै जमिनमुनि पाइपबाटै डिजेल ल्याइएको नेपाल आयाल निगम मधेश प्रादेशिक कार्यालयका प्राविधिक तथा सहायक ईन्जिनियर एवं प्रवक्ता प्रशान्त भट्टराईले बताए । अन्तरदेशीय सीमा पार गरी पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल आएको दक्षिण एशियामा नै पहिलो भएको पनि उनको भनाइ छ । नेपाल तर्फ कुल ३६ दशमलब २ किलोमिटर र भारत तर्फ ३२ दशमलब ७ किलोमिटरको दूरीमा जमिन मुनि ८ फिट ३ इन्चसम्म भित्र पाइप गाडिएको छ । यो कुरा युद्धस्तरमा काम भइरहेको समयमा नेपालको तर्फका विज्ञ अर्थात ईन्जिनियर शरद पौडेले पनि पुष्टि गरेका थिए । जमिन मुनि गाडिएका पाइप छी ⁄ टण्– ब्एक्ष् ग्रेडका १ हजार ४ सय ८ वटा फलामे पाइपहरु भएको सो समयमा प्राविधिकहरुले नै पुष्टि गरेका थिए ।
            यो योजना १५ महिनाको अवधिमा सक्ने गरी ‘२०७४ पुसबाट फिल्ड सर्वे सुरु गरिएको थियो । जमिनमा गाड्ने गरी काम सुरु २०७५ बैशाखबाट भएकोे थियो । तर नेपाल तर्फ ९ किलोमिटरको दूरीमा सिमरादेखि अमलेखगञ्जसम्म जंगल पनि परेकोले त्यहाँका केही रुख हटाउनु पर्ने वनको नियमले सरकारको निर्णय र प्रकृयाले दुई महिनामात्र विलम्ब भई यो महत्वकाँक्षी योजना नेपालकै ठूला योजनाहरु मध्ये सबैभन्दा निर्धारित समयमा सकिएको नमूना काम पनि थियो । आयल निगमका विज्ञ कर्मचारीले पनि यो कुरा स्वीकारे ।
दक्षिण एशियामै अन्तरदेशीय नमूना काम 
             जमिनमुनिबाटै पेट्रोलियम पदार्थ डिजेल नेपालमा ल्याइएको मात्र नभई यो योजना दक्षिण एशियामा अन्तरदेशीय सीमा पार गरी बनेको नमूना योजना पनि रहेको नेपाल आयाल निगम लिमिटेड प्रादेशिक कार्यालय अमलेखगञ्जका सूचना अधिकारी तथा सहायक ईन्जिनियर प्रसान्त भट्टराईले पनि दावी गरे । पाइपलाइन तर्फ सुरुदेखि काम गर्दै आएका उनी नेपालको पार्टका प्राविधिक विज्ञ पनि हुन् ।
            मोतिहारी अमलेखगञ्ज पाइपलाइन (एमएपीएल) अन्तर्गतको दोस्रो चरणमा ल्याइने पेट्रोलको लागि भण्डारण गर्न ४१ सय किलोलिटरका दुई ठूला टैंकी निर्माण अन्तिम चरणमा पुगेको पनि उनले देखाउँदै बताए । त्यसै गरी २५० किलोलिटरका दुई वटा ट्रान्समिक्स टैंकी र ३ हजार किलो लिटरका फायर वाटर टैंकी पनि निर्माण कार्य सकिन लागेको निर्माण कम्पनी लिखिता निर्माण कन्पनीका प्रोजेक्ट म्यानेजरले बताए । उनले नाम उल्लेख नगरेकै ठिक भने ।
नेपालमा विभिन्न प्रकारका आन्दोलन र चक्का जाम मात्र नभई नाका जामसम्मका आन्दोलनले पेट्रोलियम पदार्थको ढुवानी पनि प्रभाव पार्न नसक्ने लक्ष्य सहित यो गतिलो विकल्प भएको मधेश आन्दोलनमा सकृय भई लागेका वीरगन्जका युवाहरुको पनि तर्क छ ।
हुन पनि भारतको बरौनी र रक्सौल तर्फ टेंकरमा तेल लिएर आउँदा ढुवानीको लागत र समय अधिक खर्च हुने र आन्दोलनका समयमा ढुवानी नै ठप्प हुने गरेका धेरै उदाहरण छन् । समयको बचत, तेलमा मिसावट नहुने र गुणस्तर तेल पाइने मात्र नभई बार्षिक करिब २ अर्ब लागत कम पर्ने लक्ष्य सहित पहिलो चरणमा जमिनमुनिबाटै डिजेल ल्याउन थालिएको थियो ।
पाइपबाटै एक वर्षमा पौने ११ लाख किलोलिटर डिजेल आयात  
       गत वर्ष (२०८०/०८१) मात्र अन्तरदेशीय पाइपलाइन हुँदै जमिनमुनिबाटै १० लाख ८३ हजार ५ सय २० किलोलिटर डिजेल नेपालमा आएको वीरगन्ज भन्सार कार्यालयको तथ्याँकले देखाएको छ । यो डिजेल सबै पाइपलाइनबाटै आएको वीरगन्ज भन्सार  कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले बताए । अहिल कुनै पनि टेंकरमा डिजेल नल्याइएको उनको भनाइ छ । उक्त परिणामको सबै डिजेल पाइपलाइनबाटै आएको हो उनले भने । (यो नाका भएर आयात हुने डिजेल पनि अनिवार्य वीरगन्ज भन्सारमा इन्ट्री नगरी नेपाल ल्याउन मिल्दैन । त्यसैले यसको ठोस तथ्याँक वीरगन्ज भन्सारमा पाइन्छ । अघिल्लो आर्थिक वर्ष पनि १० लाख ४० हजार ५ सय ६ किलो लिटर डिजेल पाइप लाइनबाटै आएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
         लागतका हिसाबले नेपालमा यो नाका भएर आउने डिजेल मात्र १ खर्ब १३ अर्ब ५८ करोड ३२ लाख ८० हजारको त गतवर्ष मात्र आएको भन्सारको तथ्याँक छ । नेपालमा आयात हुने मालबस्तुहरु मध्ये राजश्व संकलनमा पनि अत्याधिक योगदान गर्ने बस्तु डिजेल नै रहेको पाइएको छ । यो वीरगन्ज नाकाको मात्र हो । वीरगन्ज नाका भएर गत वर्ष आएको डिजेलले मात्र यहाँ संकलन हुने राजस्वको २७ दशमलब ५५ प्रतिशत हिस्सा ओगटेको छ । यो भनेको कुल ४३ अर्ब ३६ करोड ६३ लाख ७७ हजार रहेको पाइएको हो ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ