काबिल सम्वाददाता
वीरगन्ज
छानविन र कार्यान्वयनको उच्च तापका बीच आफूहरु चर्को मारमा परेको भनी मिटर व्याजबाट पीडित किसान–मजदुरले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । मिटर व्याजीहरुको कडा विरोध गर्दै शुक्रबार वीरगन्जमा प्रदर्शन गर्दै पीडित किसान–मजदुरहरुले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ज्ञापन पत्र बुझाएका हुन् ।
वीरगन्ज–१२ मुर्लिमा जम्मा भई नगरमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका उनीहरुले न्यायको माग गर्दै स्थानीय प्रशासन प्रमुखलाई ज्ञापन पत्र बुझाएको बताए । ज्ञापन पत्रमा किसानहरूलाई मिटरब्याजको भारले आर्थिक रूपमा थिचिरहेको र यसले समग्र जीवनस्तरलाई समेत प्रभाव पारेको उल्लेख गरिएको छ । आन्दोलनमा सहभागी किसान–मजदुरहरूले मिटरब्याजीलाई निषेध गर्न र पीडितहरूको ऋण माफी गर्न ठोस कदम चालिदिन पनि माग गरेका छन् ।
पीडितहरुको नेतृत्व जिल्ला अध्यक्ष कृष्ण राज ठाकुरले गरेका थिए भने वीरगन्ज महानगरका अध्यक्ष शम्भु यादवले ज्ञापन पत्र बुझाउने क्रममा आन्दोलनकारीहरूको तर्फबाट आगामी कदमका बारेमा पर्साका प्रमुख जिल्ला अधिकारी भुषाललाई थप अवगत गराएका थिए । सरकारको तुरुन्त मिटर ब्याजीहरुलाई हस्तक्षेप गरी यो समस्या न्यूनिकरण गरिदिन पनि ज्ञापन पत्रका आग्रह गरिएको छ । किसान–मजदुरहरूको सुरक्षाको प्रत्याभूति र न्यायिक प्रणालीमार्फत आर्थिक शोषणको अन्त्य गर्नु पर्ने माग पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
पीडितको माग प्रति सुनुवाई नभए आगामी दिनमा अझ सशक्त कदम चाल्न बाध्य हुने पनि उनीहरुले चेतावनी दिएका छन् ।