काबिल सम्वाददाता
वीरगंज, १७ साउन ।
पर्सामा एकै बर्षमा २ सय ३२ साना तथा घरेलु उद्योग बन्द गरिएका छन् । आर्थिक सङ्कटका कारण गएको आर्थिक वर्ष २०८०÷०८१ मा यहाँका २ सय ३२ साना तथा घरेलु उद्योग बन्द गरिएका हुन् ।
उद्योग संचालकले आर्थिक समस्याका कारण उद्योगलाई निरन्तरता दिन नसकेको दावी गरेका छन् । सरकारले पनि दर्ता रहेका उद्योगको लगत कट्टा गर्न केही छुट दिएपछि त्यस्ता उद्योगका संचालकहरु घरेलु तथा साना उद्योग कार्यालय पुगी उद्योग खारेजी गराउन थालेको साना तथा घरेलु उद्योग कार्यालयले जनाएको छ ।
उद्योगको लगत कट्टा गर्न कार्यालयमा आउने सेवाग्राहीले “आर्थिक मन्दीका कारण उद्योग थला परेकोले लगत नै कट्टा गर्नु परेको बताउने गरेको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख धनञ्जय कुमार सिंहले बताए । सरकारले आ.व. २०८१/०८२ को बजेट वक्तव्यसँगै आर्थिक विधेयकमा वर्षांैदेखि नविकरण नगर्ने साना तथा घरेलु उद्योग खारेजीमा २५ प्रतिशत छुट दिने प्रावधान ल्याएपछि पनि धेरै उद्योगले लगत कट्टामा हात बढाएको उनको तर्क छ ।
घरेलु तथा साना उद्यम गर्ने उद्यमीलाई सहज रुपमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त नगर्दा पनि समस्या भएको हुन सक्ने घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । अहिले जताततै आर्थिक मन्दीले अर्थतन्त्रलाई शिथिलता बनाउँदा पनि आफूहरु सकृय भएर काम गर्न नसकेको उद्योग संचालकको पनि तर्क छ । “राज्यले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने वातावरण बनाउन आवश्यक रहेको उनीहरुको सुझाव छ ।
पर्सा जिल्लामा आव २०७९/८० मा भने १ सय ७७ वटा मात्र साना तथा घरेलु उद्योग खारेजी भएका थिए ।