काबिल सम्वाददाता
वीरगन्ज
पाँच वर्षको यताको निरन्तरतालाई पर्सा जिल्ला अदालतले क्रमभंग गर्दै ५० प्रतिशतभन्दा बढि मुद्दा फछ्र्यौट गरेको पाइएको छ । अघिल्ला चार आर्थिक वर्ष यो अदालतले लगत सरी आएका र नयाँ गरी कुल मुद्दाको ५० प्रतिशत पनि मुद्दा फछ्र्यौट गर्न सकेको थिएन । तर गएको आर्थिक वर्ष (२०८०/०८१) मा भने लगत सरी आएका र नयाँ दर्ता भएका कुल मुद्दा संख्या मध्ये आधाभन्दा बढि फछ्र्यौट गर्दै नयाँ रेकर्ड बनाएको हो ।
कोरोना कालमा खस्केको मुद्दा फछ्र्यौटको गतिलाई तीब्रता दिन प्रयासरत रहेको जिल्ला अदालत पर्साले गत आर्थिक वर्षमात्र अघिल्ला चार वर्षको निरन्तरतालाई क्रमभंग गर्न सकेको तथ्याँकले देखाएको छ । पर्सा जिल्ला अदालतमा बुधबार पर्सेली संचारकर्मी सामु अदालतका मुख्य जिल्ला न्यायधीश दीपक खनाल, अन्य न्यायाधीशहरु र श्रेस्तेदार सहितको टीमले तथ्याँक सार्वजनिक गर्दै गएको वर्ष केही राम्रो सुधार गर्न सकिएको जनाएको छ ।
गत आर्थिक बर्ष पर्सा जिल्ला अदालतले कुल मुद्दा मध्ये ५६ दशमलब ९९ प्रतिशत फछ्र्यौट गरेको पर्सा जिल्लाका मुख्य जिल्ला न्यायधीश दीपक खनालले बताए । जिल्ला अदालत पर्सामा गत आर्थिक वर्ष नयाँ मात्र ७ हजार ३ सय १ मुद्दा दर्ता भएको त्यहाँको तथ्याँकले देखाएको छ । यो संख्यामा अघिल्लो आर्थिक वर्ष ०७९/०८० को लगत सरी आएका ६ हजार ८ सय ६५ मुद्दा समते गरी कुल १४ हजार १ सय ६६ वटा मुद्दा भएका थिए । ‘त्यो संख्यामा नयाँ दर्ता भएकाभन्दा पनि बढि अर्थात ८ हजार ७४ वटा मुद्दा फछ्र्यौट गर्न सफल भइएछ’ उनले भने । ‘यो अघिल्ला वर्ष जिम्मेवारी सरी आएको (लगत) र नयाँ दर्ता भएका मध्येबाट न्याय सम्पादन गरिएको होे’ उनको भनाइ छ ।
आर्थिक वर्ष ०७६/०७७ देखि ०७९/०८० सम्म क्रमशः ४० दशमलब ०२ प्रतिशत, ४० दशमलब ४४ प्रतिशत, ४६ दशमलब ०६ प्रतिशत र ४७ दशमलब ६४ प्रतिशत मात्र मुद्दा फछ्र्यौट भएको जिल्ला अदालतकै तथ्याँकले देखाएको छ । गएको आर्थिक वर्ष भने यो तथ्याँकलाई निकै पछाडी छोड्दै २ बर्ष नाघेका समेत ४ सय ४३ मुद्दा फछ्र्यौट गर्दै फछ्र्यौटको तथ्याँक झण्डै ५७ प्रतिशत पु¥याएको देखिएको हो । एकै पटक निकै छलाङ मार्ने परिणाम आउनुमा कार्य सम्पादनमा अपनाइएको सकृयता र चुस्तताले नै सम्भव भएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीले काबिल खबरलाई बताए ।
जिम्मेवारी सरी आएका कुल ६ हजार ८ सय ६५ मुद्दाको तुलनामा यो आर्थिक वर्षलाई सरी आउने मुद्दाको चाप पनि ८ सयले गिरावट आएको छ । यो भनेको कुल ६ हजार ९२ मात्र हो उनले भने । यो अदालतका लागि कुल ११ जना न्यायाधीशको दरवन्दी भए पनि अझै २ जना न्यायधीशको दरबन्दी खाली रहेको जिल्ला अदालत पर्साले जनाएको छ । विगतका वर्षहरुभन्दा मुद्दाको चाप बढिरहेको परिवेशमा न्यायाधीशहरुकै दरबन्दी संख्यामा कमी हुनु अझै अपेक्षा अनुसार मुद्दाको चाप घटाउन नसकिएको पनि अदालतले जनाएको छ ।
यो अदालतमा मुख्य न्यायधीश दीपक खनाल, धु्रवराज त्रिपाठी, रोशन गजुरेल, नन्दकिशोर प्रसाद यादव, प्रमेश पोखरेल, आनन्द प्रसाद श्रेष्ठ, पुरुषोत्तम नेपाल, मोना सिंह र मुकुन्द आचार्य गरी अहिले जम्मा ९ जना न्यायमूर्तिहरुले न्याय सम्पादन गरिरहेको श्रेस्तेदार अधिकारीले बताए । उहाँहरुको सकृय कार्य सम्पादन अदालतका सबै कर्मचारीको प्रभावकारी कदमले कुल मुद्दा मध्ये ८ हजार ७४ मुद्दा किनारा लागेको उनको भनाइ छ । फछ्यौट भएका मुद्दाहरुमा सरल, सामान्य र बिशेष अर्थात १ बर्ष ८ महिना भित्र र सो भन्दा बढि अवधिका गरी फछ्र्यौट भएको श्रेस्तेदार अधिकारीले बताए ।