spot_img

ताजा अपडेट

भन्सारको राजश्वमा पेट्रोलियम पदार्थको योगदान साढे ४५ प्रतिशत

- Advertisement -

काबिल सम्वाददाता
वीरगन्ज
मुलुकको प्रमुख भन्सार कार्यालय वीरगन्जमा संकलन हुने राजश्वको झण्डै आधा जति हिस्सा पेट्रोलियम पदार्थले ओगटेको पाइएको छ । पेट्रोलियम पदार्थले मात्र कुल संकलित राजश्वको ४५ दशमलब ४५ प्रतिशत भार वहन गरेको पाइएको हो ।
यसमा पनि बढि हिस्सा भने डिजेलले पूर्ताल गरेको पाइएको छ । मुलुकको प्रमुख भन्सार नाका समेत मानिएको वीरगन्ज भन्सार कार्यालयको गतवर्षको संकलित राजश्वको कुल हिस्सा मध्ये डिजेल आयातबाट मात्र २७ दशमलब ५५ प्रतिशत योगदान पुगेको वीरगन्ज भन्सारको तथ्याँकले देखाएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्याँकमा आयातित सामग्री मध्ये कुन बस्तुले कति योगदान गरे भनी उल्लेख तथ्याँकमा यस्तो देखाइएको छ । यो भनेको डिजेलबाट मात्र ४३ अर्ब ३५ करोड ६३ लाख ७७ हजार राजश्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको हो ।
व्यापार घाटाको सन्तुलन गर्ने कुराभन्दा पनि राजश्वको लक्ष्यमै बढि भरथेग गर्ने परिपाटी अंगालेको मुलुकको व्यापार घाटाको प्रमुख कडी पनि यो हुन सक्ने स्थानीय बुद्धिजिबीको ठहर छ । तथापि यता राज्यको चासो त्यति देखिदैन । उक्त राजश्व संकलन हुँदा डिजेलमा मात्र गएको आर्थिक वर्ष (आब) मुलुकबाट १ खर्ब ९ अर्ब २९ करोड १० लाख ५ हजार रकम बाहिरिंएको छ । आर्थिक वर्ष ०८०⁄०८१ मा १० लाख ८३ हजार ५ सय २० किलोलिटर डिजेल आयात गर्दा उक्त रकम बाहिरिएको वीरगन्ज भन्सार कार्यालयको तथ्याँकले पुष्टि गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७९⁄०८० मा डिजेलको मूल्य केही बढि हुँदा १० लाख ४० हजार ५ सय ६ किलोलिटर डिजेल आयात गर्दा नै ०८०⁄०८१ कोभन्दा ४ अर्ब २९ करोड २२ लाख ७५ हजार बढि पैसा मुलुकबाट बाहिरिएको तथ्याँकले देखाएको छ । डिजेल आयातको परिणाम कम नभएको भए गत आबमा अघिल्लो आबको भन्दा बढि रकम बाहिरिन सक्ने तथ्याँकले औल्याएको हो । अघिल्लो आब १० लाख ४० हजार ५ सय ६ किलोलिटर डिजेल खरिद गर्दा नै कुल १ खर्ब १३ अर्ब ५८ करोड ३२ लाख ८० हजार रकम बाहिरिएको थियो ।
मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालयले गएको आब ०८०⁄०८१ मा संकलन गरेको कुल राजश्व १ खर्ब ५७ अर्ब ४० करोड ३१ लख २८ हजारमा डिजेलबाट संकलित राजश्वको योगदान मात्र २७ दशमलब ५५ प्रतिशत रहेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीले बताए । यसै गरी डिजेल पछि १४ दशमलब ३४ प्रतिशत योगदान पेट्रोलले गरेको छ । ३ लाख ९४ हजार ७ सय २३ किलोलिटर पेट्रोल आयात गर्दा गएको वर्ष पेट्रोलबाट मात्र २२ अर्ब ५६ करोड ४८ लाख ८३ हजार राजश्व संकलन भएको उनको भनाइ छ । यो गत वर्षको पेट्रोल अयात गर्दा राजश्वमा पुगेको योगदानभन्दा ३३ करोड ४ हजारले बढि भएको पनि भन्सार प्रमुख पन्थीले बताए । पेट्रोल तर्फ भने डिजेलमा जस्तो नभई आयातित परिणाम पनि अघिल्लो आबकोभन्दा ५ हजार १२ किलोलिटर बढि छ । सोही अनुपातमा लागत मूल्य पनि ७७ करोड ५३ लाख ७४ हजारले बढेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । पेट्रोलियम पदार्थबाट मात्र कुल संकलित राजश्वको ४५ दशमलब ४५ दलशमल योगदान पुगेको भन्सार प्रमुख पन्थीले बताए ।
पेट्रोलियम पदार्थको जति अरु सामान आयातबाट भन्सारको राजश्वमा योगदान नभएको वीरगन्ज भन्सार कार्यालयको तथ्याँकले देखाएको छ । पेट्रोलियम पदार्थ पछि जिप कार र भ्यान जस्ता साना सवारी खरिदबाट कुल राजश्व संकलनको चौथो स्थान ओगटेको भन्सार कार्यालयले उल्लेख गरेको छ । यसबाट कुल संकलित राजश्वको ३ दशमलब १६ प्रतिशत योगदान भएको छ ।
यता वीरगन्ज भन्सार कार्यालयले गत आब अघिल्लो आबभन्दा २४ करोड ८२ लाख ७ हजार बढि राजश्व संकलन गर्न सकेको छ । तथापि राजश्वको कुल लक्ष्य भने भेटाउन नसकेको पाइएको हो । यो भन्सार कार्यालयले गत बर्ष ६४ दशमलब ०१ प्रतिशत मात्र लक्ष्य भेटाएको तथ्याँकले देखाएको हो । कुल लक्ष्य पूरा गर्न नसक्नुमा राज्यको पछिल्लो नीति र आयातित मालबस्तुको परिणाम अनि लागतले पनि केही फरक पारेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । कुल लागत नै कम भएपछि स्वभाविक रुपमा लक्ष्य पनि केही फरक पर्ने भन्सार कार्यालयको दावी छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ