काविल सम्वाददाता
वीरगन्ज
जनमत पार्टीको दुई दिनसम्म वीरगन्जमा जारी केन्द्रीय समितिको बैठकले नयाँ नीति अंगिकार गर्ने लगायत ११ बुँदे निर्णय गरेको छ । शनिबार र आइतबार (चैत ३ र ४ गते) दुई दिनसम्म वीरगन्जमा जारी जनमत पार्टीको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
उसको नयाँ नीतिमा दोस्रो गणतन्त्र र सामाजिक लोकतन्त्रसम्म रहेको पर्सेली संचारकर्मीसामु पार्टीको ११ बुँदे निर्णय सार्वजनिक गर्दै जनाइएको छ । सामाजिक लोकतन्त्र अन्तर्गत सुशासन कायम गर्न र स्थिर सरकारका लागि प्रधानमन्त्री सहित राज्यका संवैधानिक अंगका प्रमुखहरु जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने नीति रहेको अध्यक्ष राउतले प्रष्ट पारे । जनमत पार्टीले भ्रष्टाचार रहित सामाजिक लोकतन्त्रको परिकल्पना गर्दै दोस्रो गणतन्त्र प्राप्तिसम्मको लडाई लड्ने गरी नयाँ निर्णय गरेको पार्टी अध्यक्ष चन्द्रकान्त (सिके) राउतले निर्णय सार्वजनिक गर्दै बताए । त्यसको सफलताका लागि पार्टीको अघिल्लो बैठकको निर्णयमा उल्लेख भएको संगठनात्मक अवस्था पाँच गुणा पु¥याउने मात्र नभई अब त्यसको पनि डबल अर्थात १० गुणा विस्तार गर्ने निर्णय गरेको अध्यक्ष राउतको भनाइ छ । पार्टीले लिएको लक्ष्य प्राप्ति गर्न पार्टीको केन्द्रीय तहका नेता कार्यकर्तालाई पनि तोकिएको जिम्मेवारी पूरा गरे नगरेको कामको मूल्याँकनका आधारमा मात्र वर्तमानको पदलाई निरन्तरता दिने नत्र सो पदको निरन्तरता नहुनेसम्मको कडा नीति लिएको पाइएको छ ।
निर्णय सार्वजनिक गर्दै अध्यक्ष राउतले अहिले मुलुकमा भ्रष्टाचार र कमिशन तन्त्रले जरा गाडीको भन्दै स्थायी सत्ताले सरकारलाई नटेर्ने गरेको समेत दावी गरे । उनले अहिलेकै अवस्थामा मन्त्रालयमा मन्त्रीको कामै नभएकोसम्म तर्क गरे । प्रधानमन्त्री पावरफूल हुने वर्तमान नीति अनुसार प्रधानमन्त्रीले सचिवहरुलाई ठाडो निर्देशन दिने, त्यो निर्णय सचिवले मान्ने र आफ्नै मत्रालयका मन्त्रीलाई सचिवले नटेर्नेसम्मको अवस्था रहेको उनले उदाहरण दिए ।
जनमतको ११ बुँदे निर्णय
जनमर्तको वीरगन्ज बैठकले गरेको पहिलो नम्बर बुँदामा आफ्नै नेता कार्यकर्ताहरुलाई कामको परिणाम निकाल्ने गरी काम गराउन विगतको कामको समिक्षा गरी सो का आधारमा मात्र कामको लेखाजोखा गरी सो पदको निरन्तरता दिने–नदिने निक्र्योल गर्ने निर्णय गरेको छ । त्यसै गरी दोस्रो नम्बर बुँदामा सदस्यता अभियान, पार्टी प्रवेशमा तिव्रता, भातृसंगठन विस्तार, (अहिलेसम्म नपुगेका वर्ग व्यवसाय र उमेर समूहसम्म पुग्ने गरी) संगठन विस्तार गर्ने निर्णय गरेको छ । यसैको लागि अघिल्लो बैठकमा भएको संगठनको अवस्था पाँच गुणा विस्तार गर्ने कुरालाई थप १० गुणा पु¥याउने निर्णय गरेको छ ।
जनमतको वीरगन्जमा जारी बैठकको तेस्रो नम्बर बुँदामा आगामी रणनीति बिषयमा सडक सदन र सरकार तीनै मोर्चाको लागि सशक्त तयारी गर्ने निर्णय गरेको छ । चार नम्बर बुँदामा भने नेपालको आर्थिक विकास किन भएन ? भन्ने समिक्षा सहित दोस्रो गणतन्त्र र सामाजिक लोकतन्त्रको लडाई लड्नेसम्मको राजनीतिक प्रस्ताव पारित गरेको निर्णय छ । जनमत पार्टीले आगामी जेठ १५ गते काठमाण्डौमा विशाल आमसभा गर्न अहिलेबाटै सबैले सकृय कार्यसम्पादन गर्ने पनि निर्णय गरेको छ ।
त्यसै गरी पार्टी प्रवेश, युवा दस्ता गठन र प्रशिक्षणमा जोड दिने, प्रदेश १ मा चलिरहेको पहिचान सहितको आन्दोलनलाई साथ दिदै पहिचान सहितको सिमांकन र प्रदेशको नामाकरण गर्न नेतृत्व गर्ने, बुँदा नम्बर ७ मा पनि मधेश थरुहट आन्दोलनको मर्म बमोजिम लुम्बिनीको सिमाँकन नामांँकंन परिवर्तन गराउन नेतृत्व गर्ने निर्णय भएको अध्यक्ष राउतले बताए । प्रदेशलाई अधिकार सम्पन्न गराउन प्रभावकारी ऐन कानून ल्याउन संघ सरकारलाई दवाव दिने, आर्थिक मन्दीका कारण फलाम लगायतका उद्योगहरु समस्याग्रस्त रहेकोले तिनीहरुको समस्या तत्काल समाधान गर्न संघ सरकारलाई दवाव दिने, आगामी गर्मीयाम अगावै किसानहरुलाई मलखाल र बीउ विजनको सहज उपलब्धता गराउन संघ सरकारलाई दवाव दिने र मधेशमा गर्मीयाममा हुने खानेपानीको अभावको समस्या हल गर्न पूर्व तयारी गर्न स्थानीय सरकारलाई आवश्यक बजेट विनियोजन गर्न र संघ सरकारले समेत साथ दिन पर्ने गरी दवाव सृजना गर्ने लगायत ११ वटा निर्णय रहेको जनाइएको छ ।