काबिल सम्वाददाता
वीरगन्ज
नव नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले लुम्बिनीको लागि प्रशासनिक भवन र ग्लोवल पार्क निर्माणको लागि जग्गा सिफारीस गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । शपथ लिए लगत्तै मन्त्रालय पुगेका मन्त्री गु्प्ताले लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीको लागि प्रशासनिक भवन र ग्लोवल पार्क निर्माणको लागि जग्गा सिफारीस गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
पर्साको क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपा एमालेका सांसद गुप्ता नेपाल सरकारमा पहिलो पटक मन्त्रीको जिम्मेवारीमा पुगेका हुन् । संविधान सभा सदस्य समेत रहेका गुप्ताले यो क्षेत्रमा भईरहेको राजनीतिकरणका विरुद्ध संसददेखि सार्वजनिक मञ्चहरुमा आफ्ना धारणा व्यक्त गर्दै आएका थिए । यो क्षेत्रमा जारी अति राजनीतिकरणलाई कानूनी प्रवन्धबाटै निरुत्साहित गर्न जरुरी रहेको ठहर गर्दै मन्त्रीका रुपमा उनले सो निर्णयलाई नै पहिलो बनाएका हुन् ।
सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ को दफा ४ (१) मा ’नेपाल सरकारको नाममा रहेको कुनै सरकारी जग्गा अर्को सरकारी निकायलाई आवश्यक भएमा उपयोगको लागि दिन सकिनेछ भन्ने व्यवस्था उल्लेख भएको छ । सो कार्यनीतिको दफा ४ (२) मा कुनै सरकारी निकायलाई सरकारी जग्गा आवश्यक भएमा देहायका निकायले सिफारिस सहित कार्यालयमा लेखी पठाउनु पर्ने’ नीतिगत व्यवस्था गरिए अनुसार मन्त्री गुप्ताले सो निर्णयमा हस्ताक्षर गरेको उनको मन्त्रालयले जनाएको हो ।
जग्गा माग गर्ने नेपाल सरकार अन्तर्गतका निकायको हकमा केन्द्रीय निकाय, प्रदेश सरकारको हकमा सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा कार्यपालिकाको निर्णय सहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पठाउने पनि निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
मिति २०८१÷०२÷२० को कार्यपालिकाको बैठकबाट लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीको जग्गा प्राप्तिको सिफारिसको लागि संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पठाउने निर्णय गरेको थियो । लुम्बिनी साँस्कृतिक नगरपालिका, रुपन्देहीको च.नं. ४२२० मिति २०८१÷०२÷३१ को पत्रबाट आवश्यक कागजात संलग्न गरी जग्गा सिफारिसको लागि अनुरोध भई आएको मन्त्रालयको भनाइ छ । कार्यपालिकाको संलग्न निर्णय, जग्गा धनि पुर्जाको प्रतिलिपि र परियोजनाको म्एच्) कागजातको आधारमा मालपोत कार्यालय, रुपन्देहीलाई सिफारिस सहित लेखी पठाउन मन्त्री गुप्ताले हस्ताक्षर गरेको निर्णयमा उल्लेख गरिएको मन्त्रालयको भनाइ छ ।