दुईवटा जलेर नष्ट
काबिल सम्वाददाता
वीरगन्ज
चलिरहेको समयमा अचानक मोटरसाइकलमा आगो सल्कँदा पर्सामा दुईवटा मोटरसाइकल जलेर नष्ट भएका छन् । जिल्लाको सदरमुकाम वीरगन्जको मुटु आदर्शनगरमा मंगलबार मिथिलेश कुमार यादवले चलाइरहेको मोटरसाइकलमा अचानक सल्किएको आगो अर्को पनि मोटरसाइकलमा सल्कँदा दुईवटा जलेर नष्ट भएको हो ।
घटनास्थलभन्दा पश्चिम वीरगन्ज महानगरपालिकातर्फबाट पूर्व आदर्शनगर चोकतर्फ आउँदै गरेको मोटरसाइकलमा पहिले अचानक आगो सल्किएको पर्साका प्रहरी नायव उपरिक्षक दिपक भारतीले काबिल खबरलाई बताए । सो मोटरसाइकल वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगंजका मिथिलेश कुमार यादवको रहेको उनको भनाइ छ । चालक यादवले आगो लाग्न थालेपछि रोकेर निभाउन प्रयास गरेकै समयमा आगो अझ बढेर अर्को पनि मोटरसाइकलमा पनि आगो टिपेको सिसी टिभी क्यामेराबाट देखिएको उनले बताए । आगो सल्किएपछि दुबै मोटरसाइकल जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ ।
जलेर नष्ट भएका मोटरसाइकलहरु प्रदेश नम्बर ०२–०३–१८ प ८२१९ को कालो रातो पल्सर र प्रदेश नम्बर ०२–०३–००१ प ७९०४ को रातो कालो पल्सर मोटरसाइकल रहेको प्रहरीले जनाएको छ । ८२१९ नम्बरको मोटरसाईकल वीरगन्ज महानगरपालिका वडा नम्बर ३ बस्ने सत्य कुमार यादवको रहेको र अर्को ७९०४ नम्बरको मोटरसाईकल पनि वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगंजका मिथिलेश कुमार यादवको रहेको पनि प्रहरीले जनाएको छ ।
‘आदर्शनगरमा रहेको वीरगन्ज महानगरपालिका कार्यालयतर्फबाट आदर्शनगर चोकतर्फ आउँदै गरेको प्रदेश ०३–००१ प ७९०४ नम्बरको मोटरसाइकलमा पहिले आगो सल्किएको’घटनास्थलमा पुगेका वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक पुष्कर बोगटीले बताए । चालकले सो थाहा पाई रोकेर निभाउन खोज्दा मध्य तराईको अचाक्ली गर्मीले तातेको अर्को पनि मोटरसाइकलमा आगो फैलिन गई दुबै मोटरसाइकल जलेर नष्ट भएको उनको भनाइ छ । घटना हुनुमा मधेशको धेरै तातो गर्मीमा तातेको मोटरसाइकल चलिरहेको समयमा व्याट्री सर्ट या फुल ट्याँण्की तेल कतै लिक भएर आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको निष्कर्ष छ ।
घटना वीरगन्जको आदर्शनगर स्थित नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक अगाडीको सडकखण्डमा नै भएको प्रत्यक्षदर्शीले पनि बताए । अत्याधिक चर्को गर्मीको कारण तातिएको मोटरसाइकलमा तारहरु केही सर्ट भई आगो लागेको हुन सक्ने सर्वसाधारणको पनि भनाई छ । चर्को गर्मीमा सवारी चलाउने वा विभिन्न सवारीका धनीले आफ्नो सवारीमा कुनै तारहरु सर्ट भएको छ कि केही अन्य समस्या छ कि भनी अरु समयभन्दा आजकल बढी सतर्कता अपनाउन पर्ने प्रहरी नायव उपरिक्षक भारतीले सुझाव दिए । मोटरसाइकल हुँदै ननिकैको पोलको तारमा सल्किएको आगोलाई वीरगन्ज महानगरको दमकल र स्थानीय प्रहरीले नियन्त्रणमा लिई अन्यत्र आगो फैलनबाट रोकेको उनको भनाइ छ ।
गर्मीले चल्दै गरेको मोटरसाइकलमा लाग्यो आगो
- Advertisement -
प्रतिक्रिया लेख्नुहोस्