काबिल सम्वाददाता
वीरगन्ज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सामा आफ्नो संगठन विस्तारलाई निरन्तरता दिइरहेको छ । सो क्रममा रास्वपाले शनिबार पनि पर्साको बहुदरमाई नगरपालिकामा नयाँ कमिटि विस्तार गरेको हो ।
विस्तारित रास्वपाको बहुदरमाई नगर सभापतिमा चन्दन यादव निर्विरोध चयन भएका छन् । शनिबार रास्वपाले बहुदरमाई नगरपालिकामा भेला गरेको सो पार्टीका पर्सा संयोजक हरि पन्तले बताए । पार्टीका केन्द्रिय सदस्य नन्दन यादव, पर्सा संयोजक पन्तलगायत पार्टीका अगुवाहरु उपस्थित सो भेलाले यादवको नेतृत्वमा ११ सदस्इ निर्विरोध नयाँ समिति बनाएको उनको भनाइ छ ।
सो भेलामा सहभागीहरु सामु रास्वपाका केन्द्रिय सदस्य डा नन्दन यादवले प्रमुख अतिथिको तर्फबाट बोल्दै अहिले बन्दै गरेको सरकारको गठबन्धन अप्राकृतिक रहेको दावी गरेका थिए । उनले उत्तरी ध्रुव र दक्षिणी ध्रुव मिल्न असम्भव भए झैं आगामी बन्दै गरेको सरकार पनि लामो दौडको घोडा नहुने तर्क गरेका थिए ।
सो भेलालाई सम्बोधन गर्दै रास्वपा पर्साका संयोजक पन्तले पनि नेपालको राजनीतिमा आउन अब युवाहरुलाई कसैले रोक्न नसक्ने बताएका थिए । ३५÷४० बर्षका धेरै युवाहरुले सफलतापूर्वक देश हाँकिसकेको भन्दै उनले अब विश्वमा झैं नेपालको भविष्य पनि युवाको हातमा आएको दावी गरेका थिए । उनैको सभापतित्वमा सम्पन्न भेलामा प्रदेश सदस्य सुदिश प्रजापतीले स्वागत मनतव्य व्यक्त गरेका थिए ।
नगरपालिकाको डोकैला चोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित भेलाले चन्दन यादवको नेतृत्वमा ११ सदस्य कमिटी नयाँ कमिटि विस्तार गरेको जनाइएको छ । सो नयाँ कमिटिको उप–सभापतिमा ओम प्रकाशकुमार यादव, सचिवमा चन्दन प्रसाद साह, कोषाध्यक्षमा रामपती देवी चयन भएको रास्वपा पर्साले जनाएको छ । त्यसै गरी सदस्यहरुमा नागेन्द्र प्रसाद साह ,अशोक कुशवाहा, ललन सहनी, अरमानन्द प्रसाद साह, सरोज देवी सहनी, अनिल कुमार साह र धनमती देवी रहेका छन् ।
पार्टीका संगठन विभाग उपप्रमुख प्रमोद रायमाझीले सहजीकरण गरेको कार्यक्रममा पार्टीका पूर्व जिल्ला संयोजक दिलिप कुर्मी, प्रदेश सदस्य पुरुषोत्तम उपाध्याय, शिक्षा उपप्रमुख सोनालाल पटेल, क्षेत्रीय सभापति फैयाज मिया, वडा सभापति पूर्ण सापकोटा, डा चन्द्र भूषण पाठक लगाएतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।