काँग्रेस महामन्त्री थापा पनि फर्किए
काबिल सम्वाददाता
वीरगन्ज
गएको माघ १३ गते यता वीरगन्जमा भिआइपीहरुको आगमन बढेको छ । १३ माघदेखि शनिबार (माघ २० ) सम्म तीन ठूलो भिआइपीहरु यहाँ आएर फर्किसकेका छन् । दलहरुको जगजगी बढेसँगै श्रीपेज बुझाएर नागार्जुन पुगेका पूर्वराजा ज्ञानेन्द्र १३ माघमा वीरगन्ज पुगी फर्केपछि यहाँ लगातार ठूला व्यक्ति (भिआइपी) हरुको आगामन बाक्लिएको हो ।
दल र नेताहरुको कामले जनता र राष्ट्रको हित नगरेको लगायतका कमजोरी औल्याउँदै पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले यहाँ सम्बोधन गरेका थिए । यतिमा उनी रोकिएका थिएनन् । उनले नेपालको राजदरबार हत्याकाण्डमा आफूहरुलाई सुनियोजित ढंगले लाग्छना लगाइएको जस्ता कुरा समेत उनले अभिव्यक्त गरेका थिए । त्यसको दुई दिनपछि अर्थात १५ माघमा अर्का भिआइपी नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि यहाँ झरेका थिए । उनी फर्कने क्रममा बाराको सिमरा पुगेर राजदरवार हत्याकाण्डबारे पुन छानविन गर्ने सम्मको प्रतिक्रिया दिएपछि त्यसले सनसनी पनि ल्याएको थियो । प्रधानमन्त्रीले यो प्रतिक्रिया दिनुको कारण पूर्वराजा ज्ञानेन्द्रले २०५८ सालको राजदरबार हत्याकाण्डमा आफूहरुलाई वेतुकको लाग्छना लगाइएको तर्क गर्दै जनतामा भ्रम छरिएको बताएको सांकेतिक जवाफ पनि थियो । प्रधानमन्त्री प्रचण्डले यो कुरा बाराको सिमरामा संचारकर्मीसँग छोटो प्रतिक्रियामा व्यक्त गरका थिए । यो उनको राजदरबार हत्याकाण्डवारे पूर्व राजा ज्ञानेन्द्र तर्फ कटाक्ष पनि थियो ।
यी दुई भिआइपीहरु मध्ये पूर्वराजा ज्ञानेन्द्र राजावादी समर्थकले उनैलाई गर्ने नागरिक अभिनन्दनका क्रममा वीरगन्ज आएका थिए । प्रधानमन्त्री प्रचण्ड भने आफ्नै पार्टी माओवादी केन्द्र निकटका पत्रकारहरुको संगठन प्रेस सेन्टरको स्थापना दिवस तथा राष्ट्रिय बैठकको समापनलाई सम्बोधन गर्न यहाँ आइपुगेका हुन् । यी भिआइपीहरु फर्किए लगत्तै यहाँ लगातार भिआइपी आउने क्रम रोकिएन शनिबार अर्का भिआइपी अर्थात नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन कुमार थापा पनि आएर फर्किएका छन् । एकहप्ता भित्र मोफसलको जिल्ला पर्साको वीरगन्जमा तीन भिआइपी आउनु ताँती नै लागे सरह भएको हो ।
अंकुशको रजत महोत्सवमा महामन्त्री थापा प्रमुख अतिथि
नेपाली कांग्रेजका महामन्त्री थापा भने स्थानीय अंकुश दैनिक पत्रिकाको रजत महोत्सव समारोहमा सरिक हुन यहाँ आएका छन् । सो क्रममा उनले कार्यक्रमलाई सम्बोधन गर्दै डेमोक्रेसीभन्दा अर्को विकल्प नभएको भनी दावी गरे । राजाका समर्थकले राजा आउ देश बचाऊ भनी वीरगन्जमा लगाएको नारा र पूर्वराजा ज्ञानेन्द्रको कडा सम्बोधन पछि उल्टो बाटोमा राजनीति फर्कने संकेतको केही दिनमा सरकारमा आबद्ध दुई ठूला पार्टीका दुई ठूला नेता आई त्यसकै सेरेफेरोमा राजाकै सम्बोधनको काउन्टर दिने गरी आफ्ना भनाई राख्नुलाई राजनीतिक विष्लेषकहरुले निकै चासोका साथ हेरिरहेका छन् । नेपालमा सुशासनको कमजोरीले छचल्किएको राजनीतिक ज्वारभाटामा सत्ताका पूर्व प्रमुख र वर्तमान प्रमुखहरुले समेत प्रतिक्रिया दिनु राम्रै संयोग मान्नु पर्छ ।
डेमोक्रेसीको विकल्प अन्य हुन्न
शनिबार काँग्रेस महामन्त्री थापाले पनि राजनीति उल्टो बाटोमा फर्किने जस्तो नभई डेमोक्रेसीको विकल्प नभएको संकेत गरे । यो व्यवस्था भित्र भएका नराम्रा पक्षहरु सुधार गर्दै जानु पर्ने उनले जोड दिए । ‘यहाँका नराम्रा पक्ष हटाउन हामी सक्छौ’ं, आफै अग्रसरता देखाउनु पर्छ उनले भने । त्यसको लागि पहिले आफैबाट सुधारको सुरुवात गर्नुपर्छ उनले थपे । ‘स्टेटको मेकानिज्म जुन राम्रो गर्नेभन्दा पनि नराम्रोमा लागेको छ । अब यसलाई सुधार गरेर टुँगोमा पुग्ने पु¥याउने गर्नु पर्छ’ उनले थप बताए । प्रत्येक कुराको सुधारको जिम्मा हाम्रो हो ।
सदनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पार्टी छ । देशभरी अधिकाँश प्रदेशमा पनि काँग्रेसकै सरकार छ । अनि ३ सय ३२ पालिकाको प्रमुख पनि नेपाली कांग्रेसकै व्यक्ति छन् । अनि यहाँका कमजोरी अरु कस्ले हटाउँछ ? हामीले नै हटाउनु पर्छ महामन्त्री थापाले जोड दिए । सुधार हामीले नै गर्नुपर्छ, अब अन्य कुरा गरेर हुँदैन प्रतिनिधि सभा सदस्य समेत रहेका काँग्रेसका महामन्त्री थापाले विविध पक्ष औल्याउँदै बताए ।
वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंह र यो मुद्दामा बढि चासो देखाइरहेका स्थानीयहरु तर्फ संकेत गर्दै उनले नागरिकतामा गल्ती गर्नेले वा दोहोरो नागरिकता बनाउने कसैले छुट पाउन नहुने जिकिर गरे । नागरिकतामा किर्ते गर्ने कसैले पनि छुटकारा पाउन हुँदैन उनले थपे ।
एमालेले पूर्व–पश्चिम राष्ट्रिय अभियान सम्पन्न गरेको केही दिनमा नै कांग्रेसले पनि त्यस्तै झल्को आउने गरी झापाबाट काँग्रेसका स्थानीय नेता कार्यकर्ता भेट्दै हिड्ने क्रम अगाडी बढाउँदै आएको छ । तल्लो तहका नेता कार्यकर्ताका कुरा बुझ्दै धनुषा हुदै पर्सासम्म महामन्त्री थापा पर्साबाट चितवन हानिएका छन् । शनिबार पर्साको ठोरी हुँदै चितवन जाने कुरा पनि उनले यहाँ खुलासा गरे ।
अंकुश दैनिक पत्रिकाका प्रधान सम्पादक दीपेन्द्र चौहानको अध्यक्षतामा भएको पत्रिकाको रजत महोत्सव कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा जसपाका नेता प्रदिप यादव, बरिष्ठ पत्रकार हरिहर विरही, कविर राणा नेपाली कांग्रेसका पूर्व मन्त्री अजय चौरसिया, कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटी लगायतले संचारमाध्यम र खास गरी छापा माध्यमको वर्तमान अवस्था र सुधार गर्न पर्ने पक्षका बारेमा आ–आफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रममा अंकुश दैनिकमा सुरुदेखि योगदान गर्ने पत्रकारहरु शत्रुघ्न नेपाल, गोविन्द देवकोटा, केसी लामिछाने, शिव पटेल, तुलसी भण्डारी, ओमप्रकाश खनाल र अहिलेका सन्तोष रंजितकारसम्मलाई कदरपत्रले सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कांग्रेस महामन्त्री थापाले बरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम, हरिहर विरही, कविर राणालाई दोषल्ला ओढाई सम्मान गरेका थिए भने उक्त पत्रकारहरुलाई पनि उनैले सम्मान गरेका थिए । कार्यक्रमको सहजीकरण माधुरी महतोले गरेकी थिइन् ।