काठमाडौं ३ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु १३४ रनको चुनौती राखेको छ ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३३ रन जोडेको हो । चितवनको इनिङ्स सम्हाल्ने क्रममा डेविड मलानले अर्धशतकीय योगदान दिए । ५१ बल सामना गरेका मलानले ९ चौका र २ छक्काको मद्दतमा ७१ रन बनाए । उनले सातौं विकेटका लागि सलाउद्दिन खानसँग ४० रनको महत्त्वपूर्ण साझेदारीसमेत गरे ।
चितवनका लागि सलाउद्दिन खानले १८ रन र कमल सिंह ऐरीले १० रन जोडे भने बाँकी ब्याटरले दोहोरो अंक छुन सकेनन् । इनिङ्सको अन्तिम बलमा रिजन ढकाल ३ रनमा रनआउट भए ।
सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु चितवनका ब्याटर खुलेर खेल्न सकेनन् । सुदूरपश्चिमका स्कट कुगेलेइनले सर्वाधिक ३ विकेट हात पारे भने थारिन्दु रत्नायकेले २ विकेट लिए । त्यसैगरी हेमन्त धामी र इशान पाण्डेले समान १–१ विकेट आफ्नो नाममा लेखाए ।
यो खेलमा विजयी हुने टोलीले उपाधि भिडन्तका लागि फाइनलमा लुम्बिनी लायन्सको सामना गर्नेछ ।
Comments
Post a Comment