काबिल सम्वाददाता
वीरगन्ज
वीरगन्ज महानगरपालिकाले दुईवर्षमा नै राम्रा काम गरेको भन्दै त्यसको समर्थनमा नागरिक समाज वीरगन्जले साथ दिने जनाएको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडीको रातो वंगलाबाट महानगरका राम्रा कामको समर्थन गरिने भन्दै प्रदर्शन सहित नागरिक समाज वीरगन्जले महानगरका दुईवर्षे कामको साथ दिएको हो ।
प्रदर्शनकारीले स्थानीय जिल्ला प्रशासन कार्यालयमा पुगी गलत प्रचार गर्नेलाई कार्वाहीको माग समेत गरिएको छ । वीरगन्ज महानगरपालिकाको वर्तमान नेतृत्व सहितका जनप्रतिनिधिले राम्रो काम गर्दा यहाँको नेतृत्वकर्ता राजेशमान सिंह विरुद्ध अनर्गल प्रचारवाजी गरी मानमर्दन गरेको सुनिएकोले त्यसको विरोधमा नागरिक समाज नै सडकमा उत्रिएको पनि जनाएको छ । महानगर सफा, स्वच्छ र हराभरा बनाउँदै वैभव महानगर बनाउन अग्रसर नेतृत्वकर्ता सिंहको ईच्छाशक्तिलाई धुमिल बनाउन मानमर्दन गर्ने काममा विभिन्न कोणबाट आवाज सुन्न थालिएकोले स्वाभिमानी नगरवासी चुप बस्न नसक्ने भन्दै प्रदर्शनमा आएको उनीहरुले दावी गरे ।
विगतमा वीरगन्ज भन्नासाथ फोहोर शहरको रुपमा भनिने कुरालाई चिर्दै सफा स्वच्छ र हराभरा बनाउने कार्य सामान्य थिएन । यसको अलावा डेड सय विघा बढी अतिक्रमित जग्गा केही माफियाहरुले वर्षौंदेखि कब्जा गरी रजगज गरिरहेका थिए । त्यत्रो अतिक्रमित जग्गा एवं पोखरीहरु महानगरको अधिनमा ल्याई सार्वजनिक हितमा राम्रो कार्य गर्नु अनुकरणीय छ । यस्तो कार्य गर्ने महानगरको नेतृत्वकर्तालाई हामी साथ दिन्छौं प्रदर्शनमा उत्रिएका सहभागीहरुले दावी गरे ।
सर्वसाधारणको आस्थाको धरोहर रामजानकी मन्दिरलगायत यहाँका अतिक्रमित मठ मन्दिरका जग्गा समेत भू–माफियाहरुले कब्जामा राखेका थिए । वर्तमान नगरप्रमुख राजेशमान सिंह नेतृत्वका जनप्रतिनिधिले रामजानकी मन्दिर लगायतका अतिक्रमित ठाउँ मुक्त गराई सर्व–साधारणका लागि खुला गराउँदै वैभव वीरगन्ज बनाउन लागि परेको छर्लङ्ग छ । यो नेतृत्व सहितका जनप्रतिनिधि विरुद्ध जानेको मानमर्दन गर्ने कथित काल्पनिक झूठा प्रचारबाजी निन्दनीय छ । सार्वजनिक सम्पत्ति संरक्षण, भूमाफियाहरुले अतिक्रमण गरेका जग्गा फिर्ता, नालामाथि बनेका संरचना हटाउने, सहकारी पीडितका समस्या सम्बोधन गर्ने, जनपक्षीय काम फटाफट गर्दै अगाडी बढ्ने नेतृत्व प्रति षडयन्त्र गर्दै भ्रामक प्रचारवाजी गर्ने भूमाफिया, दोहोरो नागरिकताधारी, राजनीतिक प्रतिशोधले ग्रसित व्यक्ति लगायत कसैले पनि अहिलेको नेतृत्वकत िवरुद्ध जवर्जस्ती झुठो प्रचारवाजी गराउँछ भने हामी त्यो षड्यन्त्र मान्न तयार छैनौं प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले तर्क गरे ।
व्यक्तिगत हितका लागि यहाँको धार्मिक तथा सामाजिक सद्भाव विगार्ने तथा अहिले भइरहेको विकासको रफ्तारलाई रोक्न प्रयास गर्ने त्यसता तत्वको पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउन पनि हामी यसै ज्ञापनपत्र मार्फत स्थानीय प्रशासन समक्ष जोडदार माग गर्दछौं भनी प्रदर्शनकारीले प्रशासनमा बुझाएको ज्ञापन पत्रमा पनि उल्लेख गरिएको छ । सो ज्ञापन पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई पनि पठाइएको उल्लेख गरिएको छ ।