काबिल सम्वाददाता
वीरगन्ज
वीरगन्जबाट प्रकाशित पत्रपत्रिका मध्ये मधेश तेस्रो आँखाको तेस्रो वार्षिकोत्सव मनाएको छ । विभिन्न अनलाईन पत्रिका र सञ्जाल मिडियाको विगविगीका बीच अनि आर्थिक मन्दीको चपेटाका मझेरीमा शनिबार छापा पत्रिका तेस्रो आँखाले तेस्रो वार्षिकोत्सव मनाएको हो ।
पत्रिकाका प्रवन्ध निर्देशक मुनेश लायो मगरको अध्यक्षतामा भएको कार्यक्रममा चर्मचक्षु बाहिरको आँखाको पनि चर्चा गर्दै आगामी दिन मधेश तेस्रो आँखाको थप प्रगतिको लागि बक्ताहरुले शुभकामना दिए । सस्तो लोकप्रियता र दूर्नाम मिडिया दुवैका बीच ठिंग उभिने गरी दरिलो खुट्टा टेक्दै छापा माध्यम समय सापेक्ष थप परिस्कृत भई जनताका बीचमा आउन पर्ने कार्यक्रममा प्रमुख अतिथि जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले बताए । त्यसै गरी सत्य तथ्यभन्दा पर गई स्वार्थका सिंगमर्मरमा मात्र पत्रकारिता गरिनु नहुने सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त जयसवालको पनि जोड छ । समाजमा भ्रमको खेती गरेर गरिएका सञ्चार माध्यम लामो समय जनताका बीचमा लोकप्रिय नहुने उनको तर्क छ ।
आर्थिक मन्दीको झड्का र प्रविधि संजालको जगजगीले व्यवसायीक पत्रकारिता गर्ने सञ्चार माध्यमलाई दरिलो बनाउन गाह्रो रहेको पत्रकार नेताहरुको भनाइ थियो । स्थानीय सरकार र समाजको योगदान मिडिया क्षेत्रमा बढि हुन पर्ने उनीहरुले बताए । सञ्चार क्षेत्रका लागि यो विषम परिस्थिति भएकोले यो अवस्थाबाट मिडिया क्षेत्रलाई माथि उठाउन सबैको साथ चाहिने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने र मधेश प्रदेश महासचिव श्याम बन्जाराले सुझाव दिए । पत्रिकाका प्रधान सम्पादक गणेश ठकुरीले स्वागत मन्तव्य व्यक्त गरी अगाडी बढाइएको वार्षिकोत्सव कार्यक्रममा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी, ब्रोड काष्टिङ एशोसिएसन अफ नेपाल (वान) का मधेश प्रदेश अध्यक्ष आशिक अंसारी, प्रेस सेन्टरका केन्द्रिय सदस्य जगत राई, सेन्टरका पर्सा अध्यक्ष दीपक गौतम, राष्ट्रिय सौदर्यकर्मी संघको मधेश प्रदेश अध्यक्ष ओम कुमारी शर्मा, लगायतले पत्रकारहरुले आगामी दिनमा अझ गहन र परिस्कृत ढंगको पत्रकारीता गर्न पर्नेमा जोड दिए । समाजकै तेस्रो आँखा भनिएकोले मधेश तेस्रो आँखाको ओज अझ माथि उठ्नु पर्नेमा उनीहरुले सुझाव छ । स्थानीय संचारकर्मी सूर्यनारायण विकले कार्यक्रमको सहजीकरण गरेको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का अग्रज पत्रकारहरु शिव शंकर साह, उत्तम उपाध्याय लगायत स्थानीय संचारकर्मीहरुको सकृय उपस्थिति रहेको थियो ।