spot_img

ताजा अपडेट

एमाले पर्साको अध्यक्षमा पहिलो पटक डाक्टर निर्वाचित

चार पत्रकार पनि निर्विरोध निर्वाचित, चार अझै प्रतिस्पर्धामा नै
काबिल सम्वाददाता
वीरगन्ज
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमाले पर्साको नेतृत्वमा डा. विश्वम्भर शर्मा निर्विरोध निर्वाचित भएका छन् । गएको बैशाख १७ गते सोमबारबाट सुरु भएको एमाले पर्साको ९ औं जिल्ला अधिवेशनबाट पर्साका बौद्धिक व्यक्तित्व मध्ये डा.शर्मा सर्वसम्मत एमाले जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनको नेतृत्वमा रहने सिंगो पदाधिकारीको टिम भने बिहिबार बैशाख २० गतेसम्म निक्र्योल भइसकेको छैन । अन्य पदाधिकारी र वीरगन्ज महानगरपालिका लगायतका केही पालिका सहित केही क्लष्टर तर्फका सदस्यहरुको हकमा भने शुक्रबार बिहान निर्वाचन गरी अन्तिम टुंगोमा पुग्ने प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले बताए ।
एक सय ३७ सदस्य जिल्ला कार्यसमिति भएको एमालेको नेतृत्वमा डाक्टर भइसकेका व्यक्तित्व निर्वाचित भएको पहिलो पटक भएको पर्सा एमालेका निर्वाचन प्रतिनिधिहरुको भनाइ छ । योभन्दा अगाडी संयोजक रहेका निर्वाचित अध्यक्षमा डा शर्मासँग प्रतिस्पर्धा गर्न एमाले पर्साका नेता तथा संविधान सभा सदस्य जयप्रकाश थारु अन्तिम समयसम्म कसरथ गरिरहेका थिए । तथापि सहमतिको प्रयासमा जुटेका सिनियर नेताहरुको पहलमा उनी पछाडी हटेपछि एमाले पर्साको नेतृत्वको ताज डा. शर्माको शिरमा सजिएको हो ।
अध्यक्षमा डा.शर्माको टिममा पदाधिकारीहरु तर्फ एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव उपसचिव रहेन एमालेको विधानमा उल्लेख छ । निर्विरोध चयन हुन नसकेका बाँकी पदहरु मध्ये उपाध्यक्षमा मनोज गुप्ता र लालबाबु शेख प्रतिस्पर्धी हुने भएका छन् । त्यसै गरी सचिव पदमा महेस दास र नवराज शर्मा तथा उपसचिव (खुल्ला) मा रामिकिशोर सिंह पराग, नविजान मियाँ अन्सारी र इमरान हुसेन प्रतिस्पर्धी देखिएको निर्वाचिन समितिले सार्वजनिक गरेको अन्तिम उमेद्वारहरुको नावावलीमा उल्लेख गरिएको छ । उपसचिव (महिला) तर्फ पनि सीतादेवी लामा र गीता भण्डारीको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत ढकालले बताए । जिल्लाका १४ वटा पालिकामध्ये वीरगन्ज महानगरपालिकासहित केहि पालिकाका सदस्य पदकालागि पनि शुक्रबार मतदान हुने ढकालको भनाइ छ ।
यता जिल्ला कार्य समितिको कामको लेखाजोखा गरी ठिक ठाउँमा ल्याउन सकृय हुने लेखा समितिको उपाध्यक्षमा पनि स्थानीय पत्रकार समेत रहेका गोविन्द प्रताप श्रेष्ठ निर्वारोध निर्वाचित भएका छन् । लेखा समितिको अध्यक्षमा भने सन्तोष कुमार सिंह र शीवजी गुप्ताको उम्मेदवारी परेकाले उक्त पदका लागि पनि निर्वाचनले नै टुंगो लगाउने अवस्था देखिएको निर्वाचिन समितिले जनाएको छ । एमालेको ९ औं जिल्ला अधिवेशन गत सोमबारदेखि सुरु भएको थियो । सोमबार उद्घाटन सम्पन्न भएपश्चात सुरु भएको बन्दसत्र पछि नयाँ कार्य समिति निर्वाचनका लागि विभिन्न प्रकृया अपनाइरहिएको छ । निर्वाचन गर्नै नपरोस् भनी अगुवा नेताहरुले सर्वसम्मतका लागि निरन्तर प्रयास जारी राखेका छन् ।
उपाध्यक्षसहित बाँकी चार पद र सदस्य पदका लागि आवश्यक संख्याभन्दा बढि व्यक्तिको दाबेदारी रहेपछि ती पदका लागि शुक्रबार मतदान गरेरै टुंगो लगाउने तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत ढकालले बताए । शुक्रबार हुने मतदानमा ५ सय ८४ जना मतदाता सहभागी हुने ढकालले बताए ।
चार पत्रकार पनि निर्विरोध निर्वाचित
एमाले पर्साको ९ औं जिल्ला अविधवेशनको पूरै परिणाम आइनसक्दै डा.अध्यक्ष सहित चारजना पत्रकार निर्विरोध निर्वाचित भइसकेका छन् । डा अध्यक्ष आफै प्रेस चौतारी नेपाल पर्साका साधारण सदस्य हुन् । त्यसै गरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी पनि कालिकामाई गाउँपालिकाबाट युवा क्लष्टरमा निर्विरोध जिल्ला सदस्यमा निर्वाचित भइसकेका छन् । त्यसैगरी सोही पालिकाबाट केही बर्ष अगाडीसम्म पत्रकार नै रहेका अर्का पत्रकार पवन तिवारी निर्विरोध निर्वाचित भएका छन् । यसैगरी ज्योति टिभी र ज्योति दैनिकमा कार्यरत तथा चौतारी पर्साका सहसचिव कृष्णा कुशवाहा पनि निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले सार्वजनिक गरेको तथ्याँकबाट खुलेको छ ।
एमालेको जिल्ला अधिवेशनमा अरु चार जना पत्रकार अझै प्रतिस्पर्धा कै लाइनमा छन् । उनीहरुको परिणामका लागि अझै २४ घण्टाजति कुर्नु पर्ने अवस्था रहेको छ । प्रतिस्पर्धाका लागि लाइनमा रहेका पत्रकारहरु मध्ये सचिवका प्रतिस्पर्धी मध्ये महेश दास, उपसचिव महिला तर्फका गीता भण्डारी र महानगर तर्फबाट जिल्ला सदस्यमा प्रतिस्पर्धाको लाइनमा रहेका राकेश साह र लेखा समिति सचिवमा प्रतिस्पर्धाका लागि लाइनमा रहेका आरोहन साहको हकमा भने अझै परिणाम कुर्दै रहेको अवस्था रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ