spot_img

ताजा अपडेट

प्याव्सन जुनियर फुटवल प्रतियोगिताको उपाधी साउथ जोनले चुम्यो

काबिल सम्वाददाता
   वीरगन्ज
नीजि विद्यालयहरुको संगठन ‘प्याव्सन’ पर्साले आयोजना गरेको ‘जुनियर फुटवल प्रतियोगिता २०८०’ को उपाधी साउथ जोन मा.वि.ले चुमेको छ । पर्साका विभिन्न २५ वटा नीजि विद्यालयहरु सहभागी जुनियर नकआउट फुटवल प्रतियोगिता २०८० को उपाधी यो वर्ष साउथ जोन मा.वि.ले चुमेको हो ।
गतवर्षको विजेता लिटल फ्लावर एकाडेमी यो वर्ष रक्षात्मक भयो । उसले यो वर्ष उपाधी रक्षा गर्न सकेन । फाइनल खेलसम्म पुगेको उसले खेलमा राम्रो प्रदर्शन गरे पनि जितका लागि त्यो पर्याप्त नभई उपविजेतामा चित्त बुझाउन प¥यो । लिटल फ्लावरको गोलपोष्टमा साउथ जोन मा.वि.का खेलाडीले २ गोल गरे । तर लिटल फ्लावरले भने साउथ जोनको जालीमा १ गोल मात्र चुमाउन सक्यो । फलतः उसले उपविजेतामा नै चित्त बुझाउन परेको छ ।
गएको माघ ७ गतेबाट सुरु भएको प्याव्सन पर्साको ‘जुनियर फुटवल प्रतियोगिता २०८०’ को तेस्रो स्थान भने मनकामना मा.वि.ले प्राप्त गरेको छ । बुधबार एकै दिन विजेता उपविजेता र तेस्रो स्थानका लागि भएका दुई वटा प्रतियोगितामा सफल एकेडमीलाई ० का विरुद्ध १ गोल गरी मनकामना मा.वि.ले तेस्रो स्थान सुरक्षित गरेको छ । मनकामना मा.वि.का खेलाडी र सफल एकेडमीका खेलाडीका बीच भएको रोमाञ्चक खेलमा हाफटाइम पछिको ३ मिनट समय बाँकी हुँदा मनकामनाका जर्सी नम्बर १० का प्रिन्स मगरले उत्कृष्ट गोल गरी टिमलाई तेस्रो स्थानमा सुरक्षित राखे ।
खेल अवधिभरको उत्कृष्ठ गोल किपरको ट्रफी भने सफल एकेडमीका गोलकिपरले हात पारेका छन् । त्यसैगरी सबै प्रतियोगितामा सबैभन्दा बढि गोल गर्ने खेलाडी साउथ जोन मा.वि.को जर्सी नम्बर ७ का ऋतिक चौधरी भए । उनलाई प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीले ट्रफी र प्रमाणपत्र प्रदान गरे । त्यसै गरी वेष्ट मिड फिल्डर लिटर फ्लावरका सन्तोष घले घोषित भए । उनलाई प्रेस सेन्टरका केन्द्रिय सदस्य कृष्णउदास खनालले ट्रफी र प्रमाण पत्र प्रदान गरी सम्मान गरे ।
प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यालयका विजयी खेलाडीलाई वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्ण, प्याव्सनका केन्द्रिय सदस्य छेडुप लामा र प्याव्सनका जिल्ला तथा महानगर अध्यक्ष पुरन प्रधान, आलोक चौरसिया र प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर, एन प्याव्सनका पर्सा अध्यक्ष रामराज श्रेष्ठ लगायतले ट्रफी, पदक र प्रमाण पत्रले सम्मान गरे ।
जुनियर नकआउट प्रतियोगिताका लागि ४ फिट १० इन्चसम्म उचाई भएका खेलाडीलाई मात्र छनौट गरिएको प्याव्सन पर्साका उपाध्यक्ष तथा फुटवल प्रतियोगिताका संयोजक शिवजी गुप्ताले बताए । जुनियर नकआउट प्रतियोगिता भएको कारण उमेरभन्दा पनि उचाइलाई बढि प्राथमिकता दिएको उनको भनाइ छ ।
पढाईसँगै अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकुदबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्याव्सन पर्साले हरेक वर्ष फुटवल र क्रिकेट प्रतियोगिता गर्दै आएको प्याव्सन पर्साका अध्यक्ष पुरन प्रधानले बताए । २०७१  सालदेखि खेलकुदलाई प्राथमिकता दिर्दै सुरु गरिएको फुटवल र क्रिकेट प्रतियोगिताको यो संकरण आठौं भएको उनको भनाइ छ । कोरोना महामारीको समयमा दुईवर्ष भने यो प्रतियोगिता पनि प्रभावित भएको उनको भनाइ छ । फुटवल प्रतियोगिता विपत् व्यवस्थापन प्रहरी कार्यालय वीरगन्जको खेल मैदानमा सम्पन्न भएको छ । क्रिकेट प्रतियोगिता भने वीरगन्जको आदर्शनगर रंगशालामा संचालन भइरहेको प्याव्सन पर्साले जनाएको छ । यसको फाइनल खेल भने आगामी शुक्रबार हुने पनि प्याव्सन महानगर प्रमुख आलोक चौरसियाले बताए ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ