काबिल सम्वाददाता
वीरगन्ज
नेपाल सरकारको सरकारी नीति, ‘विद्यार्थीका लागि सिक्दै कमाउँदै’ व्यवहारमा खासै देख्न पाइएको छैन । त्यसमा पनि मधेस प्रदेशका शैक्षिक संस्थाको हकमा भने यो कुरा अव्यावहारिक जस्तै छ । तर, मधेस प्रदेशकै वीरगन्जमा अवस्थित वीरगन्ज कलेजको हकमा भने यसो भनिरहँदा त्यो गलत हुन्छ । कारण, उसले गत वर्षबाट आफ्नो विद्यालयका विद्यार्थीलाई आफंै बजेट उपलब्ध गराई ‘सिक्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत खानाको मेला नै आयोजना गरिदिन थालेको छ ।
गतवर्ष विद्यालयका १ सय ४५ जना विद्यार्थीले २७ वटा स्टलमार्फत आफंै विभिन्न परिकारको खाना बनाई स्वरोजगार बन्ने कार्य वीरगन्जबासीसामु प्रस्तुत गरेका थिए । यो वर्ष पनि वीरगन्ज कलेजका विद्यार्थीका लागि ‘सिक्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत खाना तथा सांस्कृतिक मेला कलेजले आयोजना गर्न थालेको हो । कुल ८ लाख जति लागत लाग्ने अनुमान गरिएको सो कार्यक्रम ‘विद्यार्थीमा सिक्दै कमाउँदै’को अवधारणा विकास गर्न, उद्यमशिलताको अवधारणालाई विकास गर्न र बारा–पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्न लागेको कलेजले जनाएको छ । यो वर्ष ३२ वटा विभिन्न स्टलमार्फत खाजाका परिकार, विद्यार्थीले नै बनाएका डल कुसनका सामग्री पनि स्टलमा राख्ने तयारी गरिरहेका छन् । साथै सांस्कृतिक कार्यक्रम पनि कलेजकै विद्यार्थीबाट गर्ने तयारी भइरहेको कलेजले सोमबार वीरगन्जमा पत्रकार सम्मेलन नै गरी जनाएको हो ।
आगामी फागुन १८ र १९ गते दुई दिनसम्म कलेजले विद्यार्थीका लागि रात्री बजारको अवधारणाअनुरूप ‘सिक्दै कमाउँदै कार्यक्रम’अन्तर्गत २ दिने ‘खाना तथा सांस्कृतिक मेला’ गर्न थालेको कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीले बताए । आगामी शुक्रबार र शनिबार दिउ“सो २ बजेदेखि राति १० बजेसम्म वीरगन्जको घण्टाघर उत्तरतर्फको बीपी उद्यानको जग्गामा गर्ने तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ । विद्यार्थीमा सिक्दै कमाउँदैको अवधारणा विकास भई विद्यार्थीलाई प्रोत्साहन गर्न विभिन्न स्थानीय सरकारलाई पनि प्रायोजक बनिदिन आग्रह गरिँदै छ । गतवर्ष वीरगन्ज महानगरले २ लाख सहयोग गरिदिएको थियो । बाँकी ३ लाख ३५ हजार भने कलेजले नै आफंै लगानी गरी कार्यक्रम सम्पन्न गरेको थियो ।
यो वर्ष भने वीरगन्ज महानगरले ५० हजार रुपैयाँ मात्र सहयोग गर्ने जनाएको कलेजका प्रिन्सिपल विनोद गुप्ताले बताए । विद्यार्थीमा रोगजारीभन्दा पनि उद्यमशिलतातर्फ टेवा पुगोस् भन्ने हाम्रो लक्ष्य रहेको उनको भनाइ छ । खाना तथा सांस्कृतिक मेलामा आयोजना गर्न लाग्ने खर्चको स्रोत कलेजका अतिरिक्त क्रियाकलापकोष, मुख्य प्रायोजक, प्रायोजक तथा सहप्रायोजकबाट जुटाइदिने जमर्को छ । तर, कुल ८ लाखजतिको लागतमा २ लाखजति मात्र प्रायोजक र सहप्रायोजकबाट आर्थिक सहयोग जुट्ने भरपर्दो आश्वासन पाएको कलेजले जनाएको छ । विद्यार्थीबाट उठेको रकमको ३ प्रतिशत रकम भने अतिरिक्त कोषका लागि हरेक महिना छुट्याई कोष खडा गरी त्यही रकमबाट स्टल, स्टेज, लाइट, साउन्डलगायतका भौतिक साधनमा जुटाई स्टलमा लाग्ने खर्च समेत त्यसै कोषमार्फत खर्च गरी विद्यार्थीलाई उपलब्ध गराइने कलेजका प्रमुख प्रशासक सुरेश चौधरीले बताए । सांस्कृति कार्यक्रम चाहिं कलेजका पूर्वविद्यार्थी आरजु देवकोटा, राजन गिरी, रेबिका महर्जन, चन्दन प्रजापति, नेहा चौधरी, जन पटवारी, रेजिना, स्मृति, निरज, राजु, गरिमासहितको प्रस्तुति रहने जनाइएको छ ।
विद्यार्थीका लागि वीरगन्ज कलेजले सिक्दै कमाउँदै कार्यक्रम गर्ने
- Advertisement -
प्रतिक्रिया लेख्नुहोस्