वीरगन्ज १७ वैशाख । एमाले पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले राष्ट्रिय स्वभिमान र स्वतन्त्रताका पक्षमा एमालेले मात्र सहि कार्य सम्पादन गर्न सक्ने बताएका छन् । झण्डै एक दशकबाट नेकपा एमाले पार्टी पर्साको जिल्ला अधिवेशन हुन सकेको थिएन । ९ औं जिल्ला अधिवेशन उद्घाटन समारोहमा सोमबार सहभागी हुन वीरगन्ज आइपुगेका बरिष्ठ उपाध्यक्ष पोख्रेलले मंगलबार पर्सेली संचारकर्मी सामु यस्तो बताएका हुन् ।
‘मुलुकको राष्ट्रिय स्वभिमान र स्वतन्त्रताका पक्षमा पडोसी (छिमेकी) लाई गाली गरेर समस्या समाधान हुँदैनÕ उनले भने । गाली गर्नुको साटो आँखामा आँखा जुधाएर कुरा गर्दै समस्याको समाधान गर्नु पर्छ उनले बताए । प्रेस चौतारी नेपाल पर्सा शाखाले आयोजना गरेको कार्यक्रममा पूर्व उपप्रधानमन्त्री समेत रहेका बरिष्ठ उपाध्यक्ष पोख्रेलले मुलुकको स्वभिमान र समृद्धि एमालेले मात्र गर्न सक्ने दावी गरे । राष्ट्रिय अखण्डताको रक्षा र मुलुकको समृद्धि एमाले वाहेक अन्य शक्तिबाट हुन सक्दैन । यसको लागि पार्टीमा रहेका नेता कार्यकर्ताले ठोस नीति सिद्धान्त विचार र पहिचान भएको एमालेको नीतिलाई जनस्तरसम्म लान सकृयता देखाउन पर्ने उनको सुझाव छ । एमालेलाई कागजीभन्दा पनि सच्चा जनताको पार्टी बनाउन पर्ने उनले सोमबार एमाले पर्साको जिल्ला अधिवेशन उद्घाटनका क्रममा पनि जोड दिएका थिए ।
पूर्व ईलाम २ मा भएको प्रतिनिधि सभा सदस्य र बझाङमा भएको प्रदेश सभा सदस्य निर्वाचनमा एमालेको जिततर्फ संकेत गर्दै नेता पोख्रेलले मिसन २०८४ का लागि एमाले पार्टीलाई जनताले भरोषाका रुपमा सकारात्मक मत दिएको पनि उनको दावी छ ।
अर्को प्रसंगमा एमाले उपाध्यक्ष पोख्रेलले उद्योग व्यवसाय तर्फ हरेक प्रदेशमा दीर्घकालिन रुपमा उद्योग प्रतिष्ठानको निर्माण गरी विदेशिने युवा शक्तिलाई रोकी स्वदेशमा नै एमालेले समृद्धि चाहेको पनि बताए । आर्थिक समुन्नति विना देश र जनताको हित नहुने भन्दै उद्योगी व्यवसायीको पनि साथमा एमाले अडिक रहेको उनले दावी गरे । विभिन्न जात र धर्मका नाममा राजनीति गर्नेहरुलाई जनताले विस्तारै पहिचान गर्दै गएकोले एमाले नेता कार्यकर्ताले कसैलाई काखापाखा नगरी थप जिम्मेवारी पूर्वक आफ्नो गतिमा लागि रहन पर्ने उनको कार्यकर्तालाई सुझाव छ ।
प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको पत्रकार सममेलनमा एमालेका केन्द्रीय सचिव सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिट व्यूरो सदस्य एवं पर्सा इन्चार्ज अच्युत मैनाली, पार्टीका केन्द्रिय सदस्यहरु प्रभु हजारा, राजकुमार गुप्ता, त्यसै गरी सविधान सभा सदस्य विचारी यादव तथा जयप्रकाश थारु, पर्साका चर्चित नेता जालिम मिया, एमालेका मधेश प्रदेश सचिव मनोज पौडेल, एमाले प्रचार विभाग सदस्य एवं प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष महेश दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव एवं चौतारीका मधेश प्रदेश सह–इन्चार्ज श्याम बन्जारा, एमाले पार्टीका प्रदेश सदस्य सुनिल पाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायत विभिन्न संचार माध्यममा आबद्ध संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण प्रेस चौतारी पर्साका सचिव राकेश साहले गरेका थिए ।
यता एमाले पर्साको ९ औं जिल्ला अधिवेशनको बन्द सत्र सुरु भइसकेको छ । अधिवेशनको नारा ‘शिक्षा, स्वास्थ्य र पर्यटन विकासको आधार, आर्थिक रुपान्तरण र रोजगारी नेकपाको सरोकार’ भन्ने रहेको छ ।