spot_img

ताजा अपडेट

उडे लगत्तै सौर्यको जहाज दूर्घटना, १८ यात्रुको मृत्यु

- Advertisement -

काबिल सम्वाददाता
वीरगन्ज
सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दूर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भइसकेको जनाएको छ ।
विमानका पाइलट भने घाइते भई उद्धार पश्चात उपचारार्थ रहेको पनि नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्ति अनुसार विमानमा लागेको आगो नियन्त्रणमा लिई यात्रुको उद्धार र शवको संकलन गरिएको खुलाइएको छ । सौर्यको ९ एन–एएमई सीआरजे–७ विमान बुधबार बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसर भित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको पनि प्राधिकरणले जनाएको छ ।
विमानमा क्याप्टेन मनिष शाक्य थिए । घटनास्थलबाट उनको उद्धार भई नजिकै रहेको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार सुरु गरिएको सुरक्षा निकायले जनाएको छ । क्याप्टेन शाक्य हल्का बोलिरहेको पनि जनाइएको छ । उनको टाउको, खुट्टा लगायतका भागमा घाउचोट लागेको अस्पतालको आकस्मिक कक्षले जनाएको छ । टाउकोको सीटी स्क्यान गरिएकोले अहिले नै यसै भन्न नसकिने र रिपोर्ट आएपछि मात्र थप जानकारी दिनसल्ने पनि अस्पताल श्रोतको भनाइ रहेको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको ९ एन–एएमई सीआरजे ७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै विमानस्थल परिसर भित्रै दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि नै गरिसकेको छ ।
शवको पोष्ट मार्टम पनि लगत्तै सुरु गरिने प्राधिकरणको भनाइ छ । शवहरुलाई त्रिवी शिक्षण अस्पतालमा नै पु¥याई त्यही पोष्टमार्टन हुने प्राधिकरणले जनाएको छ ।
दूर्घटना लगत्तै त्यसको जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सुरक्षा अंगका प्रमुख लगायत राज्यको जिम्मेवार निकायका प्रमुख तथा प्रतिनिधि घटनास्थल पुगेको खुलेको छ । घटना लगत्तै नजिकमा रहेका सुरक्षाका सबै संयन्त्र परिचालन गरिएको थियो ।

को–को थिए विमानमा
विमानमा सवार कर्मचारी तथा यात्रुहरू मध्ये अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौलालगायत थिए । त्यसैगरी सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेको प्राधिकरणले उल्लेख गरेको छ । आरिफ भने यमनका विदेशी नागरिक रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ