spot_img

ताजा अपडेट

अझै छोडेन भारतले गण्डक नहरमा पानी

- Advertisement -

तुलसी भण्डारी
वीरगन्ज

आफूलाई मात्र नभई अन्य जिल्लाका मानिसलाई समेत धान चामल निर्यात गर्न उत्पादन गर्ने पर्सा, बारा र रौतहटको ३७ हजार ४ सय हेक्टर खेती योग्य जमिन अझै बाँझै रहेको छ । नारायणी सिंचाई अन्तर्गत गण्डक नहरमा अहिलेसम्म भारतले पानी नछोड्दा यो क्षेत्रको अपार खेतीयोग्य जमिन बाँझै रहेको हो ।
चर्को घामसँगैको लामो खडेरीका कारण पर्सा, बारा रौतहटमा लगायत मध्य तराईमा लामो खडेरीले जमिन सुख्खा छ । तर पनि नारायणी सिंचाइ परियोजना अन्तर्गत गण्डक नहरमा आउने पानी भारतले अहिलेसम्म छोडेको छैन । नेपाल भारतको सम्झौता अनुसार गएको बैशाख २७ गतेबाट नै पानी छोडिसक्नु पर्ने हुन्थ्यो । तथापि यो क्षेत्र सिंचित गर्ने ५० वर्ष पुरानो सरकारी योजना बाराको जमुनी नदिसम्म झाँगिए पनि अझै यो क्षेत्र सुख्खै भएको हो ।
नेपालको गण्डक नहरतर्फ पानी भारतको बाल्मिकीनगर छेऊ भैसालोटनबाट उसले छोड्ने गरेको छ । छिमेकी मुलुक भारतले हरेक वर्ष खडेरी भरी आफ्नोतर्फ पानी फर्काउने र वर्षा सुरु भएपछि बल्ल नेपालतर्फ पानी छोड्ने गरेको तीतो यथार्थ यहाँका किसानले भोगेको उनीहरुको दावी छ । हुन पनि धान खेतीको सिजनका लागि विगत अढाई दशक यता १५ असारमा मात्र भारतले नेपालका लागि पानी छोड्ने गरेको गण्डक नहरको व्यवस्थापन हेरिरहेको राज्यको नियामक निकाय नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जले काबिल खबरलाई जनाएको छ ।

धान सिजनका लागि २७ बैशाखदेखि पानी छोड्ने सम्झौतामा
दुवै देशको सम्झौता अनुसार भारतले धान सिजनका लागि बैशाख २७ गतेदेखि कार्तिकसम्म र गहँु सिजनका लागि पुस १० गतेदेखि चैत्र ११ गतेसम्म अर्थात डिसेम्बर २५ देखि मार्च २५ सम्म नहरमा पानी छोड्ने सम्झौतामा उल्लेख छ । तर धानखेतीको सिजनमा बैशाख २७ गतेबाट नै छोड्न पर्ने पानी असारको ११ गतेसम्म पनि भारतले छोडेको छैन । नारायणी सिंचाई व्यवस्थापन कार्यालयको टोली भारतको भैसालोटनसम्म पुगेर त्यहाँका अधिकारीसँग कुरा गरी फर्किएको छ । अबको २÷३ दिनपछि नेपाली किसानले पानी पाउने नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकारी सुरेश साहले बताए । असार १५ गते त नेपालमा धान दिवस पनि मनाइन्छ । सो समयसम्म पानी छोड्ने कुरा भएको छ उनले भने ।
संघीय शासन व्यवस्था चलाउने नेपाल सरकार, मधेश प्रदेश सरकार र नेपालका नीति बनाउने जिम्मेवार व्यक्तिहरु किसानको हितमा खासै बोल्दैनन् । गएको असार ५ गतेको संसद बैठकमा एमालेका प्रतिनिधि सभा सदस्य प्रभु हजाराले भने यो बिषय उठाएका थिए । तथापि यसको कार्यान्वयनको आभाष किसानलाई अझै हुन पाएको छैन ।
अन्नको भण्डारमै आकाशे पानीले बीऊ
अन्नको भण्डार मानिने मधेशका तीन जिल्लाको ३७ हजार ४ सय हेक्टर जमिन असार ११ गतेसम्म पनि सिंचित नहुँदा यस क्षेत्रका किसानको पक्षमा यहाँका सरकारहरु र नेताहरु खासै नबोलेको पर्साको उदयपुरघुर्मीका किसान शम्भु यादवले गुनासो गरे । किसानको पक्षमा यस क्षेत्रका कुनै सांसद नेता सदनमा या कतै बोल्दैनन् उनले आरोप लगाए । यो क्षेत्रका किसानले नहरको पानीबाट अहिलेसम्म बिउ राख्न समेत नपाएको यादवले दुःखेसो गरे । गएको बुधबार राती आएको आकाशे पानीले मात्र यहाँका किसानले छिटफुट बिऊ राखेका छन् उनले भने । तीन जिल्लाको ३७ हजार ४ सय हेक्टर जमिन सिंचित गर्न पानी ल्याउने नहरको लम्बाई भारतको भैसालोटनदेखि रौतहटसम्म मूल नहर ८१ किलोमिटर पर्छ । त्यसै गरी मूलशाखा नहर १ सय ३७ किमी, शाखा नहर २ सय ३३ किमी, उपशाखा नहर ४ सय ८ दशमलब ५ किमी, प्र–शाखा नहर १ हजार ४ सय किमी र डे«न (निकास) नहर पनि ३ सय ८ किमी रहेको नारायणी सिंचाई व्यवस्थापन कार्यालयको तथ्याँकले देखाएको छ ।
समयमा पानी नआउँदा नहर संरचना पनि मासिदै
पछिल्लो समय मूल र मूलशाखा नहरहरु बाहेक साना तथा निकास नहरहरु किसान आफैले त कतिपय विकास निर्माणका नाममा पुरिएको नारायणी सिंचाई व्यवस्थापन कार्यालयका सूचना अधिकारी सुरेश साहले बताए । यी सबै नहर दूरुस्त पार्न कुल ५० करोड जति बजेट लाग्छ । तर हामीकहाँ बार्षिक १२ करोड जति मात्र बजेट आउँदा सबै नहर दूरुस्त पार्न पनि नसकिएको उनको भनाइ छ । लामो इतिहास बोकेको संरचना दूरुस्त पार्न केही समस्या भएको उनले बताए । गणतान्त्रिक मुलुकका सरकार, नारायणी व्यवस्थापन कार्यालयको निस्कृयता र नहर क्षेत्रका वासिन्दाले नहर धेरै पुरेर अर्कै प्रयोजनमा प्रयोग गरेको पनि स्थानीयको आरोप छ ।


एकातर्फ सुख्खा मौसमको लम्मेतान खडेरी अर्कोतर्फ भएको नहरको पानी पनि प्रयोग गर्न नपाउँदा अन्न भण्डार मध्य तराईका तीन जिल्लाको हजारौं विगाहा जमिन फसल बिहीन छ । पानी आउला र धान खेती गरौंला भनी कुरेका बसेका यहाँका किसान लहलह हुने खेत उजाड भएको हेरेर बस्न बाध्य छन् । चुरेको विनाश र शहरी विकासले पनि भू–सतहका पानीको सतह सुक्न थालेपछि भूमिगत जलश्रोतबाट पानी निकाली कृषि कर्म गर्न पनि किसानलाई समस्या परेको पर्साका अर्का किसान ओमप्रकाश साहले पनि गुनासो गरे । अहिले खाने पानी कै समस्या बढेर गएको छ । जिम्मेवार व्यक्ति र निकायको यता ध्यान छैन उनले दुखेसो गरे ।
निरंकुश शासकले कृषियोग्य जमिन चिने, जनमैत्री नेताले चिनेनन्
अन्न दिने पोसिलो जमिन भएको निश्कर्ष सहित राजाको शासनकालमा नै नेपाली शासकले नारायणी सिंचाई अन्तर्गत गण्डक नहर निर्माण गरी यो क्षेत्रबाट अन्न उत्पादनमा जोड दिएको थियो । तर जनहितमा काम गर्ने भनिएको व्यवस्थाका शासकहरुले त निर्माण भएका नहरहरु पुरिन थाले पनि सतर्कता नअपनाएको अरु किसानको पनि आरोप छ । मध्यतराईको पर्सा, बारा र रौतहट नै सुख्खा मौसमको चपेटामा परेको पर्साको जगरनाथपुर ६ का किसानले सहमत अंसारीले पनि गुनासो गरे । नहरको पानी कुर्दै छटपटिएर नारायणी सिंचाई कार्यालयमा आइपुगेका रौतहटका रन्जित कुमार साह र अर्का किसान मदन साहले पनि धानको बिउ राख्न नसकिएको गुनासो गरे ।
जमुनी नदिको पानी नहरमा मिसाउन अझै समस्या
भारतले पानी छोडे पनि गण्डक नहरको पुच्छार तर्फ पर्ने रौतहटका किसानको खेत सिंचाई गर्न पर्याप्त नहुने भएपछि गण्डक नहरमा बाराको आदर्शकोतवाल स्थित जमुनी सिंचाई आयोजना निर्माण गरी पानी मिसाउने कार्य अझै ओझेलमा छ । व्यारेजको १५ वटा गेट निर्माणको काम अझै विलम्ब भएको नारायणी सिंचाई कार्यालयका सूचना अधिकारी साहले पनि स्वीकारे । सिंचाईका लागि पानी फर्काउन सबै संरचना निर्माण सकिए पनि मात्र विद्युतीय गेटको पर्खाईमा यो आयोजना केही वर्षदेखि नै अलमलमा परेको उनको भनाइ छ । ‘व्यारेजको १५ वटा विद्युतीय गेट डिजाइनको काम सकिए पनि विभागबाट स्वीकृत हुन बाँकी छ’ उनले भने । स्वीकृत हुना साथ टेण्डर आह्वान गरी प्रकृया अगाडी बढ्छ उनले दावी गरे । अबको दुई वर्षभित्र पर्साको तिलावेको पानी जस्तै बाराको जमुनीको पानी पनि गण्डक नहरमा मिसाएर यस क्षेत्रका किसानको खेत सिंचाई गर्न सकिने उनले दावी गरे । ‘अब केही वर्षमा यो सुविधा मिल्छ’ उनले भने ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ