spot_img

ताजा अपडेट

पत्रकार खनाल एक तोलाको स्वर्ण पदकसहित सम्मानित

- Advertisement -

काबिल सम्वाददाता

  वीरगन्ज

    पोखराका बरिष्ठ पत्रकार बद्रि विनोद खनाल यो बर्षको गोतामे पत्रकारिता स्वर्ण पदकबाट सम्मानित भएका छन् । पर्साको वीरगन्जबाट वितरण हुने एक तोला स्वर्ण पदकबाट यो बर्ष पोखराका बरिष्ठ पत्रकार खनाल सम्मानित भएका हुन् ।

सम्मानित पत्रकार खनाललाई वीरगन्ज महानगरपालिकाका महानगर प्रमुख राजेशमान सिंहले पदक पहिराई सम्मान गरे । लामो समयसम्म मोफसलमा रहेर पत्रकारिता गरी समाजलाई योगदान गर्ने पत्रकारहरु मध्ये छनौट गरी १३ बर्ष अगाडीदेखि यो पुरस्कार वितरण थालिएको हो । वीरगन्जका प्रगतिशिल पत्रकार स्वर्गीय गोपालचन्द्र गोतामे (गौतम) को स्मृतिमा पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले यो पुरस्कार वितरण सुरु गरेको छ । १० हजार राशीबाट सुरु भएको यो पुरस्कार केही बर्षपछि आधा तोलाको सुनको तक्मामा परिणत भई विगत ६ बर्ष यताबाट भने एक तोलाको पदकमा परिणत भएको छ । प्रतिष्ठानका अध्यक्ष बरिष्ठ पत्रकार जगदीश शर्माले अझ यो पुरस्कार राशी व्यवस्थित गर्दै लाने तयारी रहेको बताएका छन् ।

यो पुरस्कार सम्भवतः मोफसलकै महँगो पुरस्कार हुन सक्ने पर्सेली संचारकर्मीहरुको भनाइ छ । विगतमा यो पुरस्कारबाट मकवानपुरका प्रताप विष्ट, विराटनगरका मोहन भण्डारी, बुटवलका डिआर घिमिरे, राजविराजका स्व.शिवहरी भट्टराई, झापाका स्व. मदन ढकाल, पाल्पाका मेघराज शर्मा, सप्तरी कञ्चनपुरका भोला पासवान, भैरहवाका अर्जुन ज्ञवाली, झापाका केशव आचार्य र धनुषाकी मनिका झा सम्मानित भइसकेका छन् ।

पदक सहित पत्रकारलाई सम्मान गरिएको कार्यक्रममा वीरगन्ज महानगरप्रमुख सिंहले पर्सामा रहेका ३/४ सय जति पत्रकारहरु मध्ये भगौडा सहकारीका संचालकलाई महानगरले कार्वाही गर्न थालेपछि त्यसका आडमा केही सिमित पत्रकारले त्यसको आडमा आफूलाई बद्नाम गराउने प्रयास गरेको उनको भनाइ छ । आफू दोषी भए कार्वाही भोग्न तयार छु । तर एउटा व्यक्तिको नीजि जिवनको कुरा १७/१८ ‘एपिस्योड’सम्म लगातार लेख्नु कुन नियतले हो भन्ने पनि खोजमुलक पत्रकारिता गर्ने पत्रकारहरुको लागि अर्को बिषय हुन सक्ने उनको तर्क छ ।

खोजमुलक पत्रकारिता गर्ने पत्रकार आए गलत नियतले समाचार लेख्ने पत्रकारको पनि आफूले प्रमाण दिन तयार रहेको मेयर सिंहको भनाइ छ । एक दुईटा सडेको आलुले पुरै बोरा गनाउने भएझैं केही गलत नियत बोकेका पत्रकारको कारण पर्सेली पत्रकारिता क्षेत्र नगनाओस् भन्ने मात्र मेरो अपेक्षा हो उनले भने ।

महानगरको विकासको सन्दर्भ जोड्दै ४८ महिनाको योजना अनुसार २१ महिनामा वीरगन्जलाई पहिलेभन्दा थोरै फरक देखाउन सकिएको छ उनले भने । बाँकी धेरै काम गर्दै वैभव वीरगन्ज बनाएर छोड्ने उनले दावी गरे । प्रतिष्ठानका अध्यक्ष बरिष्ठ पत्रकार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित पत्रकार खनालले वर्तमानमा मिडियाको अवस्था बचाउन र जोगाउन संख्यात्मकभन्दा गुणात्मक कुरामा बढि ध्यान दिन पर्ने सुझाव दिए । सो कार्यक्रमको सहजीकरण वीरगन्जका वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ