काबिल सम्वाददाता
वीरगन्ज
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई आफ्नो गृह नगरमा भव्य स्वागत तथा सम्मान गरिएको छ । मुलुककै आर्थिक नगरी समेत रहेको मन्त्री गुप्ताको गृह नगर ‘वीरगन्ज’मा उनलाई भव्य स्वागत तथा सम्मान गरिएको हो ।
गएको असार ३० गते अर्थात ८ दिन अगाडी मात्र नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका राजकुमार गुप्तालाई पहिलो पटक गृह नगर आउँदा नेकपा एमाले पर्साको अगुवाईमा भव्य स्वागत तथा सम्मान गरिएको छ ।
२०४६ साल यता एमाले पार्टीको तर्फबाट सरकारको फूल क्याविनेट मन्त्री बन्ने उनी पर्साको सन्दर्भमा तेस्रो व्यक्ति हुन् । यो भन्दा अगाडी एमालेको तर्फबाट मन्त्री बनाइएका उर्मिला अर्याल र नागेन्द्र प्रसाद चौधरी दुवैजना अहिले एमाले पार्टीमा छैनन् । उर्मिला माओवादी केन्द्र र चौधरी माधव नेपालले नेतृत्व गरेको नेकपा समाजवादी पार्टीमा छन् ।
पार्टीले मन्त्री बनाउँदा पनि भाग थोरै भएको ठानी उनीहरु पार्टीमा छैनन् । पटक–पटक जनताबाट निर्वाचित यता गुप्ता भने एमालेको ताजा र तेजिलो नेतामा रुपमा अहिले दरिएका छन् । त्यसैले उनी मन्त्री बन्दा आर्थिक नगरीमा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको भव्य स्वागत र सम्मान भएको छ । मन्त्री भएपछि पहिलो पटक जिल्लामा आएका गुप्तालाई एमालेले सिधै पार्टी कार्यालयमा आमन्त्रण गरी भव्य स्वागत र सम्मान गरेको छ ।
गज्जब संयोग, क्षेत्र नं. ३ मा तीन, जिल्लामा पाँच मन्त्री
संयोग नै मान्नु पर्छ । यो पटक पर्साको क्षेत्र नम्बर ३ बाट गुप्ता सहित प्रदेशका पनि दुई जना मन्त्री बनेपछि पर्सा क्षेत्र नम्बर ३ तीन–तीन जना मन्त्री पाउने भाग्यमानी क्षेत्र समेत सावित भएको छ । यो संयोगले जिल्लाको सुदूरपूर्व र सुदूरपश्चिमबाट मात्र बढी मन्त्री हुने क्रमभंगता समेत यो पटक तोडिएको छ । गुप्तासँगै पर्साको क्षेत्र नम्बर ३ क र ख बाट निर्वाचिन जनार्दन सिंह क्षेत्री र प्रमोद जयसवाल समेत मधेश प्रदेश सरकारका अहिले क्याविनेट मन्त्री छन् । त्यसैले पर्साको क्षेत्र नम्बर ३ का जनताको उत्साह पनि अहिले गौरव गर्ने खालको देखिएको छ । समग्र जिल्लाकै कुरा गर्ने हो भने पर्साको क्षेत्र नम्बर १ का प्रदिप यादव संघ सरकारको खानेपानी मन्त्री र क्षेत्र नम्बर २ बाट निर्वाचित अजय कुमार चौरसिया समेत संघ सरकारकै कानून मन्त्री बन्दा पर्सामा अहिले कुल मन्त्रीको संख्या ५ पुगेको छ ।
मन्त्री गुप्ता भन्छन् ‘मुख्य प्राथमिकतामा दुई काम’
गुप्ता मन्त्री बनेको पहिलो अनुभव सम्हालिरहेका छन् । उनी मन्त्री बनेपछि पहिलो पटक गृह नगर र जिल्लामा आउँदा भव्य स्वागत गरिएको हो । स्वागत तथा बधाई पश्चात उनले आफूले बिशेष प्राथमिकतामा दुईवटा कामलाई राखेर काम नै सुरु गरिसकेको बताए । पहिलो काम, लामो समयदेखि अल्झिएको संघीय कर्मचारी ऐन दुई अढाई महिना भित्र पास गराउने गरी सुरु भएको उनले बताए ।
त्यसैगरी कम्तीमा एक वर्ष कुनै पनि कर्मचारीलाई कसैले नचलाउने गरी र तोकिएको ठाउँमा बस्न तथा खट्नै पर्ने कानूनी व्यवस्था गर्न नियमावली नै बनाई अघि बढ्ने तयारी दोस्रो कामका रुपमा आठै दिन सुरु गरिसकेको पनि मन्त्री गुप्ताले बताए । यसले ‘जसलाई जतिखेर मन लाग्यो उतिखेर कर्मचारी सरुवा गर्ने र सरुवा माग्ने’ प्रचलन पनि अन्त्य हुने उनको तर्क छ । जनताका काम गर्न भनी नियुक्त कर्मचारीले एकवर्षसम्म ढुक्कले जनताको सेवा गर्नु पर्छ । यसमा अन्यथा हुँदैन उनले भने ।
अघिल्लो सरकारले कहिले एमालेको बुई चढ्ने त कहिले काँग्रेसको बुई चढेर अर्कालाई तर्साउँदै आफ्नो स्वार्थमा मात्र लागेकोले आम जनताले सरकार भएको अनुभूति गर्न पाएनन् । त्यसैले बिशेष परिस्थितिमा यो सरकार बनेकोले यसले जनतालाई अनुभूति हुने काम गरेर देखाउने मन्त्री गुप्ताको दावी छ ।
‘पहिले ३८ महिना मुलुकको नेतृत्व गरेर विकास निर्माण र राष्ट्रियताका सवालमा ठोस काम गरी देखाएका व्यक्तिको नेतृत्वमा यो सरकार बनेकोले जनताको हितमा काम गर्न यो सरकार सकृय रहन्छ’ उनले तर्क गरे । एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्माको अध्यक्षता र सचिव महेश दासको सहजीकरणमा मन्त्री गुप्ता सहित प्रदेशका मन्त्री जयसवाललाई पनि स्वागत तथा सम्मान गरिएको छ । गुप्ता र जयसवाल दुवै जना मन्त्री एमाले पार्टीमा आबद्ध नेता पनि हुन् । एमाले पर्साका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको कार्यक्रममा पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष तथा एमाले पर्साका उपाध्यक्ष मनोज गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।