spot_img

ताजा अपडेट

एक हप्तामा एमालेको नयाँ कार्यसमिति

- Advertisement -

काबिल सम्वाददाता
वीरगन्ज

नेकपा एमाले पर्साको ९ औं जिल्ला अधिवेशनले एक हप्तामा बल्ल नयाँ कार्य समिति टुंगो लगाएको छ । ५ दिनसम्मको कसरथले पनि सहमतिमा नयाँ कार्य समितिका सबै पद टुंगो लाग्न नसकेपछि अधिवेशन उद्घाटन भएको छैटौं दिन ३९ वटा पदका लागि भने निर्वाचन गरेरै एमाले पर्साले नयाँ कार्य समिति टुंगो लगाएको हो ।
एमाले पर्साको अध्यक्षमा भने अधिवेशन उद्घाटनको तीनदिन पछि सर्वसम्मत नेतृत्वको टुँगो लागेको थियो । निर्वाचन प्रकृयाबाट टुंगो लगाइएका ३९ पदमा पनि निर्विरोध निर्वाचित भएका अध्यक्ष डा.विश्वम्भर शर्माकै प्यानलका पदाधिकारी र सदस्यहरु विजयी भए । निर्वाचनको सबै मतगणना भने आइतबार साँझ सम्पन्न भएको हो ।
पर्साको वीरगन्जमा भएको एमालेको निर्वाचनले उपाध्यक्षमा अध्यक्ष कै प्यानलका मनोज कुमार गुप्ता निर्वाचित भए । त्यसै गरी सचिवमा पनि अध्यक्षकै प्यानलका पत्रकार समेत रहेका महेश दास निर्वाचित भएका छन् । उनले राजकुमार गुप्ता र विचारी यादव प्यानलका नवराज शर्मालाई ७ मतले पछि पार्दै विजय आफ्नो पक्षमा पार्न सफल भए । सचिव पदकै लागि सबैभन्दा ठूलो प्रतिस्पर्धा केन्द्रित भएको पर्सामा विजयी दासले २ सय ३९ मत ल्याएका थिए भने उनका प्रतिद्वन्दी नवराज शर्माले पनि २ सय ३२ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत ढकालले परिणाम सार्वजनिक गरेका थिए । लेखा समितिको अध्यक्ष, उप–सचिव सहित सबै पदाधिकारी र बाँकी सदस्यहरु समेत अधिकांश अध्यक्षकै प्यानलका व्यक्तिहरु निर्वाचित भएको पर्साका एमालेजनले खुलासा गरे । निर्वाचनबाट निर्वाचित हुनेहरुमा उपाध्यक्ष मनोज कुमार गुप्ता, सचिव महेश दास, सहसचिव नविजान मियाँ अन्सारी, महिला उपसचिव सीता देवी लामा, लेखा समिति अध्यक्ष शिवजी गुप्ता, सचिव सागिर अहमद सहित, महिला, दलित, आदिवासी र मुस्लिम क्लष्टर तर्फ पनि अध्यक्षकै प्यानलका मानिसले बाजी मारेको उनीहरुको तर्क छ ।


वीरगन्ज महानगरपालिका तर्फको खुल्ला सदस्यहरु पनि अधिकांश अध्यक्ष डा.शर्माकै प्यानलका विजयी भएको मुख्य निर्वाचन अधिकृत भोजराज ढकालले सार्वजनिक गरेका विजयीहरुको नामबाट खुलेको छ । पर्सामा रहेका एमालेजनमा केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्यद्वय प्रभु हजारा, निर्मला देवकोटा तथा डा.विश्वम्भर शर्मा निकटको एउटा प्यानल र एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, प्रदेशका उपाध्यक्ष विचारी यादव निकटकाको अर्को प्यानल गरी दुई प्यानलमा स्थानीय नेता कार्यकर्ता देखा परेका थिए । केही दुवै प्यानलमा नदेखिएका स्थानीय नेता कार्यकर्ताहरु पनि प्यानलको दवदवामा नतमस्तक थिए ।
निर्वाचन गर्ने र नगर्ने भन्ने सवालमा शुक्रबार एमाले पर्साका स्थानीय नेता कार्यकर्ता बीच कुटाकुट नै भएको थियो । सो क्रममा एमालेकै तर्फबाट वीरगन्ज महानगरपालिकाको वडा नम्बर २० मा निर्वाचित वडाध्यक्ष समेत रहेका राजकिशोर सिंह ‘पराग’ को नाकमा चोट लागि उनी सामान्य घाइते समेत भएका थिए । उप–सचिव पदका प्रतिस्पर्धी पराग दुवै प्यानलमा खासै खुलेर देखा परेका थिएनन् । तथापि राजकुमार गुप्ता र विचारी यादव प्यानलमा स्थानीय नेता कार्यकर्ता अन्तिम समयमा उनी तर्फ नरम देखिएका थिए । आपसी मारपिटपछि उनको पक्षमा केही कार्यकर्ताको सान्त्वना भोट समेत खसेको एमालेका अधिवेशन प्रतिनिधि कार्यकर्ताले खुलासा गरे ।
एमालेको ९ औं जिल्ला अधिवेशनको उद्घाटन सत्र गएको बैशाख १७ गते भएको थियो । अन्तिम परिणाम बैशाख २३ गते साँझ आइसकेको हो ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ